PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

काठमाडौंको त्यो टोल जहाँ एकादशीको दिन मात्र लगाइन्छ टीका



पहिलोपोस्ट

काठमाडौंको त्यो टोल जहाँ एकादशीको दिन मात्र लगाइन्छ टीका

काठमाडौं : विजया दशमीका दिन नेपालीहरुले ठूलाबडाका हातबाट टीका र जमरा ग्रहण गरे। तर, देशभर टीकाको रौनक रहेपनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा बसोबास गर्दै आएका नेवार समुदायले भने विजयादशमीमा टीका लगाएनन्।

खासगरी असनकै रैथाने तुलाधर, शाक्य र बज्राचार्यहरुले विजयादशमीका दिन टीका नलगाएका हुन्। उनीहरुले आज एकादशीको दिन टीका लगाउँदैछन्। यसलाई उनीहरुले 'असं चालं'का रुपमा मनाउने गर्छन्।

असनका स्थानीयका अनुसार अन्नपूर्ण मन्दिरका पा:ला:, असं बहालका शाक्य, तक्ष बहालका ब्रजाचार्य र असनकै तुलाधरहरुले दशमीका दिन नभई एकादशीका दिन टीका लगाउँछन्। अन्नपूर्ण जात्रा एकादशीमा मनाउने भएकाले टीका पनि त्यही दिन लगाउने गरिएको बताइन्छ। असनमा दशमीका दिन टीका नलगाउनुका बारे विभिन्न कथनहरु रहेको छ।

स्थानीयका अनुसार असनवासी वा असनका तुलाधरहरुले मात्र टीका लगाएनन् भन्नेमा सत्यता छैन। बाहिरबाट असनमा आएर त्यतै बसोबास गर्ने तुलाधर, शाक्य बज्राचार्यका साथै नेवार समुदायका अरु मानिसहरुले भने दशमीका दिन नै टीका लगाउने गर्छन्।

किन एकादशीका दिन मात्र टीका?

सम्रात अशोकले भारत वर्षमा शासन गरिरहेका बेला उनी स्वनिगः अर्थात् काठमाडौं उपत्यकामा आए। उनका चेलाहरुले विभिन्न स्थानमा चिबहाः र चैत्यहरु बनाए। अशोकले यस स्थानमा ती चिबहाः र चैत्यहरु बनाएका कारण यस स्थानको नाम 'अशोकमण्डप' बन्न गयो। पछि अशोकमण्डपको नाम असन रहन गयो।

अशोकले यसलाई आफ्नो राज्य विस्तार गर्ने रणनीतिका रुपमा कदम चालेका थिए। तर जब उनले निग्रोथ भन्ने एक भिक्षुको शब्दहरु सुने, आफूले गल्ति गरिरहेकोमा पश्चताप गरे। राज्य विस्तारबाट मानिसहरुको मन मस्तिष्कमा बस्न सकिन्नँ भनेर उनले अशोकमण्डपमा विजया दशमीमा शस्त्र त्याग गरेको कथन रहेको छ।

कालान्तरमा शक्तिको उपासना गर्ने एक समुदायको वर्चश्व कायम हुँदै गर्दा उनीहरुले शक्ति प्राप्तिका लागि भारतमा दुर्गा र यहाँ तलेजु भवानीको उपासना गर्न बाध्य बनाए। उपासना गर्दा पञ्चमकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन )को आवश्यकता हुन्थ्यो। त्यस अनुसार वध गर्नु पर्थ्यो।

तर जब उनीहरुले विजया दशमीमा असनमा पनि वध गर्नुपर्ने बताए, तब अशोकका विचारकहरु मान्दै आएकाहरुले उनीहरुलाई रोके। अशोकले अस्त्र त्याग गरेको स्थानमा बलि दिन नहुने अडान लिए। सारा देशले गरेको,असनमा मात्र नमनाउने कुरा पनि त भएन। त्यसैले दुई पक्षबीच दशमीको भोलिपल्ट बलि दिने सहमति भयो। यसैसँगै असनमा टीका दशमीको भोली पल्ट असं चाल का रुपमा मनाउन गरिएको हो।

यस्तै, टीकाका दिन तुलाधरहरुले असनमा व्यापार गर्दै व्यस्त हुने भएकाले उनीहरुले दशमीको भोलिपल्ट टीका लगाउने मान्यता रहेको स्थानीयको कथन छ। टीकाका दिनहरु पनि मान्छेहरुलाई विभिन्न सामान चाहिने हुँदा उनीहरुलाई दुःख नहोस भनेर आफ्ना पूर्वजहरुले टीका एकदिन पछि मनाउन सुरु गरेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell