PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मिडिया रिपोर्टमा दाबी : आर्यन खानले एनसीबी निर्देशकलाई भने, 'असल काम गर्छु, एक दिन तपाईंलाई गर्व लाग्नेछ'



पहिलोपोस्ट

मिडिया रिपोर्टमा दाबी : आर्यन खानले एनसीबी निर्देशकलाई भने, 'असल काम गर्छु, एक दिन तपाईंलाई गर्व लाग्नेछ'
Photo : TOI

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागू औषध मुद्दामा अहिले मुम्बईको आर्थर रोड जेलमा बन्द छन्। क्रज ड्रग्स पार्टीमा संलग्न रहेको आरोपमा उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको थियो। उनको साथमा लागू औषध नपाइए पनि उनी ड्रग्स कारोवासमा संलग्न रहेको र अन्तर्राष्ट्रिय गिरोहसँग समेत उनको पहुँच रहेको अभियोग एनसीबीले लगाएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

आर्यन खानको जमानतका लागि धेरैपटक अदालतमा बहस भएपनि उनले जमानत पाउन सकेका छैन। २० अक्टोबरमा मात्रै उनले जमानत पाउने वा नपाउने भन्ने फैसला हुने बताइएको छ। यसबिच आर्यनलाई 'बिना कुनै कसुर' फसाइएको भन्दै एनसीबी र नरेन्द्र मोदी सरकारको आलोचना भइरहेको छ।

ड्रग्स नभेटिँदा पनि अन्तर्राष्ट्रिय गिरोहसँग संलग्न रहेको आरोपमा उनलाई जमानत नदिइएको भन्दै विरोध समेत भइरहेको छ। जबकी यसअघिका मुद्दाहरुमा ड्रग्स भेटिएका कलाकारहरु जमानतमै रिहा भएको स्थानीय स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। आर्यनलाई 'शाहरुखको छोरा' भएको सजाय मिलेको प्रतिक्रिया समेत आइरहेको छ।

यता, एनसीबीको आलोचना भइरहँदा आर्यनसँग भएको परामर्शका कुराहरु मिडियामा सार्वजनिक भएका छन्।

मिडिया रिपोर्टहरुका अनुसार आर्यनले एनसीबीका क्षेत्रिय निर्देशक समीर वानखेडेसँग भएको 'काउन्सिलिङ'मा 'आफू असल मानिस बन्ने' भनेको उल्लेख गरिएको छ।

मुम्बईमा बलिउड कलाकारमाथि कारवाही गरेर समीर वानखेडे 'सेलिब्रेटी कप' बनिसकेका छन्। सुशान्त सिंह राजपुतको मृत्युदेखि हालसम्म बलिउडसँग सम्बन्धित मुद्दाको अनुसन्धान उनकै नेतृत्वमा हुँदै आएको छ। तर, उनले बलिउडलाई मात्रै 'टार्गेट' बनाएको र अरु क्षेत्रप्रति 'सफ्ट कर्नर' राखेको भन्दै आलोचना पनि हुने गरेको छ।

'म असल मानिस बनेर राम्रो काम गर्छु र एक दिन तपाईलाई म प्रति गर्व हुनेछ' आर्यनले वानखेडेलाई भनेको मिडिया रिपोर्टमा उल्लेख छ।

यस्तै, आर्यनले जेलबाट निस्किएपछि गरिबहरुलाई सहयोग गर्ने समेत भनेको बताइएको छ। आर्यनलाई केही गैरसरकारी संस्थाले समेत मनोपरामर्श दिइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell