PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपालमा बलिउड फिल्म 'उचाई' को छायाङ्कन : फिल्मी गतिविधि बढ्ला ?



पहिलोपोस्ट

नेपालमा बलिउड फिल्म 'उचाई' को छायाङ्कन : फिल्मी गतिविधि बढ्ला ?

काठमाडौं : बलिउड फिल्म 'उचाई' को टिम फिल्म छायाङ्कनको लागि भारतीय फिल्मकर्मी नेपाल आएका छन्। बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिका हसनसहित जम्बो सुटिङ युनिट नेपालमा आएको छ।

केही समय काठमाडौंको बसाइपछि उनीहरु सुटिङको लागि गत बुधबार लुक्ला पुगे। अहिले लुक्लामा फिल्मको सुटिङ जारी छ। बलिउड कलाकारहरु नेपाल आएसँगै नेपालको विभिन्न स्थलहरुको फोटो तथा भिडियो सामाजिक संजालमा सेयर गरिरहेका छन्। अनुपम खेर आएको भोलिपल्ट नै पशुपति मन्दिर परिसर पुगेका थिए। साथै उनले पशुपति पुगेर खुसी लागेको भन्दै ट्विटरमा एक भिडियो सेयर गरेका थिए।

साथै वोमन इरानी र परिणिती चोपडाले पनि नेपालमा खिचेको फोटोहरू सेयर गरेका छन्। पशुपतिको दृश्य होस् या हेलिकप्टरबाट काठमाडौं र पहाडी क्षेत्रको। उनीहरुले उत्साहका साथ नेपालको दृश्यहरु सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।

कोरोना भाइरस संक्रमणका कारण नेपाली फिल्म क्षेत्र अस्तव्यस्त छ। ‘होल्ड’मा रहेका फिल्महरु प्रदर्शन हुन सकेका छैनन्। कयौं फिल्मको सुटिङ समेत रोकिएको छ। यस्तो अवस्थामा नेपाली यसरी विदेशी फिल्म नेपालमा छायाङ्कन हुनुले नेपाल सुरक्षित गन्तव्य भएको कुरा विश्वभर फैलिने फिल्मकर्मीहरु बताउँछन्। थला परेको पर्यटन क्षेत्रलाई समेत यस्ता गतिविधिले उकास्न सहयोग पुग्ने देखिन्छ।

सुरज वर्जत्यले निर्देशनमा बन्न लागेको यस फिल्ममा अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र सारिका हसन बाहेक अमिताभ बच्चनको पनि महत्वपूर्ण भूमिका रहेको छ। अमिताभ बच्चन नेपाल आउने भनिएता पनि उनी नेपाल भने आएनन्।

यस फिल्ममा केही नेपाली कलाकारहरु समेत अनुबन्धित भएका छन्। साथै उनीहरुले फिल्मको सुटिङ समेत सुरु गरिसकेका छन्। यस फिल्ममा परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतको समेत अभिनय रहनेछ।

यस फिल्मले निकै मिल्ने साथीहरुको मित्रताको कथालाई समेटेको छ। यसको छायाङ्कन नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चे, मनाङलगायत काठमाडौं र भारतको मुम्बईमा हुनेछ। निर्देशक वर्जत्यले यसअघि 'मैने प्यार किया', 'हम आपके है कौन', 'प्रेम रतन धन पायो' जस्ता सफल फिल्महरु निर्देशन गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell