PahiloPost

Nov 5, 2024 | २० कात्तिक २०८१

कोइराला निवासको दशैं : विराटनगर आउँथे किसुनजी, यसरी मानिन्थ्यो चाड



अनन्तराज न्यौपाने

कोइराला निवासको दशैं : विराटनगर आउँथे किसुनजी, यसरी मानिन्थ्यो चाड

विराटनगर : बडा दशैँका बेला कोइराला निवासमा सधैँ मान्छेको घन्चमन्च हुन्थ्यो। पिताजी कृष्णप्रसाद कोइरालाले एक सय वर्षअगाडि बनाएको यस ऐतिहासिक घरलाई अहिले काङ्ग्रेस नेता एवम् केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संरक्षण गरिरहेका छन्। यही घरमा दशैँमा आवतजावत गर्ने अनि शुभकामना र आशीर्वादका लागि आउने परम्परा अझै चलिरहेको छ। पञ्चायत कालका कठिन र सङ्घर्षमय दिनमा यस घरलाई शेखरकै बुबा केशवप्रसाद र आमा नोनाले थामेका थिए। सम्पूर्ण कोइराला परिवारको खेती मोरङमै पर्ने हुँदा केशव र नोनाले यही घरमा बसेर राजनीति र खेतीपातीको काम गरिरहे।

‘पञ्चायत कालमा पनि दशैँमा यहाँ आउनेको सङ्ख्या उल्लेखनीय हुन्थ्यो’, डा. शेखरले सम्झिए, ‘२०३६ सालमा जनमत सङ्ग्रहको घोषणापछि राजनीतिक वातावरणमा खुकुलोपन आयो। त्यसपछि १९ वर्षसम्म कोइराला निवास नआएकाहरू पनि आउन थाले। नोना आमाले दशैँमा भेट्न आउने सबैलाई खिर, पुरी, जिलेबी र तरकारी खुवाउनु हुन्थ्यो। अष्टमीका दिन सधैँ खसी काट्ने चलन त छँदै थियो। तर सायद, मारवाडी समुदायका साथीहरूको पनि सम्मान गर्न हुनुपर्छ; नौरथाभरि भेट्न आउनेलाई खिर, पुरी आदि पस्कने चलन थियो।’

२०१७ सालअघि डा. शेखर स्कुले विद्यार्थी थिए। गिरिजाबाबु भनेपछि त्यति बेलाका बालबालिका र विद्यार्थी औधि मन पराउँथे। किनकि गिरिजाबाबु गाउँटोलका बालबालिकालाई भेला गरेर केही न केही खुवाउँथे। गिरिजाबाबु दशैँमा सबै बालबच्चालाई भेला गरेर बजार घुमाउन लैजान्थे र सबैलाई मिठाई किनेर बाँड्थे। तिहारमा पटाका वितरण गर्थे।

शेखरकी हजुरआमा दिव्या कोइराला पञ्चायत कालका कठिन दिनमा कोइराला निवास विराटनगरमै बसिन्। उनीसित यस क्षेत्रका गण्यमान्य व्यक्ति दशैँमा टीका थाप्न आउँथे। एक पटक त राणा थरका अञ्चलाधीश पनि आएका छन्। तर ती अञ्चलाधीशको नाम भने शेखरका सम्झनामा छैन।

जनमत सङ्ग्रहको निर्वाचन २०३७ वैशाख २० मा भयो। जेलबाट छुटेपछि प्रवासमा रहेका गिरिजाबाबु यही बेला आममाफी पाएर नेपाल फर्किए। उनी नेपाल आएपछि कोइराला निवासमा दशैँको रौनक अझ बढ्यो।

२०३७ पछि गिरिजाबाबुले विराटनगरमै दशैँ मनाउन थाले। अनि त, उनलाई भेट्न, शुभकामना र आशीर्वादको आदानप्रदान गर्न मान्छेको घुइँचो अझ थपियो। २०४८ पछिका समयमा प्रधानमन्त्री भएका बेला पनि गिरिजाबाबुले धेरैजसो दशैँ विराटनगरमै मनाए। उनी अष्टमीका दिन सधैँ यहाँको प्रसिद्ध शक्तिपीठ काली मन्दिरमा दर्शनका लागि जाने गर्थे।

गिरिजाबाबुको हातको टीका लगाउन आउनेको पनि यहाँ घुइँचो लाग्थ्यो। उनी विराटनगरस्थित आफ्नो मावली घर र सानिमाका घरमा नित्य टीका लगाउन जान्थे। कोइराला निवासका सबै सदस्य मातृकाबाबुकहाँ पनि टीका थाप्न जान्थे। कोइराला निवासअगाडि त्यस बेला धेरै ठाउँ खालि नै थियो। त्यहाँ पिङ हाल्ने गरिन्थ्यो।

२०४६ को परिवर्तनपछि नोनाले २ पटक कोइराला परिवारका सबै सदस्यलाई दशैँ मान्न विराटनगर नै बोलाइन्। घरमा त्यस बेला ज्यादै भीडभाड भयो। खुट्टा राख्ने ठाउँ थिएन।

डा. कोइरालाले सुनाए, ‘कोइराला निवासमा दशैँका बेलामा सधैँजसो मुख्य आकर्षणको केन्द्र किसुनजी पनि हुनुहुन्थ्यो। पञ्चायत कालका सबैजसो दशैँमा किसुनजी काठमाडौंबाट कोइराला निवास विराटनगर आउने र सात–आठ दिनसम्मै बस्ने गर्नुहुन्थ्यो। उहाँ घटस्थापना वा त्यसको एक–दुई दिनपछि आएर कहिले सप्तमी र कहिले अष्टमीसम्मै बस्नुहुन्थ्यो। अष्टमी वा नवमी पारेर काठमाडौं फर्कनुहुन्थ्यो। किसुनजी दशैँमा विराटनगर आएपछि गिरिजाबाबु आफ्नो बस्ने कोठा छाडिदिनु हुन्थ्यो र अर्कै कोठामा सिफ्ट हुनुहुन्थ्यो।’

नोना आमा र किसुनजी बाल्यकालदेखि र बनारसदेखि नै समकालीन हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell