काठमाडौं : असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु भएको छ। दशैंको समयमा भएको दुर्घटनामा १७ गम्भीर घाइते भए भने ६ जना सामान्य घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन्। दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल छन्। ११ वटा मोटरसाइकल दुर्घटनामा पर्दा दुई वटा जीप, दुईवटा कार र एकएक वटा ट्रयाक्टर र बस पनि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ। साथै दशैंका समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात संचालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।
साना सवारी चालकले लापरवाही ढंगले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए।
'चाडपर्वको बेला सबैलाई समयमा गन्तव्यमा पुग्न हतार हुन्छ। सडकको खराब अवस्थाले पनि दुर्घटना निम्त्याउने गर्छ' उनले भने।
