PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पहिलोपटक साफ फाइनलमा पुग्दा मैदानमा देखिएको दृश्य, उपाधिका लागि शनिवार भारतसँग भिड्दै नेपाल

पहिलोपटक साफ फाइनलमा पुग्दा मैदानमा देखिएको दृश्य, उपाधिका लागि शनिवार भारतसँग भिड्दै नेपाल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ। माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो। बुधवार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेको थियो।

बुधवार राति भएको दोस्रो खेलमा भारतका लागि मनविर सिंहले ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए। माल्दिभ्सका अलि अस्फाकले ४५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए।

खेलको दोस्रो हाफमा भने भारतको दबाब देखिएको थियो। भारतीय कप्तान सुनिल क्षेत्रीले ६२ औं र ७१ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई फाइनल पुर्‍याएका थिए।

यता,नेपाली फुटबल टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो।

बुधवार दिउँसो भएको नेपाल र बंगलादेशबीचको खेलमा बंगलादेशका सुमा रेजाले ९ औं मिनेटमा गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक खेलमा नेपाली टोलीका अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए। नेपाललाई साफको फाइनल पुग्न खेल बराबरीमात्रै गरे पुग्थ्यो। विष्टको गोलसँगै नेपालले इतिहास रच्दै साफको फाइनलमा स्थान बनाएको हो।

साफ उपाधिका लागि अब नेपाल र भारतबिच शनिवार राति प्रतिस्पर्धा हुनेछ। फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ मा हुनेछ। 

नेपालले माल्दिभ्समा जारी साफ फुटबलमा एक खेलमात्रै हारेको छ। दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको नेपाल भारतसँग मात्रै पराजित भएको थियो। गत आइतवार भएको खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको थियो। उक्त खेलमा पनि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध एक मात्र गोल गरेका थिए।

शनिवार हुने फाइनल खेलमा नेपाल उक्त हारको बदला लिएर पहिलो पटक साफ च्याम्पियनसीपको उपाधि जित्ने दाउमा हुनेछ। 

सबै तस्विर : एन्फा



ट्रेन्डिङ पोस्ट

Ncell