PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

फूलपातीको दिन अकालमा निधन भएकाहरुलाई स्मरण गर्दै गोगनेका तामाङ समुदायले गरे वायु पूजा



निशा गुरुङ

फूलपातीको दिन अकालमा निधन भएकाहरुलाई स्मरण गर्दै गोगनेका तामाङ समुदायले गरे वायु पूजा

हेटौँडा : हेटौँडा-१४ की ठूलीमाया रुम्बा फूलपातीको दिन बिहान सबेरै नुवाईधुवाई गर्छिन्। नुहाइधुवाइ सकेपछि पूजा गर्नका लागि अबिर, फूललगायत सरसामान तयार पार्छिन्। फूलपातीको दिनमा गर्ने पूजाका लागि उनले खट्टे, भुटेको धान, चिउरा, अन्डा, चामल भेटी, सिन्दुर, गाईको धुप, एउटा कुखुरा तयार पार्छिन्।

उनले यसरी पूजा गर्दै आएको ७५ वर्ष वितिसक्यो। ठूलीमायाले मात्रै हैन गाउँका तामाङ समुदायले एकै स्थानमा बसेर फूलपातीका दिन वायु पूजा गर्ने गरेका छन्। अकालमा निधन भएकाहरुको सम्झनामा यस्तो पूजा गर्ने चलन छ। अकालमा मृत्यु भएकाहरुले कसैलाई नपिरोस् भनेर यस्तो पूजा ७५ वर्षअघिदेखि गर्न थालिएको हो।

यो पूजा मकवानपुरको कैलाश गाउँपालिकाका बासिन्दाले पनि गाउँमै गर्छन्। कैलाश गाउँपालिकाको गोगनेबाट यहाँ बसाई सरेर आएकाहरुले पनि पूजा गर्ने गरेका छन्। यदि यो पूजा गरेन भने सन्तानलाई दुःख दिने र आखाँ बाहिर निस्कने जस्तो रोग लाग्ने विश्वास रहेको छ। हेटौँडा उपमहानगरपालिका-१४ मा गोगनेबाट आएकाहरु फूलपातीका दिनमा सबै जम्मा भएर यो पूजा गर्छन्।

ढुंगा पखालेर देउता मान्ने, बैद्यले पूजा गर्ने अबिरहरु र मन्त्र पढेर आफूहरुले दसैँ मनाउनुभन्दा अघि यसरी बुझाएमा देवता खुशी हुने उनीहरुमा विश्वास छ। आफू र आफ्नो परिवारलाई नसताउन आग्रह गर्दै दुई ओटा खुकुरा चढाउने गरेको धनबहादुर रुम्बाले जानकारी दिए। यो पूजा तामाङ समुदायका रुम्बा, मोक्तान, थोकर, स्याङ्तान, बज्यु र गोगनेका बासिन्दाहरुले मात्रै गर्ने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell