PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो



रासस

मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो

सुर्खेत : मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका-७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिए।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ। यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। नेपालगञ्जबाट सोमवार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपाली सेनाको हेलिकप्टर र समिट एयर विमानमार्फत नेपालगञ्ज पुर्‍याइएको थियो। घाइतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

सामान्य घाइते छ वर्षीया एक बालिकाको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ।

दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए। प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताए। उनका अनुसार हाल १३ जना उपचाररत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell