काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको महाअष्टमीको दिन आज काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजा गरेकी छिन्। पाँचखाल नगरपालिका-९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान पूजा गरेकी हुन्।
भण्डारी हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेकी थिइन्। त्यहाँबाट स्कर्टिङ सहित उनलाई करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पुर्याइएको थियो।
राष्ट्रपति भएपछि यस मन्दिरमा उनले तीन पटक पूजा गरिसकेकी छिन्। गत वर्ष कोरोना संक्रमणको उच्च जोखिमका कारण मन्दिरमा पूजा रोकिएको थियो।
राष्ट्रप्रमुखले दशैंको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा रहेको छ।
करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ। यो मन्दिरमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो लाग्ने गर्छ । रासस
