PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुरुङमार्गको ठूलो सम्भावना तर छैनन् इन्जिनियर, नागढुंगा-नौविसे सुरुङमार्गसँगै तयार हुनेछन् दक्ष इन्जिनियर



दिनेश खड्का

सुरुङमार्गको ठूलो सम्भावना तर छैनन् इन्जिनियर, नागढुंगा-नौविसे सुरुङमार्गसँगै तयार हुनेछन् दक्ष इन्जिनियर
FILE PHOTO

काठमाडौं : नागढुंगा - नौविसे सुरुङमार्ग आयोजनाले तिहार लगत्तै ५० बढी इन्जिनियरलाई सुरुङमार्ग सम्बन्धी तालिम दिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका इच्छुक इन्जिनियरलाई सुरुङमार्ग सम्बन्धी तालिम दिन लागिएको हो।

साइट क्याम्पको कक्षामै राखेर पढाउने र काम नै गराएर तालिम दिइनेछ। अहिले नेपालमा एक जना पनि सुरुङसँग सम्बन्धित इन्जिनियर छैनन्। अहिले पाइपलाइनमा दुई दर्जन सुरुङमार्ग भएपनि इन्जिनियर नहुँदा समस्या भइरहेको छ।

नागढुंगा – नौविसे सुरुङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार केही महिना पहिले नै तालिम दिने योजना बनाएको भएपनि कोरोना कारण सुरु हुन सकेन। तिहार लगत्तै एउटा टोलीबाट तालिम सुरु हुने उनले बताए।

'हामी टनेल मात्रै निर्माण गर्दै छैनौ। सुरुङमार्ग निर्माणका लागि हाम्रा इन्जिनियर पनि तयार पार्न लागेका छौ,' शाक्यले भने,' निर्माण कम्पनी र आयोजना मिलेर तालिम दिदैछौ।'

 गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको समन्वयमा निर्माण कम्पनी कम्पनी हाज्मा/आन्दो कर्पोरेशनका प्राविधिकहले तालिम दिनेछन्। अहिले पनि आयोजनामा १५० जना नेपाली प्राविधिकले काम गरिरहेको आयोजनाले जनाएको छ।

'सव कन्ट्रयाक्टर, जापानी निर्माण कम्पनीमा पनि नेपालीले काम गरिरहेका छन्। आयोजना पुरा हुँदा २ सय बढी इन्जिनियर सुरुङमार्ग निर्माण गर्न सक्ने हुनेछन्,' शाक्यले भने,'दक्ष र अर्धदक्ष दुवै जनशक्ति तयार हुन्छ।'

शाक्यका अनुसार ५० जनालाई  एउटै तालिम दिइने छैन। दुई समूहलाई एउटै खालको तालिम दिइनेछ। सुरुङमार्ग व्यवस्थापन,  जियोटेक्निकल, स्ट्रक्चर लगायत विभिन्न क्षेत्रमा तालिम दिइनेछ। सुरुङमार्गभित्र आउने समस्या व्यवस्थापनको विषयमा समेत तालिम दिइनेछ। सुरुङमार्गसम्बन्धी सबै खालका विषयमा तालिम दिन लागिएको हो।

'अहिले जापानी प्राविधिकसँग काम गर्दा हामी धेरै कुरामा फेलिमिलियर भएका छौ। हाम्रा साथीहरुले खरिद, आयोजना व्यवस्थापन,क्वालिटी कन्ट्रोल लगायतमा विषयहरु ह्याण्डिल गर्न सक्छन,' उनले भने,'हाम्रो उदेश्य सुरुङमार्गको सबै विषयमा काम गर्न सक्ने एउटा टिम तयार पार्ने पनि हो।'

५० बर्ष अघि नै सुरुङमार्ग निर्माणको अवधारणा नेपालमा आएको भएपनि भर्खरै कार्यान्वयनमा जान थालेको छ। उनका अनुसार पहिले लगानी गर्न सक्ने अवस्था नै थिएन। डिजाइन र अन्य विषयलाई जष्टिफाइ नै गर्न सकिने अवस्था थिएन। 'मेगा प्रोजेक्टमा हाम फाल्दा असफल भए जोखिम कसले लिने भन्ने भयो। अहिले हाम्रो आत्मविश्वास बढेको छ। आयोजनाहरु पनि प्राविधिक र वित्तिय हिसावले जष्टिफाइ गर्न सक्छौ',उनले भने।

शाक्यले यो सुरुङमार्ग आयोजना नेपालका लागि महत्वपुर्ण रहेको दाबी गरे। 'नागढुङगा – नौविसे सुरुङमार्ग पुरा भएका दिन एउटा नयाँ आयोजना मात्रै थपिदैन। देशमा सयभन्दा बढी सुरुङमार्ग निर्माण गर्न सक्ने प्राविधिक जनशक्ती पनि तयार हुनेछन्,' शाक्यल भने,' हाम्रोमा अब ठुलो सम्भावना बोकेको क्षेत्र सडक सुरुङमार्ग हो।'

जापान सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा निर्माण भैरहेको आयोजनाको २२ प्रतिशत काम सकिएको छ। सुरुङमार्गको चन्द्रागिरी नगरपालिका वडा १ स्थित टुटिपाखामा काठमाडौंतिरको पोर्टल छ। धुनिवेशी नगरपालिकास्थित सिस्नेखोला धादिङतिरको पोर्टल छ। यो सुरुङमार्ग २.७ किमी रहेको छ। अहिले निर्माणको काम धमाधम चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell