काठमाडौंः सिभिल ग्रुप अध्यक्ष तथा सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङको यस पटकको दशैं प्रहरी हिरासतमा नै बितेको छ। सिभिल ग्रुप मातहतका २० भन्दा धेरै कम्पनीहरूका सञ्चालक तामाङलाई प्रहरीले असोज १९ गते ठगी गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो। उनी मात्र होइन, अन्य ११ जनालाई समेत पक्राउ परेका थिए।
पक्राउ पर्नेहरूमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायानानी महर्जन, जुनियर असिस्टेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक छन्।
त्यस्तै, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने पनि पक्राउ परेका हुन्।
सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ इच्छाराजका आफन्त हुन्। उनी नातामा मामा ससुरा पर्छन् तामाङको। उनीहरूले सिभिल क्रेडिट एन्ड सहकारी मार्फत् सयौँ निक्षेपकर्ता ठगी गरेको उजुरी परेको थियो। सुरुमा ७५ जनाले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि उजुरी आउने क्रम बढ्दै गएको थियो।
दैनिक ५० जना भन्दा बढी पीडित उजुरी लिएर पुग्ने गरेका थिए। दशैं बिदाभन्दा अगाडिसम्म ८ सय ८३ जनाले तामाङ विरुद्ध प्रहरीमा उजुरी दिएको केन्द्रीय अनुसन्धान ब्युरोका डीआइजी धीरजप्रताप सिंहले बताए। त्यस्तै उनी विरुद्ध ३ अर्ब ७४ करोड रुपैयाँ ठगी गरेको देखिएको छ।
'उजुरी आउने क्रम बढेको छ। दशैं बिचमा परेकाले केही रोकिएको छ। अहिलेसम्म ८ सय ८३ जनाले उजुरी दिइसकेका छन्। हामी थप अनुसन्धान गरिरहेका छौँ,' डीआइजी सिंहले भने।
इच्छाराजले २०५७ सालमा सिभिल क्रेडिट एन्ड सहकारी संस्था खोलेका थिए। उनी नै सहकारीको अध्यक्ष समेत भए। त्यतिखेर उनी ऋण उपसमितिका प्रमुख पनि थिए।
उनले २०६७ सालमा भने केशवलाललाई अध्यक्ष बनाएका थिए। ऋण उपसमितिमा इच्छाराजको ठाउँमा केशवलाल नै आएका थिए। अहिले पनि केशवलाल नै सहकारीको अध्यक्ष हुन्। सहकारीभित्र जे भयो त्यसमा यिनै दुई जनाको मिलेमतो रहेको प्रहरीको दावी छ।
सिभिल ग्रुप नेपालमा चलेको व्यापारिक घराना बनिसकेको थियो। व्यावसायिक विस्तारमा तीव्र रफ्तारमा रहेको यो घरानाका मुलि अर्थात् इच्छाराजले सिभिल होम, सिभिल स्टेट र सिभिल अपार्टमेन्टका नाममा सहकारीबाट धितो नै नराखी ८ अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएको देखिएको छ। वित्तीय अनुशासनका हिसाबमा उनको ऋण लिने शैली पूर्णत गैर कानुनी हो।
उनले चार पटक गरेर सहकारीबाट आफूले लगानी गरेका तीन कम्पनीको नाममा ऋण लिएका थिए। २०७५/७८ को अडिट रिपोर्ट अनुसार ८ अर्ब ९७ करोड रुपैयाँ भन्दा बढी रकम ऋण लिएको देखिन्छ।
पहिलो पटक ४ अर्ब ७२ करोड, दोस्रो पटक १ अर्ब ३० करोड, तेस्रो पटक १ अर्ब ५ करोड र चौथो पटक १ अर्ब ९५ करोड रुपैयाँ ऋण लिएको देखिएको छ। सिभिल सहकारीबाट ९० प्रतिशत लोन सिभिल होम्स, अपार्टमेन्ट लगायतका लागि कम्पनीका नाममा ऋण लिएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
सीआइबीमा असोज ५ गतेदेखि इच्छाराज तामाङविरुद्ध उजुरी पर्न थालेको थियो। आज पनि झन्डै १ सय जनाले उजुरी दिने भएका छन्।
यसरी ठगिनेहरूमा एक लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको उजुरी प्रहरीकहाँ परेको छ। तीमध्ये एकै परिवारका श्रीमान्, श्रीमती, छोराछोरी समेत ठगिएको उजुरी परेको प्रहरीले जनाएको छ। उजुरीकर्ताहरूको सङ्ख्या कति बढ्छ, प्रहरीले अनुमान गर्न सकेको छैन।
सिभिल सहकारीमा हाल ३ हजार भन्दा धेरै निक्षेपकर्ता रहेकोमा अहिले २२ सय बढी निक्षेपकर्ता सक्रिय रहेको देखिएको छ। तीमध्ये अधिकांश ठगिएका छन्। सहकारीले विभिन्न खाले चिठ्ठाको प्रलोभन देखाउँदै रकम संकलन गरेको थियो उनीहरूसँग।