PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोरङको कर्सियामा सिटिजन्स बैंक लुट्ने तीन जना सार्वजनिक, लुटिएको रकम भेटिएन



पहिलोपोस्ट

मोरङको कर्सियामा सिटिजन्स बैंक लुट्ने तीन जना सार्वजनिक, लुटिएको रकम भेटिएन

काठमाडौं : सोमवार दिउँसो मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ स्थित कर्सियामा रहेको सिटिजन्स बैंकमा लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधवार पत्रकार सम्मेलन गर्दै तीन जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक जना नेपाली युवा रहेका छन्।

प्रहरीले मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया सेखपुरा बस्ने २८ वर्षीय सुनिल यादव र ३० वर्षीय बिजय सहनीलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई  घटना गरेर भाग्ने क्रममा को २५ प ३८९९ मोटरसाइकल सहित नियन्त्रणमा लिइएको थियो। सहनीलाई बायाँ तिघ्रामा गोली लागि घाईते अवस्थामा मोरंङ धनपालथान गाउँपालिका-२ खयरबना चोक नजिकबाट पक्राउ गरी रंगेली अस्पतालमा उपचार पश्चात ईप्रका रंगेलीमा ल्याई राखिएको प्रहरीले जानकारी दिएको छ।

सोमवार दिउँसो ३ बजेर ४५ मिनेटमा आएका लुटेरा समूहले बैंकमा रहेको रकम लुटेर फरार भएका थिए। बैंकका सुरक्षा गार्ड शीतल कुमाललाई गोली प्रहार गरी बैंकको काउन्टरमा रहेको रकम लुटेको प्रहरीले जानकारी दिएको छ। बैंकमा रहेको २१ लाख रकम लुटेको प्रहरीलाई बैंक प्रशासनले जानकारी दिएपछि मोरङ प्रहरीले सर्च अपरेसन गरेको थियो।

घटना नेपालीहरूको योजनामा भारतीय प्रयोग गरिएको देखिएको छ। हतियारको व्यवस्थापन भारतीयहरूले नै गरेका थिए। पक्राउ परेका सुनिल यादव र विजयले गोली चलाएको खुलेको छ। उनीहरू सुटर हुन्। प्रहरीले एक थान कटुवा पेस्तोल समेत बरामद गरेको छ। घटनामा ८ जनाको संलग्नता भएको खुलेको छ।

बैंक र भारतीय सीमाना करिब ५ किलोमिटरको दुरीमा रहेकाले भाग्न सजिलो हुने हिसाबले उनीहरूले त्यही स्थानलाई टार्गेट बनाएको प्रहरीलाई बयान दिएका छन्। फरार अन्य र लुटिएको रकम भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell