PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दुर्गमका किशोरीको सपनामा मीरा राईको रफ्तार : 'अयोग्य लडाकु'को अलग कथा



विधुर ढकाल

दुर्गमका किशोरीको सपनामा मीरा राईको रफ्तार : 'अयोग्य लडाकु'को अलग कथा

काठमाडौं : ‘यसपाली दशैँ धुमधाम मनाउने रहर थियो। साता अघिमात्र अंकल खस्नुभयो,’ हामीले माकलवारी भेट्दा मीरा राई समान प्याक गर्दै थिइन्, ‘भोलि झापा जान्छु। टीका नभए पनि परिवारसँग भेट गर्छु। आफन्तसँग भेटघाट गरेर टीकाकै भोलिपल्ट फर्किन्छु।’

यसपाली मीरा भोजपुर सानो दुङ्मा पुग्न भने पाउने छैनन् बा-आमालाई भेट्न। टीकाकै भोलिपल्ट उनी अफ्रिकाका लागि निस्किने छिन्। गन्तव्य हुनेछ किलिमन्जारो। दक्षिण अफ्रिकाकै सबैभन्दा अग्लो हिमाल र विश्वकै अग्लो ‘फ्रि स्टान्डिङ माउन्टेन’। अन्य हिमालहरु पर्वत श्रृङखलामा छन्। तर, एक्लै उभिएको छ किलिमन्जारो।

विश्वका अन्य तीन 'ट्राइल रनर'सँगै अन्य विदेशी साथीहरुसँग तान्जिनियाको यो ‘ज्वालामुखी निर्मित’ हिमाल ट्रेकका लागि जाँदैछन्।

कोभिड-१९ को महामारीका कारण पर्यटन क्षेत्रमा परेको मारलाई यस्तो यात्राले घटाउने अपेक्षा छ।

आफैँलाई प्रमाणित गर्ने प्रयास जारी छ

एउटा कोठाभरी मेडल र प्रमाणपत्र सजाएर राखेकी छिन्। कति मेडेल र प्रमाणपत्र कार्टुनमा प्याक भएर थन्किएका पनि । लस्कर मिलाएर राखिएका मेडल र प्रमाणपत्रको सुरुमै देखिन्छ वेस्टक्लिफ युनिभर्सिटी क्यालिफोर्नियाले मार्नाथ विद्यावारिधी प्रदान गरेको सर्टिफिकेट ।

‘यो त मैले केही योगदान गरेँ भनेर सम्मानमा दिएको हो। पढेर पाएको होइन्,’ एसएलसी पास गरेकी मीराले भनिन्, ‘अझ केही गर्नुछ। नेपाल चिनाउनु छ। अझै आफैलाई केही गर्न सक्छु भनेर प्रमाणित गर्नुपर्ने छ।’

दुई दर्जनभन्दा बढी रेसहरु जितेकी मीरा अहिले सालोमोन ट्रेल रनिङ टिमबाट विभिन्न प्रतियोगितामा भाग लिइरहेकी छिन्। सालोमोन आउटडोर स्पोर्टस् इक्युपमेन्ट उत्पादन गर्ने ब्रान्ड हो।

२०१४ को हिमालयन आउटडोर फेस्टिवल ५० किलोमिटर ट्रेल जितेर सुरु भएको उनको यो यात्रा अहिले विश्वका अधिकांश कठिन ट्रेल रनिङमा जित हात पार्दै अगाडि बढिरहेको छ। २०१७ मा बेन नेभिस अल्ट्रामा पहिलो हुँदै नयाँ रेकर्ड बनाएकी उनले २०१६ मा मोन्ट ब्लान्क ८० किमीमा पनि नयाँ कीर्तिमानी राखिन्।

यिनै उपाधीसँगै मीरा राईलाई ट्रेल रनर, अल्ट्रा धावक- अझ त्यो भन्दा पुरानो परिचय ‘अयोग्य लडाकु’ भनेर चिनिएला। एकपछि अर्को परिचय बनाउँदै गएकी राई यतिबेला ‘आफू जस्ता’ किशोरीको भविष्य कोर्न पनि तल्लिन छिन्।

‘हिजो मैले विना कुनै प्रशिक्षण यो अवस्थामा पुगेँ भने हाम्रा बहिनीहरुले त्‍यस भन्दा राम्रो प्रगति गर्न सक्छन्,’ उनले भनिन्, ‘ती बहिनीहरुका लागि केही गरौँ भनेर लागेकी छु।’

मीरा राई इनिसिएटिभ (एमआरआई) मार्फत् उनी अहिले नेपालका दुरदराजका किशोरीहरुलाई ट्रेल रनरको रुपमा स्थापित गराउने अभियानमा छिन्। अक्टोबर ५ मा मात्र एमआरआई बाट ६ जना किशोरी दीक्षित भएका छन्।

नौ महिनासम्म यी ६ किशोरीलाई एमआरआईले आफ्नै खर्चमा काठमाडौंमा खाने बस्नेदेखि ‘ट्रेल रनर’ प्रशिक्षण, कम्युटर तथा भाषा कक्षाहरु सञ्चालन गर्‍यो। यसपालीको ब्याच तेस्रो हो।

यसअघिका दुई ब्याचबाट १० जना ट्रेल रनर उत्पादन भइसकेका छन्। अघिल्ला दुई ब्याचलाई एमआरआईले प्रशिक्षण मात्र दिएको थियो। खाना र बस्नका लागि लगानी प्रशिक्षार्थी आफैले गरेका थिए।

‘हामीले यसअघि उहाँहरुलाई आवासको व्यवस्था गर्न सकेका थिएनौं। गाउँबाट आउने बहिनीहरुलाई बस्ने र खानको समस्या भयो। यसले तालिममा पनि समस्या देखियो,’ उनले भनिन्, ‘त्यसैले यस वर्ष देखि हामीले घर भाडामा लिएर सामुहिक आवास सञ्चालन गर्‍यौँ।’ 

एमआरआईले चौथो ब्याच अर्थान् २०२१/२०२२ का लागि आवेदन खुला गर्ने तयारी गरिरहेको उन सुनाइन्।

अरुलाई योग्य बनाउने दौडमा अनवरत उनलाई भने अझै पनि ‘अयोग्य लडाकु’को विल्लाले पछ्याइरहेको छ। बृहत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा जनमुक्ति सेनामा सक्रिय चार हजार ८ जना बाल लडाकुका नाममा अयोग्य घोषित भएर बहिर्गमनमा परेका थिए। तिनैमध्येकी एक राईले भने आफूलाई खेलुकद मार्फत् स्थापित गर्दै लगिन्।

'जनयुद्धमा लागेका युवाहरुले अहिले आफ्नो क्षेत्रमा प्रगति गरिरहेका छन्। मीरा राईले विश्वमा नेपालको नाम चिनाउँदा गर्व लाग्छ,’ २०७५ सालमा एक कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘अरु युवाहरु पनि विभिन्न क्षेत्रमा प्रगति गरिरहेका छन्। यसले जनयुद्धमा केही क्षमता नभएकाहरु सहभागी थिएनन् भन्न कुरा प्रमाणित गरेको छ। तर, पनि जनवादी क्षमता भएकाहरु थिए भनेर पटक पटक प्रमाणित गर्नुपर्ने हुन्छ।'

मीरा अहिले पनि आफूलाई प्रमाणित गर्ने प्रयास जारी रहेको बताउँछिन्।

‘ट्रेल रनिङ बास्तवमै नेपालीको खेल हो। हाम्रा चेलीहरु डाँडाकाँडा घाँस दाउरा गर्दा यो खेल खेलिरहेका छन्,’ उनले भनिन्, ‘पानी पँधेरो जाँदा दौडिरहेका छन्। तर, उनीहरुलाई थाहा छैन यो पनि खेल हो भनेर। म यसलाई खेलको रुपमा स्थापित गर्ने प्रयास गरिरहेको छु। त्यसैले मैले बहिनीहरुलाई मभन्दा अब्बल बनाउन चाहन्छु।’

बहिर्गमनपछि विदेशिने मुडमा लागेको ब्रेक...

मीरा पाँच भाइबहिनी मध्येकी जेठी छोरी। २०४५ पुस १७ गते भोजपुरको विकट गाउँमा जन्मिएकी उनी कतिबेला माओवादी बनिन् उनैलाई पत्तै भएन। उनी ८ कक्षामा पढ्दा पढ्दै माओवादीको पूर्णकालीन कार्यकर्ता भएको बताउँछिन्।

‘ठ्याक्कै यही साल भन्न सक्दिन तर, ८ कक्षा पढ्दै थिएँ। पढ्दापढ्दै पार्टीमा लागेँ,’ उनले सम्झिइन्, ‘घरकी जेठी छोरी परिवारको पनि जिम्मेवारी थियो। भाइबहिनीको पढाइको लागि पनि सहयोग होला भनेर माओवादीमा लागेँ।’

माओवादीले सहभागिता र नेतृत्व विकासमा महिलाहरुलाई अगाडि ल्याउने योजना देखेर उनी पार्टीतिर खिचिइन्। युद्धका मोर्चाहरुमा प्रत्यक्ष सहभागी नभए पनि उनी युद्धका मोर्चाहरुमा हुने लडाइका लागि सहयोगी भूमिकामा थिइन्।  

त्यो माओवादी र यो माओवादीमा भिन्नता पक्कै छ। तर, उनी त्यतातिर ध्यान दिन चाहन्नन्। ‘सबैका आफ्ना आफ्ना कुरा होलान्। तर, देशलाई पोजेटिभ पोलिटिक्सको चाहिएको छ,’ उनले भनिन्, ‘मैले मेरो ठाउँबाट योगदान दिँदै छु। उहाँहरु(नेता)ले आफ्नो ठाउँबाट योगदान दिनुपर्‍यो।’

‘सबै कुरामा फिट’ हुँदाहुँदै अयोग्य भन्दै बाहिरिनपर्दा नमज्जा त पक्कै लागेको थियो मीरालाई तर, उनलाई यहाँ आइपुग्ने एउटा खुड्किलो पनि त्यही बन्यो। बृहत शान्ति सम्झौतापछि सिन्धुलीको क्यान्टोनमेन्टमा बसेकी उनी पाँचौँ र छैठौँ राष्ट्रिय खेलकुदमा पीएलए स्पोर्टस् क्लबबाट सहभागी पनि भइन्।

त्यहीबाट एसएलसी पास गरिन्। शिविरमा हुँदै कराँते सिकिन। शिविरबाट बाहिरिनु परेसँगै आर्थिक संकटलाई टार्न उनी विदेश जाने भन्दै काठमाडौं झरिन्।

 पूर्व माओवादी छापामार मीरा वैदेशिक रोजगारीमा मलेसिया जान २०७० सालको मंसिरमा काठमाडौं आएकी थिइन् । उनलाई बालाजु डोजाङका प्रशिक्षक ध्रुबविक्रम मल्लले रोके। ‘एक वर्ष यहीँ बसेर खेल। मेडल जित्न नसके त्यसपछि जानु,’ मल्लले भनेको सम्झिन्छिन् मीरा। यदि मल्लले त्यसो भनेका हुन्थेनन् भने मीरा अहिले पनि खाडीमा पसिना चुहाइरहेकी हुन्थिन्, सायद।

त्यहीँ रहँदा उनले हिमालय आउटडोर फेस्टिबलमा ५० किलोमिटर दौड पार गर्दै कराँतेबाट ट्रेल रनरको रुपमा आफूलाई सिफ्ट गरिन्। यो सफलताले उनलाई रिचर्ड बलसँग भेट गरायो। रिचर्ड ट्रेल रनिङ नेपालका संस्थापक। मीराको प्रस्तुती पछि उनले प्रश्न गरे- ‘डु यु वान्ट टु रन?’ मीराले जवाफ दिइन्-‘एस एस।’

त्यसपछि उनको यात्रा मुस्ताङ र मनास्लु हुँदै विदेशतिर पुग्यो। इटाली र हङकङसहित लगातार ६ रेस जितिन्। स्वदेशका पाँचै रेसमा पहिलो भएकी उनले विदेशमा सहभागी १३ मध्ये आठमा स्वर्ण जित्न सफल रहिन्। २०१७ मा एसियाली स्काई रनिङ च्याम्पियनसीप जितेकी उनले वैशाखमा भएको स्काइरनर वर्ल्ड सिरिज अन्तर्गत मोन्ट–ब्लान्क (फ्रान्स) रेसमा स्वर्ण जितिन्। अल्ट्रा रेसमा नेपालले पाएको यो नै सबभन्दा ठूलो सफलता थियो।

अहिले आएर उनले बुझेकी छिन् नेपाली गाउँठाउँमा जानीनजानी जे गरिएको छ, खेल त्यही रहेछ। मात्र, यो खेल हो भन्ने थाहा नपाइएको। ‘यो हो नि हाम्रो खेल। यसलाई प्रवर्द्धन गर्न सहयोग गर्नपर्‍यो। मैले आफ्नो ठाउँबाट गर्दै छु। तपाईँ आफ्नो ठाउँबाट गर्नुस्,’ उनले सुनाइन्।

मीरा राईलाई अहिले जसरी चिनिन्छ त्यसका पछाडि धेरै जानाको हात रहेको स्वीकार्छिन् उनी। ‘तिनै सहयोगी हातहरु अहिले एमआरआई मार्फत् बहिनीहरुको लागि सहयोग गरिरहनु भएको छ,’ उनले भनिन्।

नेपालले गोल्ड मेडल ल्याउने एउटै मात्र खेल

ट्रेल रनिङ अहिलेसम्म ओलम्पिकमा समावेश छैन। ‘यदि समावेश भयो भने नेपालले स्वर्णपदक जित्ने यो नै एउटा खेल बन्नेछ,’ उनले विश्वासी सुनिन्छिन्, ‘माउन्टेन बाइक, माउन्टेनियरिङ लगायतका खेल समावेश भइसकेको छ। यो पनि एक दिन समावेश हुनेछ भन्ने लाग्छ। त्यसमा मेरा बहिनीहरुले नेपाललाई स्वर्ण दिलाउनेछन्।’ उनकै प्रशिक्षणमा आएकी जुम्लाकी सुनमाया बूढा अहिले नर्थफेसको स्पोन्सरसिपमा हङकङको टिमबाट खेल्दै छिन्।

ट्रेल रनिङलाई नेपालीको खेल भन्न रुचाउने मीरालाई अहिलेसम्म सरकारले यस खेललाई सहयोग नगरेको गुनासो चाहिँ छ।

‘अहिलेसम्म सरकार, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले खासै सहयोग गरेको छैन,’ उनले भनिन्, ‘सम्मानका कार्यक्रममा बोलाउँछन्। एक-दुई पटक गएकी थिएँ। तर, यसको विकासका लागि सहयोग गरेका छैनन्।’

काठमाडौंको माकलवारीमा एउटा सिंगो घर भाडामा लिएर दुर्गमका किशोरीको सपना कोरिरहेकी मीरालाई सहयोग चाहिएको छ। आर्थिक जोहो गर्न एमआरआईले हस्तकला सहितका सामाग्री निर्माण गरी बेचिरहेको छ। त्यसबाट पनि सहयोग अलिअलि जुटेकै छ।

‘तपाईँको समाचार पढेर कोही सहयोगी आउनु पो हुन्छ कि? त्यस्तो भए त राम्रै हो। यी बहिनीहरुको सपना साकार हुन्थ्यो,’ नजिकै चित्र कोरिरहेकी धादिङकी रचना राना मगरतिर हेर्दै मीराले भनिन्।

रचनाले ‘मीरा राई’ अंकित चित्र कोर्दै थिइन्।

‘डेपुटी कमाण्डरसँग प्रस्ताव लैजानु भएको छैन? अहिले देशको अर्थतन्त्र उनले नै चलाइरहेका छन्,’ प्रश्न खस्न नपाउँदै उनी बोलिन् -  ‘ए हो त है, एउटै थालमा जुठो पो खाएका हौँ त। अब लैजानुपर्ला हेरम् दिइपो हाल्छन् कि?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell