PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१६ दिनमै भित्रिए करिब १२ हजार पर्यटक, कुन देशबाट कति जना आए नेपाल ?



वसन्तराज उप्रेती

१६ दिनमै भित्रिए करिब १२ हजार पर्यटक, कुन देशबाट कति जना आए नेपाल ?
FILE PHOTO : RSS

काठमाडौं : सरकारले कोभिड १९ संक्रमण नियन्त्रण गर्न बनाएको स्वास्थ्य निर्देशिका लचिलो बनाएपछि विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि भएको छ। अध्यागमन विभागको विवरण अनुसार हवाई र स्थलमार्ग हुँदै अक्टोबर १ देखि १६ तारिखसम्म ११ हजार ९८८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

कुल ६३ हजार ७८२ यात्रु मध्ये करिब १२ हजार यात्रु नेपाल भ्रमणकै लागि आएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए।

विभागले तयार पारेको तथ्यांक अनुसार १६ दिनको अवधिमा नेपाल भित्रिएका यात्रुमध्ये  १९ प्रतिशत यात्रु विदेशी पर्यटक छन्। अघिल्लो महिना (सेप्टेम्बर) अवधिभर नेपाल भित्रिएका कुल ७० हजार ५८३ जना यात्रुमध्ये नौ हजार ९०५ जना भ्रमणमा आएका थिए। गत सेप्टेम्बरमा नेपाल भित्रिएका यात्रुमध्ये विदेशी पर्यटक १४ प्रतिशत थिए।

सेप्टेम्बर महिनाभरको तुलनामा अक्टोबरको आधा नबित्दै विदेशी पर्यटकको आउने दर पाँच प्रतिशतले वृद्धि भएको उनले जानकारी दिए। यही क्रममा विदेशी पर्यटकको आगमन निरन्तर रहेको अवस्थामा अक्टोबर भर नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सेप्टेम्बरको तुलनामा दोब्बर हुने उनको अनुमान छ।

'सेप्टेम्बर एक महिनामा भित्रिएका पर्यटकको तथ्यांकभन्दा अक्टोबर १६ तारिखभित्र नेपाल भित्रिएका पर्यटकको संख्या धेरै देखिएको छ। सरकारले विदेशी पर्यटक आवगमनका लागि मापदण्ड खुकुलो बनाएसँगै यो बेला विदेशी पर्यटकको आगमन अझै वृद्धि हुँदै जाने देखिएको छ।' महानिर्देशक भट्टराईले भने।

विभागका अनुसार अक्टोबर १ देखि १६ तारिखसम्ममा ६३ हजार सात सय ८२ यात्रु नेपाल भित्रिएका छन् भने ४८ हजार ४२१ यात्रु बाहिरिएका छन्। सरकारले जारी गरेको नयाँ मापदण्ड पालना नभएका कारण करिब १० जना विदेशीलाई भने अध्यागमनबाटै फर्काइएको उनले जानकारी दिए।

'कोभिड-१९ को पहिलो लहर सुरु भएसँगै हामीले सीमित अवस्था बाहेक अनअराइभल भिसा दिएका थिएनौँ। अहिले खोप लगाएका पर्यटकलांई अनअराइभल भिसा दिन सुरु गरेका छ। जसले गर्दा पर्यटक आगमन दर बढ्दै गएको छ' उनले भने,'अहिलेको समय भनेको पदयात्रा र हिमाल आरोहणको समय हो। नेपाल सरकारले पनि पदयात्रा र हिमाल आरोहण खुल्यो भन्ने सन्देश दिन चाहेको हो। त्यो अनुरुप सकारात्मक लक्षण देखिँदै छ।'

तेस्रो मुलुकबाट पर्यटक आउन थालेपछि काठमाडौं लगायत मोफसलका तारे होटलमा चहलपहल सुरु भएको छ। पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित भएका छन्। कोभिडका कारण दुई वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुर्नउत्थान हुने अपेक्षा व्यवसायीको छ।

विभागले तयार पारेको विवरण अनुसार गत वर्ष सेप्टेम्बर महिनामा नेपाल आएका कुल ३३ हजार ४३० यात्रुमध्ये ५८७ जना विदेशी पर्यटक थिए। कुल यात्रु संख्यामा गत वर्ष सेप्टेम्बरमा १.७ प्रतिशत विदेशी पर्यटक रहेका थिए।

यसैगरी गत वर्ष अक्टोबर १ देखि १६ तारिखसम्म नेपाल आगमन भएका कुल २५ हजार ९३५ जना यात्रु मध्ये ८९८ जना विदेशी पर्यटकको सहभागिता रहेको थियो। कुल यात्रु मध्ये विदेशी पर्यटक आवगमन दर ३.४६ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा यो महिनामा १६ दिनमै  ११ हजार ९८८ विदेशी पर्यटकको आगमन भएको छ।

यो १६ दिनको अवधिमा भारतबाट आउने पर्यटकको संख्या उल्लेख्य रहेको उनले जानकारी दिए। यो समयमा नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या चार हजार ४८१ रहेको विभागले जनाएको छ। महानिर्देशक भट्टराईका अनुसार नेपाल भित्रिने पर्यटकको कुल संख्याको एक तिहाई भारतीय पर्यटकको रहेको छ।

यसैगरी अमेरिकाबाट आउने पर्यटकको संख्या २ हजार ७८३ रहेको उनले जानकारी दिए। उनका अनुसार बेलायतबाट  ६५१ जना आएका छन् भने टर्कीबाट ११७ जना आएका छन्। यी मुलुक बाहेक जर्मनी, फ्रान्स, फिनल्याण्ड, क्यानडा, बेल्जियमलगायत मुलकबाट भ्रमणका लागि आउने विदेशी पर्यटकको संख्या उल्लेख्य रहेको उनले जानकारी दिए।

दुई वर्षपछि गत असोज पहिलो साताबाट सरकारले खोप लगाएर नेपाल आउने विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको थियो।सरकारले विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको सहजताका लागि अनअराइभल भिसाको व्यवस्था समेत थप सहज बनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell