PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साफले 'नियम विपरीत' अलमुताइरीलाई फाइनल खेलमा निलम्बन गरेको आरोप, भने : साफ नेपाल फाइनल पुगेकोप्रति खुशी देखिएन



पहिलोपोस्ट

साफले 'नियम विपरीत' अलमुताइरीलाई फाइनल खेलमा निलम्बन गरेको आरोप, भने : साफ नेपाल फाइनल पुगेकोप्रति खुशी देखिएन

काठमाडौं : दक्षिण एसियाली फुटबल फेडरेसनले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई निलम्बन गरेको छ।

साफले अलमुताइरीलाई आज नेपाल र भारत बिच हुने फाइनल खेलका लागि प्रतिबन्ध लगाएको हो।

अलमुताइरीले भने आफूलाई साफले नियतवश निलम्बन गरेको प्रतिक्रिया दिएका छन्। साफले नियम विपरीत आफूलाई कारवाही गरेको उनले बताएका छन्।

'साफ नेपाल फाइनल पुगेकोप्रति खुशी देखिएन। उनीहरु नेपाल नजितोस् भन्ने चाहन्छन्। मैले महसुस गरेको त्यही हो,' उनले भनेका छन्।

साफको नियमावलीमा रातो कार्ड पाएको खेल अफिसियलले अर्को खेल गुमाउनुपर्ने उल्लेख छ। तर, अलमुताइरीले कुनै पनि रातो कार्ड पाएका थिएनन्। तर, साफले भने अलमुताइरीले श्रीलंका र बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएको भन्दै उनलाई कारवाही गरेको हो।

अलमुताइरीले भने साफको उक्त निर्णयको आलोचना गर्दै साफ नेपालप्रति सकारात्मक नभएको आरोप लगाएका छन्।

अलमुताइरीले साफको नियम देखाउँदै आफूलाई कारवाही गर्नमात्रै नियम परिवर्तन गरेको आरोप लगाएका छन्।

'मलाई सजायँ दिन उनीहरुले नियम परिवतर्न गरे। तर, उनीहरुले अब्दुल्लाहलाई सजाय दिएको होइन। नेपाली फुटबल  र एन्फालाई सजाय दिएको हो। यो कुन अनुचित छ? यो अन्याय हो,' उनले भनेका छन्, 'उनीहरुलाई म मनपर्दैन भने त्यो मेरो समस्या होइन। उनीहरुको समस्या हो।'

उनले साफले नेपाल र नेपाली राष्ट्रिय टोलीको सम्मान गर्नुपर्ने समेत बताएका छन्। 

साफले आफूलाई एसियाली फुटबल फेडेरेसनको नियम अन्तर्गत कारवाही गरेको पत्र पठाएको भन्दै त्यसमाथि पनि प्रश्न उठाएका छन्।

'विश्वमा हुने प्रतियोगितामा आ-आफ्नो नियम हुन्छ। यदि उनीहरुको नियम छैन भने जे गरे पनि हुन्छ। तर, साफको त आफ्नो नियम छ।नियम पालना नगर्ने भए किन नियम बनाएको? खेलाडीलाई लागू हुने नियम अफिसियललाई किन लगाएको? म सोध्न चाहन्छु। यो मैले बनाएको होइन। उनीहरुले बनाएको हो,' उनले प्रश्न गरेका छन्।  

आजको खेलमा भारतीय मुख्य प्रशिक्षक इगोर स्टिमाच उपस्थित हुन पाउने थिएनन्। किनभने उनले माल्दिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएका थिए। अलमुताइरीले भारतीय प्रशिक्षक मैदान बाहिर बस्नुपरेकाले आफूलाई पनि कारवाही गरेको भन्दै प्रश्न सोधेका छन्।

'नेपाली प्रशिक्षक मन नपरेर हो कि भारतीय कोच पनि बाहिर बस्न परेर हो, उनीहरुले किन नियम पालना गरेनन्? ' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell