PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेताहरुलाई पूर्व राजा ज्ञानेन्द्रको चेतावनी : राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन, उचित समयमा प्रस्फुटित हुन्छ



पहिलोपोस्ट

नेताहरुलाई पूर्व राजा ज्ञानेन्द्रको चेतावनी : राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन, उचित समयमा प्रस्फुटित हुन्छ
File Photo

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहाले नेपालको राजनीति गुट उपगुटमा अल्झिएको टिप्पणी गरेका छन्। दशैंको शुभकामना सन्देश दिँदै शाहले समाज सनातन आदर्श अनुसारको भए पनि राजनीति भने त्यस अनुकूल नभएको सन्देशमा उल्लेख गरेका छन्।

'हाम्रो समाज सनातनिक आदर्श र पुख्यौली पौरखबाट पृथक छैन। तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेनन्,' उनले सन्देशमा भनेका छन्।

लोककल्याणका लागि राजनीति केन्द्रित हुनुपर्ने भए पनि आफ्नो समूहका लागि मात्रै नेताहरुले राजनीति गरेको शाहको आरोप छ।

'लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो। तर राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ,' उनले भनेका छन।

कोभिड-१९ को महामारी, बेरोजगारी लगायतमा जनताले राहत नपाएको उनको भनाइ छ। देश अहिले अस्थिरताको भुमरीमा फसेको भन्दै पूर्व राजा शाहले प्रश्न गरेका छन्,'अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त?'

परिवर्तन देशसँग अन्तर सम्बन्धित हुने भए पनि त्यसको अनुभुति नभएको उनले बताएका छन। न्यायीक क्षेत्रको विचलनले जनतामा निराशा उत्पन्न भएको पनि उनले टिप्पणी गरेका छन्।

'शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायीक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ,' उनको सन्देशमा उल्लेख छ।

शाहले परराष्ट्र नीति असन्तुलति भएको, परराष्ट्र नीति असन्तुलित भएको भन्दै भनेका छन,'राष्ट्र हितमा केन्द्रित रहनु पर्ने परराष्ट नीति असन्तुलित भइ राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोले हाम्रो मन पोलेको छ।'

उनले राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद नहुने उल्लेख गरेका छन।

'शाहवंशीय राज पदद्धिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जन चाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि। देशभक्ति र राष्टप्रतिको भावना मानिसमा धेरै  भए पनि नामेट हुन सक्दैन ,'उनले अगाडि भनेका छन,'योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने गर्दछ।'

देशको तत्कालिन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell