PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जसपाबाट मन्त्री बन्न नपाएका प्रदिप यादव भन्छन् : उपेन्द्र यादवसँग कुनै गिला सिकवा छैन



राधेश्याम पटेल

जसपाबाट मन्त्री बन्न नपाएका प्रदिप यादव भन्छन् : उपेन्द्र यादवसँग कुनै गिला सिकवा छैन

वीरगंज : जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदिप यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग कुनै ‘गिला सिकवा’ नरहेको बताएका छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाबाट मन्त्री पदका दाबेदार मानिएका पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद यादवले वीरगंजमा दशैं लगायत पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पद नपाएपनि आफू जसपामै रहने र पार्टी भित्रै संघर्ष गर्ने बताएका हुन्।

 ‘२०६४ सालदेखि यो पार्टीलाई पर्सामा खडा गरेको छु। यो पार्टी मेरोलाई घर हो। नेता कार्यकर्ता इट्टा, सिमेन्ट जस्तै निर्माण समाग्री हुन्’उनले भने,‘केही राजनीतिक दलका नेताहरुले भनिरहेका छन्, प्रदिपले यो पार्टीमा गइरहेको छ। त्यो पार्टीमा गइरहेको छ। तर त्यो सबै भ्रम छर्ने काम मात्र हो।’

उनले कार्यक्रम आयोजना भएकोमा जिल्लाकै पार्टी भित्रका केही नेताले अरु नेता र कार्यकर्तालाई कार्यक्रममा नआउन फोन गरेको र रातभर एउटा गुट जाग्राम बसेर कार्यक्रम प्राभावित गर्ने षडयन्त्र गरेको आरोप समेत लगाए। यादवले उनीहरुको षडयन्त्र विफल भएको पनि बताए।

उनले पार्टी अध्यक्षको बारेमा बोल्ने अन्य नेताहरुलाई मुखमै जवाफ फर्काउने गरेको तर आफनै पार्टीमा ४ वर्ष पहिले आएका नेताहरुले मौनता साधनु दु:खको कुरा भएको बताए।

यादवले लोकतान्त्रिक समाजवादी पार्टीका नेता विमल श्रीवास्तव, राजेशमान सिंह तथा वीरगंजका मेयर विजय सरावगी र पार्टीका केही गुटका नेताहरुले गरिरहेको षड्यन्त्रबाट सचेत रहन आग्रह समेत गरे। साथै मन्त्री नपाउँदा विरोध गरेका युवाहरुलाई कारवाही गर्न नहुने समेत उनले बताए।

 ‘जसपाबाट पर्साले मन्त्री नपाएपछि केही युवा,विद्यार्थीले पुतला दहन गरे। त्यो शैली मिल्दैन। तर आफनै युवालाई सम्झाउनुभन्दा कारवाही गर्ने तर्फ केही नेताहरुको ध्यान छ। त्यो गलत हो। सच्चिएर हिँडनु पर्छ,’उनले भने।

उनले जसपाका नेता कार्यकर्ताले एकजुट भएर काम गर्दै गए अगामी दिनमा पार्टीले पर्साका नेता कार्यकर्तालाई अवश्य मूल्याकंन गर्ने बताए।

‘पर्साले किन पाएन मन्त्रालय? मलाई अध्यक्ष ज्यूसंग केही भन्नु छैन। तर, हामीले आजको कार्यक्रमबाट एकताको सन्देश लिएर अघि बढनु पर्छ,’उनले भने,‘पार्टीको हित विपरित काम गर्ने बहुरुपिया नेताहरु आफैं पाखा लाग्छन्।’

पार्टीको क्षेत्रीय प्रतिनिधि घनश्यामबाबू साहको अध्यक्षता तथा वीरगंज नगर अध्यक्ष ईश्वरचन्द्र यादवको सहजीकरणमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मोहनलाल चौधरी र टेक बहादुर शाक्य,प्रदेश सांसद जन्न्त अन्सारी,अन्जु यादव,जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्द अन्सारी,पोखरीया नगरपालिकाकी उपमेयर सल्मा खातुन,पार्टीका नेता जरि लामालगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell