मुठभेडकै बिच एकाएक बलियो अस्तित्व लिएर जन्मिएको सशस्त्र प्रहरी बल 'जनयुद्ध'को शान्तिपूर्ण अवतरणसँगै अन्यौल र असमन्जस्यताको दोसाँधमा पुगेको थियो। शान्तिपूर्ण आन्दोलन सफल भएलगत्तै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे। माओवादीलाई नियन्त्रण र मुलुकको प्रतिरक्षाका लागि खटाइएको नेपाली सेना ब्यारेक फर्कियो। सशस्त्र बिद्रोहीको सेना क्यान्टोनमेन्टमा। सत्तरी हजारको सङ्ख्यामा रहेको नेपाल प्रहरी आफ्नै कामकाजमा व्यस्त हुन थाल्यो। ठीक त्यतिखेर सशस्त्र प्रहरीको काम के त?
जनयुद्धमा माओवादीलाई परास्त पार्ने उद्देश्यले बनेको अर्धसैनिक फौज दोबाटोमा थियो। के काम गर्ने स्पष्ट थिएन। सशस्त्र प्रहरी भनिए पनि सुरक्षा र अनुसन्धानभन्दा बाहिर निस्किनुको कुनै अर्थ थिएन। अर्कातिर सशस्त्रसँग बाहिरी सूचनाको पहुँच पनि कमै मात्र। सर्वसाधारणले त सेना जस्तै सम्झिएका थिए सशस्त्रलाई।
सशस्त्र प्रहरीको चौथो महानिरीक्षकका रुपमा सनतकुमार बस्नेतले कमान सम्हालेका थिए। यस्तो अवस्थामा सशस्त्र प्रहरीलाई कसरी सङ्गठित र आम मानिससँग जोड्ने भन्ने सोचले सताउन थालेको थियो उनलाई। दशैंको माहोल सुरु हुँदैगर्दा उनले संगठनलाई जनतासँग जोड्ने उपाय फेला पारे। त्यसैले दशैं आयो कि सशस्त्रको काम देखिन थाल्यो, जनस्तरसँग जोडिने।
लोप हुँदै गइरहेको लिङ्गे पिङसँग कसिलो डोरी गाँसियो सशस्त्रको। तपाईँले मच्चिँदै चचहुईँ गरेको पिङ पनि सशस्त्रले नै हालेको हुनसक्छ। प्रत्येक वर्षको दशैंमा सशस्त्र प्रहरीले गाउँदेखि शहरसम्म लिङ्गे पिङ हाल्दै आएको छ। सशस्त्रको यो कदम परम्परा झैँ बनिसकेको छ। यसले दशैंमा एक पटक धर्ती छोड्नुपर्छ भन्ने संस्कृतिलाई जोगाएको त छँदैछ, त्यसभन्दा बढी, सर्वसाधारणसँग सामिप्यता ल्याएको छ।
२०६६ सालमा पहिलो पटक महानिरीक्षक सनतकुमार बस्नेतले सशस्त्रमा पिङ हाल्ने चलन चलाएका थिए।
'विपद् व्यवस्थापन जस्ता थुप्रै कुरा हुन्थे। मानिसहरू प्रहरी खोज्ने, सेना खोज्ने तर सशस्त्र प्रहरीमा नजाने। लोकल मानिससँग सशस्त्र प्रहरीको सम्बन्ध स्थापित भएन,' संगठनमा पिङका सुत्रधार पूर्व महानिरीक्षक बस्नेतले सुनाए, 'नेतृत्वको हिसाबले त्यो फोर्सलाई सही दिशामा लैजा सोच्नुपर्यो। त्यही क्रममा सङ्गठनभित्रबाट जन्मिएको एउटा उपाय लिङ्गे पिङ थियो।'
महानिरीक्षक बस्नेतको प्रस्तावलाई सङ्गठनभित्र केहीले नरुचाएका होइनन्। तर, प्रशंसाको भारी बढी नै वजनदार थियो। आलोचना गर्नेहरूले बोल्न सक्थेनन्, चेन अफ कमाण्डको जो विषय थियो। उनी महानिरीक्षक भएको पहिलो दशैंमा नै सशस्त्र प्रहरीको युनिट भएको ठाउँमा प्रहरीको गस्ती र निगरानी थाल्यो। सुरक्षित ठाउँ हेरेर आवश्यकता अनुसार पिङ हाल्न उनले परिपत्र नै जारी गरेका थिए। पिङ हाल्न नसक्नेले कारण सहित जवाफको पत्र पठाए। तर, धेरैजसो ठाउँमा त्यही वर्षको दशैंमा पिङ तयार भए, मानिसहरु आएर मच्चिए। भुइँ छाड्नेको घुइँचो लाग्यो। सशस्त्रलाई जनतासँग जोड्ने विश्वाससहित बस्नेतले जे गरेका थिए, त्यसले काम गर्यो।
'एउटा फोर्समा डोरी बाट्नु पनि ठूलो कुरा भएन। दुई चार वटा बाँस खोज्नु पनि ठुलो कुरा भएन। हाम्रो सङ्गठनमा ३०/४० जना भएको ठाउँमा ६/७ जना डोरी बाट्न जान्ने नै भेटिन्छन्,' पिङको सन्दर्भ सुनाए उनले, 'धेरैजसो मानिस गाउँले जीवनबाट नै आएका हुन्छन्। उनीहरू सङ्गठनमा नभएको भए गाउँमा डोरी, दाम्लो बाटेर बसेका हुन्थे। यो कुनै चेक काट्नुपर्ने, लेखाजोखा राख्नुपर्ने कुरा पनि थिए। सबै सामाग्री उपलब्ध थिए।'
त्यतिखेर दशैं सुरु हुनुभन्दा करिब एक महिना अगाडि नै परिपत्र जारी भएको थियो पिङका लागि। त्यस वर्ष हालेको पिङको माथि सशस्त्र प्रहरीको ब्यानर पनि झुन्डियो। पिङ बनाउनु र संस्कृति जोगाउनुमात्र सशस्त्रको मिसन थिएन, मानिसलाई जोड्नु र उनीहरुलाई सुरक्षित राख्नु पनि जिम्मेवारीमै पर्थ्यो। पिङ भएकै ठाउँमा अपराधिक घटना भयो भने सशस्त्र बदनाम हुनसक्थ्यो।
'त्यहाँ दुई किसिमको सुरक्षा चुनौती थियो। एउटा महिलाहरू गरगहना लगाएर आउने, अर्को पिङबाट लड्ने वा चोटपटक लाग्ने। त्यही भएर पहिले नै केटाहरूलाई ब्रिफिङ गरेर ट्रेन गरेर राखियो,' पूर्व महानिरीक्षक बस्नेतले सुनाए।
गाउँदेखि शहरमा समेत सशस्त्र प्रहरीले पिङ हाल्यो। जुन अहिलेको दशैंसम्म पनि परम्परा नै बनेको छ। जुन उद्देश्यले पिङ हालियो, त्यही अनुसारको परिणाम आएको बस्नेतले महसुस गरेका छन्। युद्धकालीन धङधङीलाई पिङबाट उतार्ने कदम आफैँमा महत्त्वपूर्ण थियो।
'आम मानिसको सशस्त्र प्रहरीसँग नखुल्ने र हिचकिचाउने बानी हटेर गयो। मानिसहरू खुल्न थाले। धेरै सूचनाहरू पाउन थालियो। मतलब धेरै माया,' उनले भने, 'अहिले जसरी आम मानिस विपद् वा अन्य कुरा हुँदा सशस्त्र कहाँ पुग्छन्। त्यो एउटा अंश त्यही पिङले जोडिदिएको जस्तो लाग्छ,' महानिरीक्षक बस्नेतले भने।
संस्कृतिसँगै सूचनाको सम्बन्ध त्यही पिङको लठ्ठाले गाँसिदिएको हो। त्यसपछि महानिरीक्षक बस्नेत थप हौसिए। दशैं सकिएर जाडो याम सुरु भयो। तराईमा जाडोको कारण मानिसहरू मरेका खबर आउन थाले। पिङपछि जनतासँग जोडिन अर्को योजना अगाडि बढाए। गाउँमा मानिस भेला गरेर एकै ठाउँमा आगो बाल्दिने। पिङको सफलताले डोहोर्याएको थियो उनलाई न्यानो बाढ्न।