PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दशैंको दश दिनमा देशभर भएका अपराध : मासुको विषयमा ज्यान लिनेदेखि बैंक लुट्नेसम्म



पहिलोपोस्ट

दशैंको दश दिनमा देशभर भएका अपराध : मासुको विषयमा ज्यान लिनेदेखि बैंक लुट्नेसम्म

काठमाडौं : दशैंलाई सुरक्षित बनाउन प्रहरी योजनाबद्ध रूपमा फिल्डमा उत्रिएको हुन्छ। कुनै पनि अपराध नहोस् भन्ने लक्ष्य लिएको हुन्छ। तर पनि दशैंमा अपराध शून्य भने हुँदैन। यस पटकको दशैंको घटस्थापना देखि दश दिनको अवधि अपराध मुक्त हुन सकेन। हत्या, चोरी, सवारी ज्यान, जबरजस्ती करणी लगायतका विभिन्न अपराधहरू देशभर भई नै रहे।

प्रहरीको तथ्याङ्क हेर्दा दश दिनको अवधिमा विभिन्न २८४ वटा अपराधिक घटना भएको देखिएको छ। जसमा मानिसको ज्यानै लिने घटना पनि भएको छ। २०७७ सालको दशैं तिहारमा ८८५ वटा यस्ता अपराधका घटना भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै २०७६ को दशैं तिहारमा १०४३ वटा अपराधका घटना भएका थिए। २०७५ सालको दशैं तिहारमा भने ८२९ वटा घटना भएको देखिन्छ।

दशैंमा मासुको विषयलाई लिएर फूलपातीको दिन नै एक युवकको हत्या भयो। फूलपातीको दिन नै प्रहरीले सिन्धुली कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका थिए।

फूलपातीको अवसरमा गाउँमा स्थानीय मिलेर राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा भएको थियो। त्यस क्रममा केही स्थानीयले विक्रमलाई दाउराको चिर्पट प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका विक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको थियो। घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको हो।

यस्तै,सल्यान, बनगार कुपिन्डे नगरपालिका-१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या भयो। रुपलालको हत्या अभियोगमा उनकै बुवा ५६ वर्षीय निम बहादुर कवर मगरलाई प्रहरीले पक्राउ गरेको छ।

निम बहादुरले आफ्नै छोरालाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले निम बहादुरलाई पक्राउ गरेको हो।

दशैंको समयमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपनि सामाजिक अपराध भने रोकिएनन्। प्रहरीको उपस्थिति नहुने स्थानहरूमा यस्ता घटना भई नै रहेका थिए। घटस्थापना देखि असोज ३० गतेसम्म देशभर १२ जनाको हत्या भयो। गत वर्षको दशैं तिहारमा देशभर ३१ जनाको हत्या भएको थियो। त्यस्तै २०७६ सालको दशैंतिहारमा ३२ जना, २०७५ सालको सोही अवधिमा २५ जनाको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

हत्या मात्र होइन दशैंको अवधिमा धारिलो हतियार प्रहार लगायत अन्य प्रकृतिले मानिसको ज्यान मार्ने प्रयास समेत भए। दश दिनको दशैं अवधिमा यस्ता घटना १० वटा भएको प्रहरीको तथ्याङ्कले देखाउँछ। २०७७ सालको दशैं तिहारको अवधिमा यस्ता घटना ४७ वटा घटेका थिए। २०७६ को दशैंमा ३७ वटा भएका थिए।

प्रहरीको दशैं सुरक्षा योजनाकै समयमा मोरङमा बैंक नै लुटियो। फूलपातीको अघिल्लो दिन मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ स्थित कर्सियामा रहेको सिटिजन्स बैंक दिउँसै लुटिएको थियो। प्रहरीले लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक समेत गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधवार पत्रकार सम्मेलन गर्दै तीन जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक जना नेपाली युवा रहेका छन्।

प्रहरीले मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया सेखपुरा बस्ने २८ वर्षीय सुनिल यादव र ३० वर्षीय विजय सहनीलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई  घटना गरेर भाग्ने क्रममा को २५ प ३८९९ मोटरसाइकल सहित नियन्त्रणमा लिइएको थियो। सहनीलाई बायाँ तिघ्रामा गोली लागि घाइते अवस्थामा मोरङ धनपालथान गाउँपालिका-२ खयरबना चोक नजिकबाट पक्राउ गरी रंगेली अस्पतालमा उपचार पश्चात ईप्रका रंगेलीमा ल्याई राखिएको प्रहरीले जानकारी दिएको छ।

सोमवार दिउँसो ३ बजेर ४५ मिनेटमा आएका लुटेरा समूहले बैंकमा रहेको रकम लुटेर फरार भएका थिए। बैंकका सुरक्षा गार्ड शीतल कुमाललाई गोली प्रहार गरी बैंकको काउन्टरमा रहेको रकम लुटेको प्रहरीले जानकारी दिएको छ। बैंकमा रहेको २१ लाख रकम लुटेको प्रहरीलाई बैंक प्रशासनले जानकारी दिएपछि मोरङ प्रहरीले सर्च अपरेसन गरेको थियो।

दशैंको दश दिनमा देशभर २ वटा डाँका चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। तर २०७७ सालको दसैँ तिहारमा देशभर ७ वटा यस्ता डाँका चोरीका घटना भएका थिए। २०७६ को दशैंतिहारमा १३ वटा, २०७५ मा ९ वटा डाँका चोरी घटना भएका थिए।

त्यस्तै दशैंको समयमा एक जना व्यक्तिको अपहरण समेत भएको छ। गत वर्षको दशैं तिहारमा १० जना मानिसको अपहरण भएको थियो। त्यस्तै २०७६ सालको दशैं तिहारमा ३ जनाको अपहरण भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

सबैभन्दा धेरै अपराधहरू सवारी ज्यान सम्बन्धी भएको देखिएको छ। घटस्थापना देखि असोज ३० गतेसम्म २७ वटा ज्यान सम्बन्धी घटना भएका छन्। २०७७ सालको दशैं तिहारमा ८०  वटा घटना दर्ता भएका थियो। २०७६ सालको दशैंमा यो सङ्ख्या ७५ थियो। त्यस्तै २०७५ सालको दशैंमा पनि ७५ वटा नै घटना दर्ता भएका थिए।

त्यस्तै जबरजस्ती करणीका २४ वटा घटना प्रहरीमा दर्ता भएका छन्। २०७७ सालको दशैं तिहारमा १२० वटा यस्ता घटना भएका थिए। २०७६ सालको दशैंमा ५९ वटा घटना दर्ता भएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell