बाटोले अहिलेको जस्तो आकार लिएकै थिएन। डाँडामा हुस्सु र घामको पैठेजोरी चलिरहन्थ्यो। हावा पनि मज्जाले चल्ने। भौतिक संरचनाको कल्पना त टाढाको विषय नै थियो। त्यसैले पनि टी हाउसलाई नै व्यवसायको आधारशीलाका रुपमा अगाडि बढाउँदै थिए योगेन्द्र शाक्य। सिक्किममा अनुभव बटुलेका इन्जिनियरले टी हाउसका लागि घरको डिजाइन देखाए – सबै आकर्षक तर जस्ता चाहिँ पूरै नीलो। दार्जिलिङ र सिक्मकमतिर नीलो रङको छाना छपक्कै भइसकेकाले उनको रोजाई पनि त्यसमै अडियो।
'आकाश नीलो हुन्छ,त्यसैले यो कल म्याच गर्छ,' ती इन्जिनियरले आफ्नो डिजाइनमा तर्क पेश गरे।
नीलो छानो त्यतिखेर प्रयोगमा खासै थिएन। तर, इन्जिनयरको तर्कमा दम थियो जसलाई योगेन्द्रले स्वीकारे। टी हाउसले आकार लियो। र,एउटा फरक आइकन तयार भयो। 'लामो समयसम्म नगरकोटको त्यो घर टेलिभिजनको विज्ञापनमा बज्यो,' पुरानो सन्दर्भ उप्काउँदै योगेन्द्रले सुनाए, 'हुलासका रंगीन जस्तापाता ब्रान्डिङमा काम गर्यो त्यसले।'
हो, सायद तपाईँले पनि टेलिभिजनका पर्दामा देख्नु भएको हुनुपर्छ त्यो नीलो रंगीन जस्तापाता हालेको घर। क्लब हिमालयले अहिलेको विशाल आकार लिनुअघि यही घरबाट सुरु भएको थियो बतासे डाँडाको फरक कथा जुन कुनै समय दशैंको विम्बका रुपमा चिनिने चङ्गासँग पनि जोडियो – चङ्गा चेटमार्फत्। चङ्गा दशैंबाट पनि चेट हुँदै गइरहेको अहिलेको सन्दर्भमा एकपटक हामी फेरि तपाईँलाई त्यसको पृष्ठभूमिसँग जोड्दैछौं। र,सन्दर्भलाई उप्काउँदैछौं – योगेन्द्र शाक्य मार्फत्।
+++
बतासे डाँडाको कथा टाढाको होइन। काठमाडौंको दरबारमार्गबाट भक्तपुर हुँदै जाने हो भने ३१ किलोमिटर र साँखु हुँदै जाने हो भने २८ किलोमिटर दुरीमा पर्छ बतासे डाँडा। अर्थात्, नगरकोटको बतासे डाँडा। त्यही डाँडामा रंगीन जस्तापाताले छाएको टी हाउसमा एकदिन पुगेका थिए राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरुका पाहुनाहरु। त्यस दिन योगेन्द्रको मानसपटलमा अझै सजीव छ किनकि बतासे डाँडामा बतासले आफ्नो शक्ति बयान जो गरेको थियो।
क्लब हिमालय।
'श्रुतीको बिहेको कुरा चलिरहेको थियो भारतको एउटा घरानासँग। त्यही सन्दर्भमा कुरा गर्न राजा रानी र उनीहरुका पहुना आउनु भएको थियो,' योगेन्द्रले सुनाए। शाही परिवार नगरकोटको डाँडामा रहेको त्यही टी हाउसमा खान खाएर फर्किँदै थियो हावाको झोका यसरी आयो कि ऐश्वर्याको साडी नै उडायो।
'उहाँले राजालाई सम्बोधन गर्दै 'ए मान्छे' भन्दै कराउनुभयो। नजिकै अरु कोही जाने कुरा भएन। वीरेन्द्रले उहाँको सारी सम्हाल्दिनुभयो,' प्रत्यक्षदर्शी रहेका योगेन्द्रले सुनाए। बतासे डाँडाको बतास यति जोडतोडको हुने कि त्यहीँ उनले टी हाउसका लागि बिजुली उत्पादन गर्न त्यसको प्रयोग समेत गरेका थिए – विन्ड मिल जोडेर। त्यहीँ हुलासका रंगीन जस्तापाताले बनेको घरबाट सुरु भएको क्लब हिमालयले नगरकोटको चिनारी बदल्यो। अर्थात् क्लब हिमालयले नगरकोट चिनायो, नगरकोटले क्लब हिमालय। रानीको साडी उडाइदिने हावा, बिजुली बाल्न मिल नै घुमाइदिने हावा चङ्गा उडाउन किन कम हुन्थ्यो?
+++
कान्तिपुरी नगरीको मुल शहर असन। जोडिएका घर र बजारको केन्द्र पनि। किन्ने र बेच्न आउनेको भिड थेगिनसक्नु। त्यही जन्मिएका योगेन्द्रका लागि दशैं राम्रो जुत्ता लगाउने, मीठो मसिनो खाने र रमाइलो गर्ने पर्वका रुपमा भित्रिन्थ्यो। 'रमाउन अहिलेजस्तो साधनहरु थिएनन्। न टिभी न सिनेमा,' उनले भने, 'खुलेर रमाइलो गर्न चङ्गा उडाउने र जुधाउने होडबाजी चल्ने।'
दशैं आएसँगै चङ्गाको सिजन गजबले सुरु हुन्थ्यो। खेतबाट धान काटिसकेकाले परपर सम्म खाली हुन्थ्यो। अहिलेजस्तो अग्ला घर हुन्थेनन्। अनि जुट्थ्यो चङ्गासँगै आँखा जुधाउने अवसरहरु। योगेन्द्रका शब्दमा 'अर्काको चङ्गा चेट पारेर युवतीहरुलाई 'इम्प्रेस' पार्ने होडबाजी' नै चल्थ्यो।
'सबैका घरका बार्दली र छतमा चङ्गा उडाउनेहरु हुन्थे। कसले कतिवडा चङ्गा चेट पार्ने भन्ने होडबाजी नै चल्थ्यो,' उनले भने, 'चङ्गा नउडाउने घर हुँदैन थियो।' असनमा उडाउने चङ्गा चेट भएपछि काँठका खेततिर पुग्ने। त्यसलाई छोप्न दौडिनेहरुको होडबाजी उस्तै। धान काटेको रहेनछ भने चङ्गा छोप्नेले माड्लान् भन्ने पीर!
चङ्गा उडाउँदा धागोमा पर्ने मेहनत कम नहुने। मादा लगाउने र धागोलाई धारिलो बनाउने, अनि अरुले उडाइरहेको चङ्गासँग भिड्न जाने। अरुका चङ्गालाई छिन्नभिन्न बनाउँदै रमाउने नै हो चङ्गा चेट। दशैंको प्रतीकका रुपमा स्थापित भएको चङ्गा उडाउने त्यो परम्परा विस्तारै धुमिल हुँदै थियो। रमाउने अरु नै विकल्पहरु थपिँदै थिए र पुस्तान्तर हुन अनकनाइरहेको थियो चङ्गाको त्यो परम्परा।
+++
प्रजातान्त्रिक वातावरणसँगै उदार अर्थतन्त्रले तयार गरेको लगानीको वातावरण। फरक उत्साहमा नेपालको पर्यटनले नयाँ मोड लिँदै थियो। विश्वका उत्कृष्ट ट्रेकिङ रुटमा नेपालले शीर्षस्थान ओगट्न थालेको थियो। नगरकोट त्यही समयमा विस्तारित हुँदै थियो हिल स्टेसनका रुपमा। निर्झर ठाउँ रसिलो बन्दै थियो। डाँडाको माटो खोस्रिँदै पर्यटनलाई उद्योगको आकार दिँदै गरेका योगेन्द्र आफैँले सुख्खा त्यस ठाउँमा पानी ल्याउन त्यति रकम खर्चिए, जति रकम उनले जग्गा किन्न हाल्नु परेको थियो।
चङ्गा चेटमा सेलिब्रिटी
सन् १९९८ को नेपाल भ्रमण वर्ष आफैँमा एउटा सफल सुरुवात थियो – पर्यटन प्रवर्द्धनका लागि। योगेन्द्रका काका कर्ण शाक्यले त्यसको नेतृत्व गरेका थिए। मुलुकमा अझै पर्याप्त पूर्वाधार बनिसकेको थिएन। त्यसैले आफू हिँडेको गोरेटोमा कागजका रङ्गिचङ्गी टुक्राहरु छरेर आफ्ना साथीहरुलाई बाटोको संकेत दिने गर्थे पर्यटक। पर्यटकको अर्थ हुन्थ्यो – गोरा अनुहार। नेपाल आउने पर्यटकको सूचीमा बेलायत, अमेरिका, जापान, फ्रान्सजस्ता मुलुक सधैं शीर्ष स्थानमै रहन्थे। युरोपसँग सोझै जोडिन्थ्यो नेपाल एयरलाइन्सको जहाज।
पर्यटनले उद्योगको आकार लिइरहँदा मुलुक द्वन्द्वतिर पनि उत्तिकै रफ्तारमा भासिँदै थियो। विस्फोट र दोहोरो भिडन्तका खबरहरु अखबार पोतिन थालिरहेका थिए। जुन मुलुकका नागरिक घुम्नका लागि नेपाल आउने रहरमा थिए, तिनै मुलुकले ट्राभल एड्भाइजरी जारी गरे – नेपाल भ्रमण नगर्नू। गर्नै परे,काठमाडौंबाट बाहिर नजानू।
यो त्यही टर्निङ पोइन्ट थियो जसले नेपालमा 'पर्यटक' शब्द पुनर्परिभाषित हुन बाध्य भयो। गोराहरु मात्र पर्यटक हुन् भन्ने धारणा भत्काउनु बाध्यता थियो – आन्तरिक पर्यटन प्रवर्द्धनको जग यसैले बसायो। नेपालीका लागि लक्षित गरेर पर्यटकीय प्याकेजहरु बन्न थाले। नगरकोटको चङ्गा चेट त्यस्तै एउटा 'प्रडक्ट'का रुपमा योगेन्द्रले पेश गरे। रानीको सारी उडाउने गरी चलेको हावा, बिजुली निकाल्ने गरी विन्ड मिल घुमाउने हावालाई उनले दशैंसँग जोडिएको चङ्गासँग कनेक्ट गरे। र, यिनै सबैखाले पृष्ठभूमिले उदायो – बतासे डाँडाकोचङ्गा चेट।
+++
'अफगानिस्तान, पाकिस्तान, भारत र नेपालमा चङ्गा जुधाउने खेल प्रतिस्पर्धाको रुपमा नै रहेछ जबकि धेरै देशमा चङ्गा रमाइलोका लागिमात्र उडाउने गर्दा रहेछन्,' योगेन्द्रले सुनाए। छिमेकी चीनमा पनि चङ्गा निकै लोकप्रिय। त्यहाँ भने फरक फरक डिजाइनका ठूला चङ्गा उडाउने चलन। उनलाई पनि बतासे डाँडामा चङ्गा चेटसँगै यस्तैखाले हेर्दै लोभलाग्दा चङ्गाहरु उडाउने उत्सव गराउने रहर। चङ्गाकै एउटा प्याकेज अनि पर्वको उत्सव जुन पूरा हुन सकेन।
चङ्गा चेटको क्रेज।
द्वन्द्व समाप्त भयो। शान्ति आयो तर सबै कुरा पहिलेको जस्तो भएन। चङ्गा चेट आयोजना गर्न असजिलो हुन थाल्यो। केही मानिसहरु चङ्गा चेटमा आफ्नो हक दावी गर्न आउन थाले।
'लोकल हौं, हाम्रो ठाउँमा कार्यक्रम गर्ने हो भने हामीले पनि भाग पाउनुपर्छ भन्न थाले। नि:शुल्क सहभागिता र खानाको डिमाण्ड हुन थाल्यो,' दशैंसँग जोड्दै सुरु भएको प्याकेज असफलताको बाटोतिर लाग्नुको राज खोले उनले, 'त्यो माग पूरा गरेर अगाडि बढ्न सक्ने स्थिति बनेन। त्यसमाथि हड्तालहरु जारी रहेका थिए। संविधान निर्माणको किचलोले सधैंजसो बन्द र आम हड्ताल कायम भयो।'
असर यतिकै कारणमात्र परेन। नगरकोटको वातावरणमा पनि फरक असरहरु देखिन थाल्यो। चङ्गा उडाउने सिजनमाथि ग्लोबल वार्मिङको असर अनुभूति गरेका छन् योगेन्द्रले।
त्यो इभेन्ट जहाँ मेला लागे झै हुन्थ्यो।
'पहिलेजस्तो अनुमान नै गर्न नसकिने अवस्था आयो। जुन सिजनमा पानी पर्दैन थियो, पर्न थालेको छ,' उनले सुनाए, 'अब त्यही प्याकेज तय गरौं, मौसमले पनि साथ नदिन सक्ने भयो।'
यसबिच विदेशी र स्वदेशी पर्यटक दुवैले अनुभूति गरेको एउटा तीतो यथार्थ के रह्यो भने – शान्ति स्थापनासँगै हस्पिटालिटी क्षेत्रमा द्वन्द्वको उत्खनन् भयो। त्यो उत्खननले मालिक र मजदूरमात्र विभाजित भएनन्, आएका पाहुनासँग गरिने व्यवहार पनि निष्ठुर बन्दै गयो। भावनात्मक सत्कार गुम्न थाल्यो। हरेक विषयलाई वर्गीय दृष्टिकोणबाट हेर्दै नाफा र घाटाका रुपमा तौलने क्रम बढ्यो। सत्कारको शैली जागिरे बन्दै गयो। अर्थात् धर्मरायो – अतिथि देवो भव:।
चङ्गा उडाउन कसलाई मन लाग्दैन?
संविधान जारी पछिको स्थिरताले फेरि नयाँ मोड नलिएको होइन। उद्योगका रुपमा पर्यटन क्षेत्रले आफूलाई बलियो बनाउने तयारी पनि थाल्यो। हिल स्टेसनहरु बढ्न थाले। शहरमा पनि स्तरीय तारे होटलहरु थपिए। तर, दीर्घकालीन सोच सहित लगानी थाल्नेहरुलाई धरापमा पार्दै कोभिड १९ भित्रियो। संसारभर सेवामूलक यो क्षेत्र धर्मरायो। नेपालको पर्यटन क्षेत्र पनि नराम्ररी थलियो। त्यसैले थाहा छैन – फेरि कंक्रिटको बस्तीले भुलाएको चङ्गाको त्यो उडान, बतासे डाँडाजस्तै कुनै हिल स्टेसनमा फेरि ब्युँतिन्छ या ब्युँतिन्न? लट्टाईका धागामा मादा लाग्छ या लाग्दैन? चङ्गा चेट हुन्छ या हुँदैन?
भएन भने। एक दिन पक्का दशैंका लागि कोरिने चित्रहरुबाट सदाका लागि चङ्गा चेट हुनेछ।