PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साना हतियारको ठूलो त्रास : गुण्डादेखि बैंक लुटेरासम्म बन्दुक!



पहिलोपोस्ट

साना हतियारको ठूलो त्रास : गुण्डादेखि बैंक लुटेरासम्म बन्दुक!

काठमाडौं : सोमवार (असोज २५)  गते दिउँसो ३ बजेर ४५ मिनेटमा मोरङको धनपालथान गाउँपलिका वडा नम्बर ४ स्थित कर्सिया बीपी चोकस्थित सिटिजन्स बैंकमा ७ जनाको छिर्‍यो। बैंकको सुरक्षामा ४० वर्षीय शीतल कुमाल खटिएका थिए। जबर्जस्ती छिर्न थालेपछि गार्डले प्रतिकार गर्न खोजे।

उनीसँग सुरक्षाको लागि खुकुरीमात्र थियो। सात जनाको समूहका अगाडि सुरक्षा गार्डको केही चलेन। उनले बोक्ने खुकुरी समेत खोसियो। उनले थप प्रतिकार गर्न खोजे। एक जनाले साथमा बोकेको कटुवा पेस्तो झिक्यो र गार्डमाथि गोली हानेर ढाल्यो। उनी घाइते भए।

दशैंको समयमा बैंकमा कर्मचारी र ग्राहकहरु व्यस्त नै थिए। गोली हानेर सात जनाको समूह छिरेपछि कसैको प्रतिकार गर्ने हिम्मत थिएन। किनकि गार्डको जस्तै हविगत होला भन्ने त्रास थियो। त्यसपछि उनीहरुले बैंकमा भएको २१ लाख रुपैयाँ लिएर फरार भए।

घटना त्यतिखेर भएको थियो जतिखेर प्रहरीले देशैंका लागि विशेष चार्डपर्व सुरक्षा योजना लागू गरिरहेको थियो। झन् आर्थिक कारोबार हुने स्थान प्रहरीको निगरानीमा भएको भनिएको थियो। तर, दिउँसै हतियारधारी समूहले बैंक लुट्न सफल भयो। घटना भएको केही समय जानकारी पाएको प्रहरीले तीन जना लुटेरालाई त समात्यो तर रकम लिने फरार रहे। समातिएकाको साथबाट घटनामा प्रयोग भएको कटुवा पेस्तोल समेत बरामद गरेको छ प्रहरीले।

पक्राउ पर्नेहरुमा दुई जना भारतीय नागरिक समेत छन्। उनीहरुले योजनाबद्ध रुपमा भारतबाट हतियार लिएर बैंक लुट्न आएको खुलेको छ। सीमाबाट सहजै नेपाल हतियार छिरेको देखिन्छ। यसले देशको सुरक्षामा प्रश्न समेत गरेको छ। पछिल्लो समय यस्ता साना हतियार सुरक्षामा निकै चुनौतिपूर्ण देखिएको छ।बैंक लुट्दा प्रयोग भएको कटुवा पेस्तोल


प्रहरीले बरामद गरेको कटुवा पेस्तोले पक्राउ परेका सुनिल यादवले प्रयोग गरेको खुलेको छ। उनीहरुले भारतबाट नै पेस्तोल ल्याएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दनार्दशन जीसीले बताए।

'भारतीय नागरिकले नै हतियार व्यवस्थापन गरेका थिए। उनीहरु दुई जना सुटर समेत भएको देखिएको छ,' एसपी जीसीले भने।

जब यस्ता घटनमा हतियारको प्रयोग हुन्छ मानिस प्रतिकार गर्न डराउँछन्। लुटपाट, चोरी लगायत घटनामा अपराधिले मानिसलाई त्रसाउन र मनोबल कम गर्न नै हतियार प्रयोग गर्ने गरेका छन्। खुल्ला सीमानाको कारण नेपालमा यस्ता हतियार सहजै प्रवेश गरेको देखिन्छ। त्यसैले होला नेपालमा हतियार बरामद गर्ने सङ्ख्या पनि बढेको छ।

सोमवार लुटिएको बैंक भएको स्थान र भारतको सीमाना करिब ५ किलोमिटरको दुरीमा छ। घटनामा ८ जनाको संलग्नता भएको खुलेको छ। लुटिएको रकम र अन्य मानिस अझै फेला परेका छैन।

हतियारसहित समातिने बढ्दो

पछिल्ला केही महिनामा अवैध हातहतियार सहित मानिस पक्राउ पर्नेक्रम सुस्ताए पनि हरेक वर्ष यता हतियारसहित मानिस पक्राउ हुने दर भने उकालिँदो छ।

प्रत्येक वर्ष ३ सय भन्दा बढी मानिस हातहतियार र गोलीगठ्ठा सहित पक्राउ पर्ने गरेका छन्। गएको आर्थिक वर्ष २०७७/७८ मा ४ सय २६ जना मानिस हतियार र गोलीसहित पक्राउ परेका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७६/७७ मा ३ सय ६० व्यक्तिलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रत्येक वर्षमा हतियारसहित पक्राउ पर्नेको सङ्ख्या बढेर गएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। आर्थिक वर्ष २०७५/७६ मा २ सय ४७ जना मानिस हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको थियो।

देशभर यसरी हतियार सहित पक्राउ गर्दा धेरै चाहिँ ठूला हतियार सहित समातिने गरेको गरेको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा ठूला हतियार ४ सय ६२ वटा बरामद भएको थियो। अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा १ सय २६ प्रतिशतले ठूला हतियार बरामद बढेको हो। आर्थिक वर्ष २०७६/७७ मा २ सय ४ वटा ठूला हतियार प्रहरीले बरामद गरेको थियो। २०७५/७६ मा २ सय ६ वटा यस्ता हतियार बरामद भएका थिए।

त्यस्तै, गएको आर्थिक वर्षमा ९३ वटा साना हतियार प्रहरीले बरामद गरेको थियो। अघिल्लो आर्थिक वर्षमा १ सय १० वटा साना हतियार बरामद भएका थिए। त्यस्तै, देशभरबाट विभिन्न हतियारमा प्रयोग हुने १ हजार ६ सय १७ वटा गोली बरामद भएको छ। आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या ५ हजार ८ सय १५ थियो। त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा म्याग्जिन ५७ वटा बरामद भएको छ।

सुन तस्कर, लुटेरा, गुन्डागर्दी गर्नेहरु हतियार सहित पक्राउ पर्ने गरेका छन्। अन्य स्थानमा मात्र होइन विमानस्थलबाट समेत हतियार फेला परेको छ। बैंकदेखि डलर, नक्कली सुन, यार्सागुम्वा लुट्नेसम्मले साना हतियार प्रयोग गरेको देखिएको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell