PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पढेको मेडिसिन, काम चाहिँ बैंकतिर, रेटिङमा गर्दैछिन् लिड



भावना शर्मा

पढेको मेडिसिन, काम चाहिँ बैंकतिर, रेटिङमा गर्दैछिन् लिड

वर्षा श्रेष्ठ, मेडिकल स्टुडेन्ट। आइओएमबाट हेल्थ असिस्टेन्टको कोर्स सकेर प्रसूति गृहमा काम गर्दागर्दै उनले बैंकिङ करियर थालिन्। सन् १९८४ मा नेपाल अरब बैंक सुरु भयो त्यसबेला नै उनले बैंकिङ सेवामा इन्ट्री गरेकी थिइन्। तर यो सबै संयोग थियो। योजना बनाएर उनी बैंकमा पुगेकी भने थिइनन्।

सानैदेखि पढाइ राम्रो गर्दै गएकी वर्षाले सेन्ट मेरिजबाट सिनियर क्याम्ब्रिजको पढाइ सकेपछि इन्स्टिच्यूट अफ मेडिसिनबाट एचए पास गरिन्। प्रसूति गृहमा काम गर्दैगर्दै उनलाई के महसुस भयो भने उनी अरुको पीडा र दुःख सहन नसक्ने। इमर्जेन्सीमा आएका गर्भवती महिलाहरुको छटपटीले उनलाई पोल्थ्यो। मेडिकल फिल्ड त रोजिन् तर त्यहाँको काममा उनी रमाउन सकिरहेकी थिइनन्। आफ्नो कामलाई न्याय गर्नु उनको दैनिकी त थियो तर त्यो दैनिकीमा बिरामीका दुःख र चित्कार थिए, जसले वर्षालाई खुसी बनाउन सकेन।

एकदिन गफैगफमा साथीले वर्षालाई नेपाल अरब बैंक खुल्न लागेकोले आवेदन दिन सुझाइन्। वर्षाले पनि के रहेछ बुझौं न त भनेर बैंक पुगिन्। त्यहाँ उनको अन्तर्वार्ता लिइयो। सन् १९८३ को अन्त्यतिर तीन महिना अमेरिकामा बिताएर फर्केकी वर्षालाई कस्टमर सर्भिसबारे धेरै जानकारी थियो। उनले अमेरिकामा ग्राहकलाई गरिने व्यवहारको प्रत्यक्ष अनुभव गरेकी थिइन्।

बैंकले लिएको अन्तर्वार्तामा उनको कन्फिडेन्सबाट सबै प्रभावित भए। अझ लिखित जाँचमा त उनको सबैभन्दा बढी स्कोर आएछ। प्रसूति गृहमा बिहान ८ देखि २ बजे वा दिउँसो २ देखि राती ८ बजेसम्मको सिफ्ट थियो। त्यही बीचमा उनले बैंकले दिएको तालिम पनि लिइन्।

जब सन् १९८४ मा विधिवत रूपमा नेपाल अरब बैंकले काम थाल्यो, वर्षाले प्रसूति गृहको काम छोडिन् र बैंक ज्वाइन गरिन्। अन्तत: उनको बाटो सधैंका लागि वित्तीय क्षेत्रतिर मोडियो। साढे २४ वर्ष नबिलमा बिभिन्न विभागहरु लिड गर्दै बिताएकी वर्षा निजी बैंकको पहिलो महिला जीएमका रूपमा सन् २००८ मा क्लिन इनर्जी बैंक छिरिन्। क्लिन इनर्जी बैंक एनएमबी बैकसँगको मर्जपछि सन् २०१५ मा उनी त्यहाँबाट बाहिरिइन्।। ३० वर्ष लामो बैंकिङ करियरबाट बिदा लिएपछि बिगत तीन वर्षदेखि भने उनले बिजनेस हेडका रूपमा रेटिङ एजेन्सी इक्रा नेपाललाई लिड गरिरहेकी छन्।

***

उनले नबिल बैंकमा टेलरबाट काम सुरु गरिन्। अमेरिकामा पाएको एक्सपोजरका कारण ग्राहकलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने उनले यहाँ प्राक्टिसमा ल्याउन सकिन् जसका कारण उनी बैंकमा पपुलर पनि बनिन्। उनको ६ महिनामै प्रमोसन भयो। सुरुदेखि नै उनी मार्केटिङमा पोख्त थिइन्। नबिलसँग ६० देखि ८० प्रतिशत एम्बेसीहरु जोडिएका थिए जुन उनैले डिल गर्थिन्। पढेको मेडिसिन तर काम बैंकको।

वर्षाले पाइला पाइलामा आफूलाई प्रमाणित गर्दै लगिन्। मानिसले सधैंभर सिकिरहनुपर्छ भन्ने वर्षाले रातको १२, १ बजेसम्म पनि बैंकिक क्षेत्रसँग सम्बन्धित किताबहरु पढ्ने गर्थिन्। आजसम्म पनि सिकाइको त्यो रहर नसकिएको वर्षा सुनाउँछिन्। उनलाई त अब रिटायर्ड हुने समय भयो भनेर सोच्न समेत मन पर्दैन रहेछ। उनी भन्छिन्-'जहिलेसम्म सकिन्छ लगनशील भएर काममा लागिरहने हो। सक्रिय र साधारण जीवन बिताइरहने हो। म त जीवनको अन्तिम क्षणसम्म पनि मानिसले सिकिरहनुपर्छ भन्ने मान्यता राख्छु।'

नबिलमा साढे २३ वर्ष बिभिन्न विभागहरु लिड गर्दै अघि बढेकी वर्षालाई क्लिन इनर्जी बैंकले जनरल म्यानेजर अफर गर्यो। सन् २००८ मा उनले निजी बैंकतर्फ पहिलो महिला जीएम बन्न अवसर पाइन्। त्यसबेला उनलाई आफ्नो आमाले भनेको वाक्य अझै पनि सम्झना रहेछ। हर्षले बिभोर हुँदै आमाले वर्षालाई भनेकी रहिछन्-'कुन साइतमा मेरो यो छोरी जन्मिएछ। यति धेरै खुशी दियो हामीलाई।'

हाइड्रोका रिसोर्सेसहरु डेभलप हुन नसकेको समय। क्लिन इनर्जी बैंक त्यस क्षेत्रमा काम गर्नका लागि त्यो राम्रो प्लाटफर्म हो जस्तो लाग्यो वर्षालाई। ऊर्जासँग सम्बन्धित काममा सपोर्ट गर्ने भन्ने बैंकको उद्देश्य थियो, त्यो सेक्टरमा काम गर्ने वर्षाको रुचि पनि मिल्यो। सन् २००८ मा उनले जीएमका रूपमा क्लिन इनर्जी बैंक ज्वाइन गरिन्। सिकाइको त्यो अर्को थलो थियो । त्यहाँ गएपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, दातृ निकायहरु, बिभिन्न दूतावासलगायत विविध क्षेत्रका मानिसहरु र संस्थाहरुसँग काम सुरु भयो। डच डेभलपमेन्ट बैंक एफएमओसँग पनि ज्वाइन्ट भेन्चरमा काम भएकाले उनले अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीबारे पनि धेरै सिक्ने मौका पाइन्।

यसै क्रममा राष्ट्र बैंक र अन्य विकास बैंकहरुसँग पनि वर्षाले सम्बन्ध बढाइन्। क्लिन इनर्जी बैंकको काम आफूलाई मन परेको र त्यहीँबाट एक्सपोजर पनि धेरै पाएको उनको अनुभव छ। सन् २०१५ मा एनएमबि बैंकसँग क्लिन इनर्जी बैंक मर्ज भएपछि नै उनले बैंकिङ करियरको तीन दशकको यात्रा टुंग्याइन्।

इक्रा नेपालकी बिजनेस हेड वर्षा भन्छिन्-'म सधैं भ्यालुमा विश्वास गर्ने मान्छे। काममा पनि भ्यालुलाई नै महत्वपूर्ण मान्छु। जसरी अघि बढेर यहाँसम्म आइपुगें मैले आफ्नो मूल्य मान्यतामा कतै सम्झौता गरिन। मन्त्री भइसकेको मान्छे मेरो बुवा निकै साधारण र विनम्र हुनुहुन्थ्यो। आमा पनि सानैदेखि हामीलाई ज्ञानी हुनुपर्छ। अरुलाई दुःख दिन हुँदैन सकेको सहयोग गर्नुपर्छ भन्ने। मनलाई राम्रो बनाउनुपर्छ भन्ने। सानैदेखि म त्यही संस्कारमा हुर्किँएँ र काममा पनि सधैं विनम्रता र संस्कारलाई नै प्राथमिकतामा राखें।'

***

मन्त्री होमबहादुर श्रेष्ठकी छोरी वर्षा इनरुवामा जन्मिइन्। घरमा काम गर्नेहरुको कमी थिएन। उनी पढ्नका लागि काठमाडौं आइपुगिन्। सेन्ट मेरिजबाट पढाइ सकेलगत्तै एचए अनि जागिर । घरेलु बन्ने मौका नै मिलेको थिएन उनलाई। बैंकमा ज्वाइन गरेको अर्को वर्ष उनको बिहे भयो। त्यसको अर्को साल छोरी जन्मिइन्। दुई वर्षको फरकमा छोरा जन्मिए। २० जनाको संयुक्त परिवार दुई बच्चा अनि बैंकको जागिर। अब भने जागिर छोड्नैपर्छ भन्ने लाग्यो वर्षालाई। बच्चाहरु हुर्काउन समय दिन नसक्दा असाध्यै ग्लानी हुने। फेरि संयुक्त परिवारमा आफूले जिम्मेवारी बहन नगरेजस्तो देखिने। एकदिन श्रीमानलाई भनिन् अब म जागिर छोड्छु र घरमै बसेर बच्चा हुर्काउँछु।

श्रीमानले धम्कीको भाषामा पूर्ण साथ दिए। उनले भनिदिए-'जागिर छोड्ने हो भने मलाई पनि छोडे हुन्छ।' जसको अर्थ थियो हामी सपोर्ट गर्छौं तिमी जागिर नछोड। अब भने वर्षालाई ढुक्क भयो। मनमा जुन बोझ थियो त्यो पनि हट्यो। बच्चा स्कुल जाने नहोउन्जेल सासुससुराले बच्चालाई हुर्काउन पूरा साथ दिए वर्षाले करियरमा १००% दिन पाइन्।

व्यापारी श्रीमानले जागिरका लागि खोलिदिएको बाटो र प्रोत्साहन अनि सासुससुराको साथले उनको करियर उँभो लाग्दै गयो। घरमा पनि उनले बिहानी भान्छाको जिम्मा लिइन्। बेलुकी त घर फर्कने टुंगो पनि हुँदैनथ्यो। पुरानो दिन सम्झिँदा आज उनलाई लाग्छ जब म काम गर्न नसक्ने छु भन्ने सोच आउँछ तब मात्र गाह्रो हुने रहेछ। काम गर्न सक्छु भन्दा सहज समय नभएपनि सबैको साथले म्यानेज हुने रहेछ।

हाल उनी इक्रा बाहेक बिभिन्न सामाजिक संस्थामा पनि आबद्ध छिन्। उनी सीएनआईको नेसनल काउन्सिल मेम्बर छिन्। यस्तै आइआइडिएसमा काउन्सिल मेम्बर छिन् । कर्णाली कन्जर्भेसन डेभलपमेन्ट फण्डमा पनि संलग्न छिन्। कतै केही सिक्यो कतै केही सिकायो। समय यसरी नै चलिरहेछ। छोरा पढाइ सकेर अमेरिकामा सेटल भए। छोरी पनि आफ्नो करियर बनाइसकिन्। कुनै बेला २० जनाको भान्छा सम्हालेकी वर्षाको भान्छा अब तीन जनामा मात्र खुम्चिएको छ। हरेक परिस्थितीलाई शान्त स्वभावले सम्हाल्ने स्वभावकी वर्षा आफूलाई साधारण तर कर्मशील व्यक्तिका रूपमा चिनाउन चाहन्छिन्।

'म सधैं नयाँ काम सिक्ने कुरामा एक्साइटेड हुन्छु। मलाई मानिसहरुसँग डिल गर्न असाध्यै मन पर्छ। मैले ३० वर्ष लगाएर सिकेको कुरा अरुलाई सिकाउन पाउँदा पनि म असाध्यै खुशी हुन्छु किनभने जति समय लगाएर मैले सिक्नु पर्यो, नयाँ पुस्ताले त्यति पर्खनु नपरोस् जस्तो मलाई लाग्छ।'- व्यक्तिले आफू मात्र बन्न चाह्यो भने एउटा व्यक्तिको मात्र ग्रोथ हुन्छ तर सबैलाई समेटेर अघि बढ्यो भन्ने सम्पूर्ण टिम र संस्थाको विकास हुन्छ भन्ने सिद्धान्तलाई सधैं आफूले अनुसरण गरेको वर्षा बताउँछिन्।

***

नेपालमा रेटिङ एजेन्सीको अवधारणा नयाँ हो। सन् २०१२ मा सुरुवात भएको इक्रा रेटिङमा मुडिज् इन्भेष्टर सर्भिसेसकै मापदण्डअनुसार काम हुने गर्छ। सन् २०१८ मा जतिबेला वर्षाले इक्रा नेपाल ज्वाइन गरेकी थिइन्, त्यो समयसम्म रेटिङको अवधारणा व्यापक भइसकेको थिएन। तत्कालिन सीइओ तुलसी गौतम सेन्चुरी बैंक गएपछि इक्राको नेतृत्व खाली रहेछ।

उनलाई कम्पनी लिड गर्ने अफर गरियो। तर त्यसबेलासम्म वर्षा आफैंले रेटिङ एजेन्सीबारे धेरै बुझेकी थिइनन् रे। तर जब उनले इक्रा ज्वाइन गरिन् त्यही वर्ष मौद्रिक नीतिमै ५० करोड भन्दामाथिको ऋणको रेटिङ गराउनुपर्ने उल्लेख भयो। त्यसपछि कम्पनीको काम पनि रफ्तारमा अघि बढ्यो। हेर्दाहेर्दै तीन वर्षमा धेरै कुरा बदलिइसकेको छ। अब त अर्बौंका ऋणको रेटिङ हुन थालेको छ। हाइड्रो होटल कलेज ठूला ठूला परियोजनाहरुको रेटिङ गर्नुपर्ने भएको छ।

'म आउनासाथ काम रफ्तारमा यति अघि बढ्यो कि केही सोच्नै भ्याइएन। मेरो धेरैतिर नेटवर्किङ र कन्ट्याक सधैं नै थियो। नेटवर्कलाई प्रायोरिटीमै राख्ने बानीले मलाई सफल बनायो। सबै कुराले जीवनलाई सपोर्ट गर्दै आयो। यहाँ पनि ठूला व्यवसायीहरुसँग डिल गर्न उहाँहरुसँग काम गर्न सजिलो भयो। हाम्रो सफलता नै भन्नुपर्छ गत वर्ष हामीले २०१ प्रतिशत लाभांश सेयरहोल्डरलाई रिटर्न गर्यो।'- वर्षाले खुशी बाँडिन्।

कम्पनीमा इक्रा नेपालको ५१ प्रतिशत र सीआईबीको ५ प्रतिशत तथा बाँकी सेयर नेपालका पाँचवटा कमर्सियल बैंकहरुको रहेको वर्षाले जानकारी दिइन्।

इक्राले कसरी काम गर्छ ?
'बैंकले लगानी गर्ने भनेको पब्लिकको पैसा हो। त्यो पैसा कहाँ कस्तो ठाउँमा लगानी गर्ने भन्ने कुरा सबैले बुझ्न पर्छ। रेटिङले त्यो बुझाउँछ। कस्टमरसँग ऋण तिर्ने क्षमता छ छैन भनेर पनि रेटिङले हेर्छ।

त्यसको स्ट्रेन्थ र इम्प्रुभ गर्ने कुरा के के छन् सबै एनालिसिस गरिन्छ। कुनै पनि कम्पनीको ग्रेडिङ गर्दा त्यो संस्थामा लगानी गर्नु उपयुक्त छ वा छैन भनेर सम्पूर्ण पक्षको अध्ययन गरी रेटिङ गर्ने काम हाम्रो हो। फण्ड म्यानेजमेन्ट, फ्युचर प्लान, मार्केटमा कसरी सस्टेन गर्छ सबै कुराको एक्सटेन्सिभ एनालिसिस हुन्छ। पुरानो ब्याकग्राउण्डदेखि सबै अध्ययन हुन्छ। यसका लागि हामीले सीए र रिसर्चमा मास्टर्स गरेका जनशक्तिले काम गर्नुहुन्छ। त्यसपछि रेटिङ कमिटीका ८ जना विज्ञहरुले बाहिरबाट अध्ययन गरेर प्रतिवेदन पेश गरेपछि मात्र हामीले रेटिङ दिने गर्छौं।'- उनले इक्राको कामबारे व्याख्या गरिन्।

वर्षाको अनुभवमा नेपालमा रेटिङ सुरु भएपनि यो सिस्टम नयाँ भएकाले ग्राहकहरु र बैंकहरुसँग अझै बढी अन्तरक्रिया र समन्वयको आवश्यकता पर्छ। रेटिङ त सुरु भयो तर प्रणालीगत रूपमा विकास भइसकेको छैन। यसले गर्दा सरोकारवाला पक्षले एकअर्काबीच सहकार्य गर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्।

'रेटिङ नभई ऋण पाइँदैन। बैंकले ऋणको लागि रेटिङ गरेर आउनुस् भनेर यहाँ पठाउँछ। यहाँ आएपछि ग्राहकहरु हामीले मागेको सूचना दिने गाह्रो मानिरहेको अवस्था पनि छ। वहाँहरु आएर बीचमै हराइदिनुहुन्छ। अझ हरेक वर्ष रेटिङ गर्नुपर्छ हामीले सर्भिलेन्स गर्नुपर्छ। तर यो सबै बुझाउन हाम्रोलागि अझै पनि चुनौतीपूर्ण नै छ। त्यसैले बैंक रेटिङ कम्पनी र ग्राहकहरुबीच तालमेल हुन जरुरी हुन्छ।'- अझै पनि यो समन्वय नभइसकेकाले रेटिङबारे बुझाउन अझै केही वर्ष लाग्न सक्ने अनुमान वर्षा गर्छिन्।

हामीले सुरुवातको समयमा काम गरिरहेका छौं। कति कुराहरु त हामीले यहाँ सिस्टम बनाउनै पर्नेछ। ग्राहकहरुसँग सूचना र अन्तरक्रिया गरेर दुविधाहरुलाई हटाउनुपर्ने र व्यवहारिक समस्याहरु समाधान गर्दै लैजानुपर्नेछ। उनले भनिन् –'मलाई सधैं आफ्नो लागि मात्र भन्दा पनि समग्र संस्थाकै लागि पर्फर्म गरौं जस्तो लाग्थ्यो। मेरो स्वभाव नै त्यस्तै छ। यहाँपनि जिम्मेवारीलाई सिन्सियरली पूरा गर्नेबाहेक मेरो त्यस्तो कुनै सपना छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell