PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दसैँ लाग्दा देशैभरका स्टेज कार्यक्रममा व्यस्त हुन थाले नेपाली कलाकार



लक्ष्मी बलायर

दसैँ लाग्दा देशैभरका स्टेज कार्यक्रममा व्यस्त हुन थाले नेपाली कलाकार

काठमाडौं : कोरोनाको दोस्रो लहरपछिको निषेधाज्ञा हटेसँगै अहिले चहलपहल बढ्दो छ। हरेक क्षेत्रले आफ्नो गति समातिरहेको देख्न सकिन्छ।

डेढ वर्षको कोरोना महामारीपछि कलाकारहरु पनि अहिले व्यस्त हुन थालेका छन्। स्टेजमा व्यस्त हुने नेपाली कलाकारहरु दसैँ लाग्दा देशैभरका स्टेज कार्यक्रममा प्रस्तुती दिन थालेका छन्।

गायक प्रकाश सपुतले स्टेज कार्यक्रममा जान पाउँदा निकै खुसी लागेको फेसबुकमा उल्लेख गरेका थिए। उनले पागलपन स्टेजमा पोखेर संसार भुल्ने बेला आएको समेत लेखेका छन्। दसैँ शुरु भएदेखि नै उनी सांगीतिक कार्यक्रममा जान थालेका हुन्।

घटस्थापनाका दिन उनी भृकूटीमण्डपमा भएको एक कार्यक्रममा सरिक भएका थिए। साथै २२ गते ‘दसैँतिहार मेला’ सिमरामा पुगेका उनी आज भने झापाको कार्यक्रममा पस्तुती दिन पुगेका छन्।

त्यसैगरी, गायक शिव परिवार पनि स्टेज कार्यक्रममा निकै बोलाइने गायकमा पर्छन्। गत शनिवार उनी काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज एक्सचेन्ज महामेलामा’ स्टेज प्रस्तुती दिएका थिए। धेरै समयपछि दर्शकसमक्ष प्रस्तुती दिन पाउँदा निकै खुसी लागेको उनले बताए।

उनले कार्यक्रममा हालसालै रिलिज भएको ‘पिउन शुरु गरेपछि’लगायतका गीतहरु गाएका थिए। साथै स्टेजमै दर्शकहरु बोलाएर सँगै नाचेका पनि थिए। उनले आज साँझ फूलपातीको दिन ‘डुमरवाना सिमरा बारामा’ प्रस्तुती दिने समेत फेसबुकमा उल्लेख गरेका छन्।

गायक प्रमोद खरेल पनि कार्यक्रमकै शिलशिलामा पूर्वदेखि पश्चिम पुगिसकेका छन्। उनी घटस्थापनाको दिन २१ गते भृकुटीमण्डपमा कार्यक्रममा पुगे। साथै उनी स्टेज कार्यक्रमको लागि कैलालीको अत्तरिया समेत पुगेका थिए। प्रमोदले हिजो मात्रै बर्दघाटको स्टेज प्रोग्राममा समेत प्रस्तुती दिएका छन्।

गायिका रचना रिमाल पनि स्टेज कार्यक्रमकै शिलशिलामा विभिन्न ठाउँ पुगेकी छिन्। २१ गते सिमरा, २३ गते भक्तपूर र २५ गते उदयपूर गाइघाटमा भएको कार्यक्रममा पुगेर रचनाले प्रस्तुती दिइसकेकी छिन्।

त्यसैगरी, गायिका अस्मिता अधिकारी, ज्योती मगर, खेम सेन्चुरी, सुगम पोखरेललगायतका कलाकारहरु स्टेज कार्यक्रममा व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell