PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सत्यनारायणको हत्याको ३ महिनामा पनि 'क्लु' बिहीन प्रहरी, अब सीआइबी पनि अनुसन्धानमा जोडिँदै



पहिलोपोस्ट

सत्यनारायणको हत्याको ३ महिनामा पनि 'क्लु' बिहीन प्रहरी, अब सीआइबी पनि अनुसन्धानमा जोडिँदै

काठमाडौं : घटना भएको तीन महिना बितिसक्यो तर प्रहरीको अनुसन्धान अझै अलमलमा नै छ। अर्थात् प्रहरीले घटनामा अहिलेसम्म कुनै 'क्लु' हात पार्न सकेको छैन। घटना असार २० गते ललितपुर महानगरपालिका २ सानेपास्थित राम मन्दिर नजिकै आफ्नै कोठामा मृत भेटिएका ५९ वर्षीय सत्यनारायण पारिखको हो।

यस घटनालाई लिएर महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, ललितपुरको टोली अनुसन्धानमा लागिरहेको छ। तर, अझै अभियुक्तसम्म डोहोर्‍याउने लिड भने प्रहरीले समात्न सकेको छैन। असार २० गते बिहान घरमा नियमित काम गर्न आउने एक महिलाले बारम्बार आवाज दिँदा पनि ढोका नखोलेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए।

पहिलो तल्ला रहेको बेड रुममा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो। उनको शरीरमा खैरो रंगको हाफ पाइन्ट थियो भने टाउको ब्लाङ्केट भित्र। लुगाहरू छरपस्ट अवस्थामा। बत्ती बलिरहेकै थियो। टीभी पनि चालु। अनि कोठामा रगतको आहाल। उनी घरमा एक्लै बस्दै आएका थिए।

घटनास्थलको प्रकृति हेर्दा प्रहरीले हत्याको कारण चोरीसँग जोडिएको हुनसक्ने भन्दै सोही ट्र्याकबाट अनुसन्धान अगाडि बढाएको थियो। तर, अहिलेसम्म चोरीकै क्रममा उनीमाथि आक्रमण भएको पुष्टि हुन सकेको छैन। न त अरु नै बलियो कारण फेला परेको छ।

'विभिन्न एङ्गलबाट अनुसन्धान गरिरहेका छौं। अहिलेसम्म कारण र यही नै हो भन्ने कुनै कुरा खुलेको छैन। अनुसन्धान जारी नै छ,' महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले भने।

सत्यनारायण न्यूरोडको एटलान्टिक कम्प्युटर कम्पनीमा सेल्सम्यान थिए। त्यहाँ काम गर्न थालेको दुई वर्ष भइसकेको थियो। भारतीय नागरिक सत्यनारायण लामो समयदेखि नेपालमा बस्दै आएका हुन्। करिब एक वर्षअघि उनी दुर्घटनामा परेका थिए। नेपालटारमा कामको सिलसिलामा चिप्लिएर लड्दा उनी घाइते भएका थिए। खुट्टामा बल पर्न नहुने भएपछि उनी घरमै बसेर काम गर्थे। त्यसमाथि लकडाउनको बेला उनको घरको कोठा नै कार्यालय बनेको थियो। उनी कोठाबाट कमै निस्किन्थे। असार १७ गते दिउँसो ३ बजेतिर उनले आफ्नो भाइसँग भेटेका थिए। कमलपोखरीमा अन्तिम भेट भएको उनको भाइ संजयले बताएका छन्।

जुन घरमा उनको शव भेटियो त्यहाँ भाडामा बसेको पनि १३ वर्ष भइसकेको थियो।

प्रहरीले अनुसन्धान गर्दा सत्यनारायणको घर अगाडि दुईवटा मोटरसाइकलमा चार जना संदिग्ध मानिस आवतजावत गरेको देखिएको छ। १० बजेदेखि १२ बजेसम्म उनीहरुले पटकपटक सत्यनारायणको घर अगाडि ओहरदोहर गरेकाले उनीहरुमाथि प्रहरीले अनुसन्धान गरेको थियो। तर, त्यहाँबाट पनि खासै लिड मिलेन प्रहरीलाई। त्यसमा सीसी टीभीको धमिलो फुटेजले साथ दिएन। प्रहरीले घटनास्थलमा फेला पारेको सत्यनारायणको मोबाइलबाट पनि अनुसन्धान गरेको थियो। तर, त्यहाँ पनि शंका गर्ने आधारहरु देखिएन।

महानगरीय अपराध महाशाखा  र महानगरीय प्रहरी परिसर ललितपुरले मात्र होइन अब यस घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले पनि गर्ने भएको छ। सीआइबीले अनुसन्धान सुरु गरिसकेको व्यूरोका डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए।

'अब हामीले पनि अनुसन्धान गरेका छौं। अरु विभागबाट भएका अनुसन्धानलाई सहयोग गरेर थप अनुसन्धान हुन्छ,' डीआइजी सिंहले भने।

सत्यनारायणको एक छोरीको विवाह भइसकेको छ। श्रीमती बितेको ८ वर्ष भयो। त्यसैले अहिले उनी एक्लै कोठामा बस्दै आएका थिए। उनी बस्ने घरमा अरू कोही बस्दैन थिए। साढे २ तले घरमध्ये भुईं तल्ला खाली थियो। भाडामा बस्न कोही नआएको धेरै महिना भइसकेको थियो। त्यहाँदेखि माथि दोस्रो तल्लामा उनको भान्छा र सुत्ने कोठा। त्यसभन्दा माथिल्लो तल्लामा उनले आफ्ना सामानहरू राख्ने गरेका थिए।

घरमा एक्लै भएकाले उनीकहाँ दुई महिला काम गर्न आउँथे - एउटी ४० वर्षीय महिला र अर्की २०/२५ वर्षीय युवती। असार २० गते उनको शव भेटिएको दिन ४० वर्षीय महिला बिहानै खाना पकाउन सत्यनारायणको घरमा पुगेकी थिइन्। उनी असार १९ गते साँझतिर पनि खाना पकाउन भन्दै घरमा पुगेकी थिइन्। त्यस दिन गेटमा लक गरिएको थियो। उनले फोन गरिन्। सत्यनारायणको फोन समेत उठेन। त्यसपछि उनी आफ्नै कोठा फर्किन्। त्यसभन्दा अधिल्लो रात ८ बजेतिर सत्यनारायण र ती महिलाको कुराकानी भएको देखिएको छ।

प्रहरीले यी  दुई महिलामाथि पनि अनुसन्धान गरेको थियो। तर, त्यहाँबाट खासै केही लिड मिलेन। त्यस्तै, सत्यनारायणको एक मुखे रुद्राक्षसँग पनि कनेक्सन जोडिएको थियो। मोबाइलमा विभिन्न मानिससँग भएको कुराकानीमा एक मुखे रुद्राक्षसँग सम्बन्धित कुराकानी भएको पहिचान भयो। बहुमुल्य भनिने रुद्राक्षको लागि हत्या हुनसक्ने आशंकामा अनुसन्धानले फरक ट्र्याक लिन पनि खोजेको थियो। तर, उनले रुद्राक्ष नकिनेको अनुसन्धानमा देखिएपछि त्यो एंगलबाट गरिएको अनुसन्धान पनि 'क्लोज'जस्तै भएको छ।

'उसले एक मुखे रुद्राक्षको कारोबार गर्न खोजेको देखिएको छ। रुद्राक्ष हेरेको पनि देखियो। तर, किनेको छैन। कतै त्यही कारण हुनसक्छ कि भनेर पनि अनुसन्धान भयो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

घटनाको अनुसन्धान गर्न प्रहरीको तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको थियो। तर, कुकुर सत्यनारायणको घरको गोरेटो बाटोबाट केही पर पुगेर फर्किएको थियो। दुई पटकसम्म कुकुरले सोही बाटोतिर संकेत गरेको थियो। त्यसपछि कुकुर पनि अल्मलियो। र, प्रहरी अनुसन्धन पनि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell