पोखरा : २०६५ सालमा एसएलसी परीक्षा दिएर नर्सिङ तयारी कक्षा (ब्रिज कोर्स)का लागि पोखराको मार्गदर्शन एकेडेमीमा भर्ना भइन् कुञ्जनी परियार। आमाको सपना पूरा गर्न नर्स बन्ने धोको उनको। त्यही सपना पछ्याउँदै गर्दा ब्रिज कोर्सका लागि पुगेकी उनी रुँदै फर्किने स्थिति बन्यो।
भर्खर एसएलसी दिएर भविष्यको बाटोमा अलमलपूर्वक हिडिँरहेकालाई मार्ग दर्शन गराउँदै थिए शिक्षक। उनी पनि त्यहीँ क्रममा थिइन्। प्रकृया अगाडि बढाउन जन्मदर्ताको प्रमाणपत्र र नागरिकता चाहिने भयो जुन उनीसँग थिएन।
कुञ्जनीका लागि एकजना साथीले प्रश्न सोधे - ‘बा नभई आमामात्र भए के हुन्छ?’
‘बाबु नभई आमामात्र भएको बच्चा साथी हुनसक्छ। अभिभावक हुन सक्दैन। जन्मदर्ता र नागरिकता दिलाउन नसक्ने के अभिभावक?,’ ब्रिफिङ गरिरहेका शिक्षकले यसै भने। कुञ्जनीलाई विल्कुलै अपेक्षा थिएन शिक्षकबाट यस्तो उत्तर।
एकल आमाले दु:ख गरी हुर्काएको कुञ्जनीलाई १४ वर्षसम्म बुबाको कमी महसुस भएको थिएन। नागरिकता र जन्मदर्ताको प्रश्न आएपछि भने उनलाई थाहा भयो बुबाको अस्तित्वको अर्थ।
जन्म दिने आमा। हुर्काउने आमा। तर, आफ्नो परिचय चाहिने बेला चाहिने बुबा? दु:खैदु:खको पहाड पार गर्दै गरेकी कुञ्जनीका सामुन्ने थपिएको समस्या थियो नागरिकता। पछि त्यही नागरिकता बनाउन यति सकस भयो कि, अहिलेका गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले जमानी नै बस्नुपर्यो। उनले आफ्नै मुलुकको नागरिकमा आफ्नो नाम दर्ज गर्न कठिन थियो। तर, उनका लागि सविना दमाईको केस बलियो आधार बन्यो नागरिक बन्नका लागि। २०६३ सालमा दोलखाकी सविना दमाईले आमाको नामबाट नागरिकता पाउन सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले सबै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै आदेश दिएको थियो - आमाको नामबाट विना भेदभाव नागरिकता दिनू।
हो, यही मुद्दा थियो जसले उनलाई नगारिकता पाउन सहज बनायो।
+++
२०५२ सालमा लमजुङमा कुञ्जनी जन्मिइन्। बुबा पोखराको रेडियो नेपालमा अस्थायी कर्मचारी। श्रीमानले परिवारलाई समय नदिएपछि २०५४ सालमा कुञ्जनीकी आमा छोरी काख च्यापेर पोखरा झरिन्। ‘बा कहाँ जान्थे? के गर्थे? कसैलाई थाहै नहुने। लामो समयसम्म लापता!,’ उनले सुनाइन्।
कुञ्जनी हुर्कँदै थिइन्। आमाको पेटमा अर्को जिन्दगी हुर्किँदै थियो। पेट पाल्ने आधार नभएपछि डोकोमा तरकारी बजारसम्म पुर्याउँदै बेच्न लागिन् उनकी आमाले। बा कहिले आउँथे। कहिले जान्थे। उनी हुनु र नहुनेको कुनै अर्थ थिएन। कहिलेकाही एकान्तमा आमा एक्लै निचोरिएको देख्थिन् कुञ्जनीले।
आफू पढ्न नपाए पनि छोरीलाई पढाउने आमाको रहर। कुञ्जनीलाई किताबको चित्रले विद्यालयतिर तानिरहेको थियो। धर्मस्थली आधारभूत विद्यालयमा भर्ना भइन् कुञ्जनी।
‘किताबमा भएको चित्र देखेर विद्यालय जान मन लागेको तर त्यतिबेला ३ वर्षको बच्चालाई भर्ना लिन्थेनन्। म रोएर भर्ना पाएको थिएँ,’ कुञ्जनीले हाँस्दै सुनाइन्।
भाइ जन्मियो। सुत्केरी आमा काममा जान नसक्ने। काममा नगई चुल्हो नबल्ने।
भाइ जन्मिएको एक वर्षपछि मर्स्याङ्दी हाइड्रो पावरमा काम छ भनेर उनका बा हिँडे अनि फर्किएनन्। धेरै पछि खबर आयो- ‘बाले अर्कै ठाउँमा बिहे गरे!’
कुञ्जनी कक्षा चढ्दै गइन्। पढाइको खर्च पनि बढ्दै गयो। ६ कक्षामा पुगेपछि उनलाई चिल्ड्रेन नेपाल संस्थाले केही समयसम्म सहयोग गर्यो। ९ कक्षामा बाराही उच्च माविमा भर्ना भइन्। कुञ्जनीको जीवन नयाँ बिन्दुमा हिँड्दै थियो। बाल क्लबमा जोडिएर काम गर्न थालिन्।
+++
कुन्ञनीको जीवनको टर्निङ पोइन्ट
अभावबिच पनि जीवनको बाटोले गति लिइरहेको थियो। कुञ्जनीले घरको आर्थिक पाटो सबल बनाउन काम पनि गर्थिन्। १३ वर्षकै उमेरमा ६० जना विद्यार्थीलाई ट्युसन पढाएर मासिक दुई हजार कमाउँथिन्। उनको जीवनको पहिलो कमाई नै त्यहीँ थियो।
कुञ्जनीले पछि रेडियोमा पनि बाल कार्यक्रम चलाउन थालिन्, पोखराकै रेडियो छुनुमुनुमा। विभिन्न गैरसरकारी संस्थामा सक्रिय बनिरहेकी उनले भविष्यमा अधिवक्ता बन्छु भन्ने चाहिँ सोचेकै थिइनन्।
कामसँगै पढाई पनि अघि बढाइरहेकी कुञ्जनी संस्थाकै कामले एक कार्यक्रमका लागि कन्या क्याम्पस पुगेकी थिइन्। एकजना बाल अधिकृतले पृथ्वीनारायण क्याम्पस (पीएन)मा स्नातक तहमा (ब्याचलर) पाँच वर्षका लागि नयाँ कोर्स आएको सुनाए। उनले बुझ्दा बीए एलएलबीको कोर्स रहेछ। चिनेजानेकैले भनेपछि उनलाई पनि राम्रै होला लाग्यो। बुझ्न पीएन क्यापस पुगिन्।
सामाजिक संघसंस्थामा सक्रिय उनलाई बीए एलएलबी पढ्न पाए हुन्थ्यो जस्तो लाग्यो। तर, बिचमा घरको आर्थिक अवस्था तगारो बन्न पुग्यो। पढ्नका लागि लाग्ने २ लाख ३० हजार शुल्क कुन्ञ्जनीको लागि पहाडजस्तै थियो। शुल्क सुनेपछि उनले समाजशास्त्र विषयको अध्ययनलाई निरन्तरता दिने निर्णय गरिन्। र, बीए एलएलबीको प्रवेश परीक्षा दिन गइनन्। तर, उनलाई अनुपस्थित देखेपछि क्याम्पसका सहायक प्रमुखले उनको धर्मदाइलाई फोन गरे। सहायक क्याम्पस प्रमुख र धर्म दाइको करकापमा उनी इन्ट्रान्स परीक्षा दिन पुगिन्।
परीक्षा राम्रो भयो। अन्तर्वार्तामा पनि उनले राम्रो गरिन्। दिउँसो थियो कक्षा। घर चलाउन आधार अर्थात् जागिर पनि दिउँसै। छोड्न मिल्थेन।
‘मैले कक्षामा ८० प्रतिशत उपस्थित हुनसक्ने अवस्था नरहेको बताएँ। तर, सरहरुले कलेज आउनैपर्छ भन्नुभयो। मलाई त्यहीँ रुन आयो,’ उनले सुनाइन्, ‘यसरी नै पढ्न गएँ। मामाहरुले प्रथम वर्षमा सहयोग गर्नुभयो। म अन्तिम कक्षामा बस्न भ्याउँदिन् थिएँ।’ २०६८ सालमा कुन्ञ्जनीले पीएन क्याम्पसमा पाइला राखेकी थिइन् यसरी पढ्नका लागि।
+++
पढ्न थालेको दोस्रो वर्ष। शहरी आवास कार्यक्रम अन्तर्गत १० वर्षभन्दा बढी पोखरामा बसेकोलाई घर बनाउन ऋण दिने योजना आयो। कार्यक्रम अन्तर्गत उनकी आमाले घर बनाउन आँट गरिन्। घर बनाउन आँटेपछि उनलाई पढाइको खर्च जुटाउन गाह्रो भयो।
‘त्यो प्रोजेक्ट अन्तर्गत आमाले घर बनाउन भन्नुभा'थ्यो। पोखराको स्थानीय बासिन्दा बन्न खोज्दै थियौं। चार लाखको जग्गा र चार लाख लोन मिल्थ्यो। लोन तिर्नुपर्ने ६ हजार ५ सय थियो,’ उनले सुनाइन्।
यसै त आर्थिक अभाव। घर बनाउने भएपछि अवस्था झनै नाजुक। एकातिर ऋण, अर्कातिर क्याम्पसको शुल्क। पढाइ छोड्नुपर्ने अवस्था।
+++
समस्या पढाइमा मात्र थिएन। ‘जून आमाले आफ्नो खुट्टामा उभिनुपर्छ भनेर सिकाउनु भएको थियो उहाँले नै बिहे गर्नुपर्छ भन्न थाल्नुभयो,' उनले सुनाइन्, '१८ वर्षको मात्र थिएँ आमाले यूएसको केटा माग्न आएछ, बिहे गर्ने कुरा गर्नुभयो। मैले बिहे गर्दिनँ भनेर ४ दिन खाना खाइन।’
त्यतिखेर कुञ्जनीको अघिल्तिर दुई बाटा थिए। पहिलो, बिहे गरेर पराई घर जाने। दोस्रो, कठोर संघर्ष गर्ने।
कुञ्जनी दोबाटोमा थिइन्। पहिलो बाटो उनलाई जानु थिएन। दोस्रो बाटो हिँड्नु सकसपूर्ण थियो।
दोसाँधकै बिच उनले दोस्रो बाटो रोजिन्। रेडियो छुनुमुनुका अध्यक्ष दिलिपराज श्रेष्ठलाई भेट्न पुगिन्। उनीसामु समस्याको पोको खोलिन्। संयोग! जुन दिन कुञ्जनीले दिलिपराजसँग सहयोग मागिन्, त्यो दिन अन्तर्राष्ट्रिय बालदिवस रहेछ।
‘बालदिवसको अवसरमा तिमीलाई उपहार छ। म तिमीलाई दोस्रो वर्ष पढाउँछु,’ श्रेष्ठले सुनाए। पढाई अगाडि बढ्ने बाटोहरु यसरी खुल्दै गए।
+++
अहिले न्यायिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा सुनिरहने आफ्नो नामको केही श्रेय बाल क्लबलाई दिन्छिन् कुञ्जनी। बाल क्लबमा सक्रिय भएकै कारण सामाजिक र न्यायिक क्षेत्रमा जग बसेको ठान्छिन् उनी।
‘जे जति गरेँ, सिकेँ सुरुआतमा मैले बाल क्लबबाटै गरे। अहिलेको जग खन्ने काम बाल क्लबले गर्यो,’ उनले भनिन्।
नौ कक्षा पढ्दैगर्दा पहिलोचोटी काठमाडौं जाने मौका पाइन् उनले। युनिसेफको कार्यक्रमका लागि पहिलोपटक आकाशको उडान भरिन्। जिन्दगीको समेत उडान भरिरहेकी उनले ६४ सालमा गरेको त्यो हवाई यात्रा अहिले पनि सम्झिन्छिन्। यूनिसेफकै कार्यक्रमपछि हो कुञ्जनीलाई आफ्नो आवाजको महत्व थाहा भएको।
‘त्यतिबेला त्यहाँ गएर बोलेपछि ए म बोल्न सक्छु भन्ने भयो। मेरो आवाजले असर गर्दोरहेछ भन्ने लाग्यो। कतिपय स्थानमा विश्वास भएन। सक्छे र? भन्ने पर्थ्यो। मैले सकेँ,’ उनी आत्मविश्वासी सुनिइन्।
त्यसपछि त लगालग सफलताको उडान जारी रह्यो। युनिसेफले आयोजना गरेको एक कार्यक्रममा नेपालका लागि २ जना प्रतिनिधि छनौट भए जसमा उनी पनि परिन्। कार्यक्रम अमेरिकामा थियो। उनीसँग पासपोर्ट थिएन। १० दिनमा फ्लाइट थियो। आमाले २० हजार ऋण काढेर छोरीलाई बिदा गरिन्। पासपोर्ट बनाउन धाउँदा जम्मा १९ वर्षकी थिइन् उनी।
सामाजिक क्षेत्रमा सक्रिय रहँदै कुञ्जनीले पढाइ सकाइन्। बारको परीक्षामा ११ नम्बरमा उनको नाम निस्कियो। २०७४ सालमा संविधान दिवसकै दिन असोज ३ गते अधिवक्ताको लाइसेन्स हातमा लिइन्।
‘लाइसेन्स त लिएँ तर अब के गर्ने? कलेजकै सरले अवसर दिनुभयो। यत्तिकै न्याय कुञ्ज ल फर्म खोल्यौं, २०७५ को चैत अन्तिममा,’ उनले भनिन्।
अहिले कुञ्जनी न्यायको वकालत गर्ने ठाउँमा छिन्। करुणनिधि एजुकेसन फाउन्डेसन(केएफ) पोखराका ११ र १२ कक्षाका विद्यार्थीलाई कानुन पढाउँछिन्। एड्भोकेसी नेपालमा मानव अधिकार अधिवक्ताको रुपमा पनि आवद्धता छ उनको।
+++
उनलाई आफू परियार हो भन्ने त्यतिबेला मात्र थाहा भयो जब आठ कक्षामा पढ्दै गर्दा शिक्षकहरुले जातको कुरा उठाए। आमाले उनको नाम पछि कुञ्जनी 'प्यासी' थपिदिएकी थिइन्। सायद्, समाजको विभेदबाट बचाउनका लागि आमाले त्यसो गरेकी हुनुपर्छ। 'पहिलेबाटै मलाई घुलमिल हुन बोल्न असहज हुन्थ्यो। त्यसैले पनि मैले जातीय विभेद प्रत्यक्ष रुपमा खेप्नु परेन,’ उनले सुनाइन्।
त्यो बेला क्रिश्चियन परिवारको घरमा भाडामा बस्थ्यो उनको परिवार। घरधनीकै एक सदस्य लेक लागेर बितेका रहेछन्! घरधनी पनि हार्ट अट्याक भएर बिते। उनको परिवार माथिल्लो तलामा बस्थ्यो। जे जति भएका थिए त्यसको दोष उनको परिवारमाथि लाग्यो। ‘छिमेकीले यस्तो जातको मानिस राखेको भनेपछि उहाँहरुले कस्तो बहाना पारेर निकाल्नुभयो त्यो मलाई एकदम याद आउँछ,’ उनले सुनाइन्।
कुञ्जनीका मामाले नेवारसँग विवाह गरेका थिए।
‘म सानै थिएँ। माइजूको परिवार हाम्रो घरमा आएर थर्काउँथे। आमालाई जेल लैजान्छु भन्थे,' उनले भनिन्, 'यस्तो कुराले मलाई ठूलो भएसम्म नि असर गर्यो।’
चार वर्ष पुग्न लाग्यो कुञ्जनीले न्यायिक क्षेत्रमा काम गर्न थालेको। यस बिचमा उनलाई न्यायपालिका सबैको हुन नसकेको भान हुन्छ। जातीय मुद्दामा न्यायालय पनि गम्भीर बनिसकेको छैन।
+++
कुञ्जनीकी आमा अझै पनि डोकोमै तरकारी बेच्छिन्। बाध्यताले होइन। डोकोको तरकारी व्यापारसँग कुञ्जनीको अहिलेको उचाईं पनि जोडिएको छ। आमाले यसरी तरकारी बेच्दा कुञ्जनीलाई गर्व महसुस हुन्छ। भन्छिन्, ‘आमाको अविराम संघर्षकै फल, आज म यहाँसम्म आइपुगेँ।’