काठमाडौं : आज महाअष्टमी। मोहनि (दशैं) को अवसरमा आज बेलुकी नेवार समुदायले कुछी भ्वय् खाउँदैछन्।
नेपालभाषामा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो। दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय् रहन गएको एक थरीको भनाइ रहेको छ। यस्तै, कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम 'कूल छी भ्वय्' भएको तर पछि अप्रभंस भएर कुछी भ्वय् हुन गएको भनाइ रहेको छ। महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ। नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ।
कुछी भ्वय् खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौला, भटमास लगायतका परिकार राखेर कुछी भ्वय् खाने गरिन्छ।
नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र नेवार समुदाय बसोवास गर्दै आएका अन्य जिल्लामा कुछी भ्वय् खाने चलन फरकफरक छ।
