PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

टीकाको दिन परिवारसँग बाहिर खान जाने योजना छ ? दशैंमा पनि खुलेका छन् यी रेष्टुरेन्टहरु



पहिलोपोस्ट

टीकाको दिन परिवारसँग बाहिर खान जाने योजना छ ? दशैंमा पनि खुलेका छन् यी रेष्टुरेन्टहरु

काठमाडौं : हरेक दशैंमा अष्टमीदेखि द्वादशीसम्म कार्यालयहरु बन्द रहन्छन्। बजारका पनि धेरै सेवाहरु बन्द रहन्छन्। विजयादशमीका दिन जोडी वा सपरिवार कतै बाहिर गएर खाने प्रोग्राम बनाउँदै हुनुहुन्छ भने धन्दा मान्नु पर्दैन। टिकाका दिन पनि केही रेस्टुरेन्टहरु खुलै हुनेछन्।

काठमाडौंमा त्रिशारा, रोड हाउस, प्लेसेस लगायतका आधा दर्जनभन्दा बढी रेष्टुरेन्टले पर्वको बिदाको दिन पनि सेवा दिने भएका छन्। यी रेष्टुरेन्टहरुमा गएर वा टेकअवे सेवा पाइनेछ।

केही रेस्टुरेन्टले दशैंमा सेवा बन्द गरेपनि धेरैले कर्मचारीलाई 'ओभर टाइम' दिनेगरी सेवा जारी राख्ने भएका छन्।

दशैंको बिदाभर त्रिशारा रेष्टुरेन्टले आफ्नो सबै आउटलेटमार्फत ग्राहकलाई सेवा दिने जनाएको छ। रेष्टुरेन्टले ६० जना जनशक्ति परिचालन गर्दै आफ्नो सेवा निरन्तर दिने योजना रहेको सञ्चालक शोभनवीर मालाकारले बताए। 'टीकाको दिन हाम्रा सबै आउटलेट दिउँसो १ बजेदेखि नै खुल्नेछ,' उनले भने, 'परिवारमा रेस्टुरेन्टका परिकार मिलेर खाउँ भन्नेका लागि हामी सेवा दिन तयार छौं।'

वर्षको तीन सय ६५ दिन नै सेवा दिँदै आएको रेष्टुरेन्टले दशैंमा अझ ग्राहकको मागअनुसारका परिकार छिटो तयार गरेर दिने उनले बताए। 'दशैं भन्दैमा सबैजना उपत्यका बाहिर गएका हुँदैनन्। दशैंमा रेस्टुरेन्टका खानेकुराको माग झन् बढी हुन्छ,' उनले भने, 'हामीले दिने सेवा अरु बेला जस्तै हुनेछ। कर्मचारीको अनुकूलताअनुसार ड्युटी मिलाएका छौं।'

त्रिशाराका लाजिम्पाट, दरबारमार्ग, ठमेल, बानेश्वर लगायत सबै आउटलेट खुला रहने उनले बताए।

वर्षको ३६५ दिन नै सेवा दिँदै आएको रोड हाउस क्याफेले पनि ग्राहक सेवा सुविधालाई मध्यनजर गर्दै टीकाको दिन पनि आफ्नो सेवा दिने भएको छ। रेष्टुरेन्टले काठमाडौंमा रहेको सबै आउटलेट दशैं बिदा अवधिभर संचालनमा ल्याउने योजना रहेको बजार प्रमुख अर्चना पुनले बताइन्।

रेष्टुरेन्ट अन्तर्गत ठमेल, बौद्ध, नक्साल, पुलचोक, दरबारमार्ग लगायत सबै आउटलेट खुला हुने उनले जानकारी दिइन्। 'हामीले यो समय सिफ्टवाइज जनशक्ति परिचालन गर्नेछौं। हाम्रो ग्राहकलाई सबै दिन सेवा दिने उद्देश्यले आफ्नो सेवा खुला गरेका हौं। आफ्नो ब्राण्डलाई त्यही अनुसार सेट गरेका छौं,' उनले भनिन्।

शाकाहारी परिकारको सेवा दिँदै आएको ठमेलस्थित प्लेसेस रेष्टुरेन्टले दशैं विदा अवधिभर आफ्नो सेवा दिने जनाएको छ। सीमित मेनु राखेर आफ्नो सेवालाई निरन्तरता दिने योजना रहेको संचालक प्रदीप श्रेष्ठले बताए।

उनका अनुसार बिदा अवधिभर रेष्टुरेन्टले दिउँसो १२ बजेदेखि आफ्नो सेवा दिने तयारी छ। 'हाम्रो भेजिटेरियन एण्ड भेगन रेष्टुरेण्ट हो। बिदामा हामीले लिमिटेड मेनु पस्किनेछौं,' उनले भने।

गैरीधारास्थित एलिस रेष्टुरेण्टले टिकको दिनबाहेक आफ्नो सेवा निरन्तर राख्ने जनाएको छ। रेष्टुरेण्टको दरबारमार्गस्थित आउटलेट भने बुधबारदेखि बन्द भइ टिकापछि पुनः संचालनमा ल्याउने योजना रहेको एक कर्मचारीले जानकारी दिए।

'हाम्रो गैरीधाराको आउटलेट टिकाको दिनबाहेक अरु सबै दिन खुला हुनेछ। दरबारमार्गकको आउटलेट पर्सिदेखि बन्द हुनेछ। र टीकापछि खुला हुनेछ,' उनले भने।

बानेश्वरस्थित बेकरी क्याफेले अष्टमीदेखि एकादशीसम्म आफ्नो सेवा बन्द गर्ने जनाएको छ। एकादशीपछि आफ्नो सेवा पुनः सुरु गर्ने तयारी रहेको रेष्टुरेन्टले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell