PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रग्बीलाई चिनाउन कोचदेखि रेफ्रीको भूमिकामा कप्तान एलिसाको खटाइ



निशा गुरुङ

रग्बीलाई चिनाउन कोचदेखि रेफ्रीको भूमिकामा कप्तान एलिसाको खटाइ

हेटौँडा : विश्व खेलकुदमा चर्चामा रहने खेल हो रग्बी। नेपालमा रग्बीको कुरा गर्ने हो भने भ्रूण अवस्थामै छ भन्दा फरक पर्दैन। धेरैजना यस खेल प्रति अनभिज्ञ छन्। नाम सुन्नेलाई पनि खेल कसरी खेलिन्छ भनेर थाहा हुन्न।

यस्तो अवस्थाबिच नेपालमा रग्बीलाई स्थापित गर्ने प्रयासमा छिन् नुवाकोटकी एलिसा थापा।

सानैदेखि नदेखेको र नखेलेको खेल। खेल कसरी खेलिन्छ भन्ने पनि थाहा थिएन उनलाई। फेसबुकमा माफर्त रग्बीबारे थाहा पाइन्। खेल प्रति उनको उत्सुकता जाग्यो।

पढाई चल्दै थियो। घरपरिवारमा बुझाउन पनि गाह्रो। तर पनि उनले खेलबारे बुझ्ने आँट गरिन्। नेपाल रग्बी संघका सचिव गोबिन्द घिमिरेसँग भेटिन्। खेलबारे बुझिन्। नियम बारे थाहा पाइन्। अनि आफूपनि रग्बी खेल्न इच्छुक रहेको सुनाइन्। अनि उनको यात्रा 'रग्बी पिच' तर्फ मोडियो।

खेलप्रति उत्सुकता जाग्दै गर्दा उनी २४ वर्षकी थिइन्। स्नातकोत्तरको पढाई चल्दै थियो। त्यसैले मास्टर्स पढ्दै गरेकी छोरी खेलकुदमा सहभागी हुँदै गर्दा घरमा आमा बुवाले  नखेल्न नि सुझाएका थिए। काम गरेर पैसा कमाउने बेला भएको भन्दै बुझाउने प्रयास गरेका थिए। तर, उनी यस्ता अवरोधबिच अघि बढिन्।

रग्बी नेपालको लागि नयाँ नै थियो। आफ्नै शारीरिक समस्या त थियो नै, महिला खेलाडीहरु जुटाउन र टिम बनाउन पनि निकै समस्या र अप्ठ्यारो परेको थियो उनलाई।

'दिनहरु हरेक किसिमले संघर्ष पूर्ण रह्यो। आर्थिक रुपले होस वा टिममा खेलाडी जुटाउने कुराले,' उनी भन्छिन्, 'त्यसमाथि यो कन्ट्याक गेम भएकोले सुरुमा महिला खेलाडीलाई बुझाउनै गाह्रो थियो। रग्बी भन्ने बित्तिकै डेन्जर गेम भनेर बुझ्ने भएकोले खेल्दा भविष्यमा नराम्रो असर पर्ने डरले महिला साथीहरु खेल्नै डराउने।'

जति नै अप्ठ्यारो आएपनि सामना गर्दै केही समयपश्चात टिम बन्यो। टिम बनिसकेपछि उनले प्रशिक्षण लिइन् र  सन् २०१६ मा भारतको चेन्नइमा एसिया रग्बी सेभेन ट्रफीमा पहिलो पटक नेपाली महिला रग्बी टिमको उपकप्तान बनेर सहभागिता जनाइन्।

पहिलो खेलमै उपकप्तानको भूमिका निर्वाह गर्ने मौका पाएकी एलिसाको टिमले इन्डोनेसियालाई हराउन सफल भएको थियो र नेपालले रग्बी इतिहासको पहिलो स्कोर बनाउन सफल भएको थियो।

पहिलो खेलको सफलतापछि आफूले पनि गर्न चाहे सकिँदो रहेछ भन्ने लाग्यो उनलाई। अनि  गुमनाम रहेको रग्बी खेललाई देशैभरी विकास गर्नुपर्छ भन्ने उद्देश्य बुनिन्। त्यसयता उनी विभिन्न जिल्लामा ‘रोल मोडल’को रुपमा रग्बी खेलको प्रचार गर्न र टिम बनाउन उनी लागि परेकी छिन्।

सन् २०१७ मा लाओसमा एसियन रग्बी सेभेन ट्रफी हुँदा उनले नेपाली टोलीको नेतृत्व गरेकी थिइन्। दोस्रो पटक अन्तर्राष्ट्रिय खेलमा सहभागी हुँदा कप्तानको भूमिकामा थिइन् उनी। त्यसबेला पनि महिला टिमले राम्रै प्रदर्शन गर्न सफल भएको उनले बताइन्।

तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीको क्रममा भने चोटका कारण निकै नै पीडा भोग्नु पर्‍यो उनलई। जसकारण निकै लामो समय आराम गर्नु परेको थियो।

एलिसा सम्झिन्छिन्, 'त्यो पीडा देखेर आमाले पनि यो उमेरमा यस्तो गेम खेलेर जिन्दगी बिगार्ने भई अब नखेल भन्नु हुन्थ्यो।'

आमाले सम्झाउँदै गर्दा एलिसाले भने उल्टै आमालाई खेल जीवनको महत्वबारे बुझाइन्।

'खेल नखेले देश विदेशसम्म पुग्न पाउँदिन थिएँ। यसरी सबैले चिन्ने हुँदैन थिए भनेर सम्झाएँ आमालाई। बिस्तारै खेल्दै जाँदा आमा बुवाको पनि साथ सहयोग मिल्दै गयो' उनले भनिन्। त्यससमय देखि एलिसा हालसम्म निरन्तर रग्बी टोलीको कप्तानको भूमिकामा छिन्।

+++

नेपालमा रग्बी खेलको विकास र विस्तार गर्ने क्रममा उनको भूमिका परिवर्तन भइरह्यो। खेलाडी त उनी हुन् नै त्यससँगै उनले नयाँ खेलाडीको कोचको भूमिका समेत निर्वाह गरेकी छिन्। साथै रेफ्री,  मिडिया फोकल पर्सन हुँदै अहिले नेपाल रग्बीको महिला विभाग प्रमुखको भूमिकामा पनि रहेकी छिन् उनी।

‘वाग्मती रग्बी सेभेनएस अन्तर जिल्ला प्रतियोगिता’ अन्तर्गत असोज दोस्रो साता भक्तपुरको सानोठिमीस्थित मध्यपुर ग्राउण्डमा भएको खेलमा रेफ्रीको भूमिकामा उत्रिएकी थिइन् उनी।

सुरुका दिनहरु दुःखद् रहे पनि निरन्तरको रग्बी प्रतिको लगाब र मेहनतको कारण अहिले नेपालमा पनि रग्बीको विकास गराउन सफल भएको र अन्य खेल जस्तै रग्बीलाई पनि माया गर्ने एवं उक्त खेल खेल्ने खेलाडीको संख्या अहिले बढदै गएको उनको अनुभव छ।

नेपालमा रग्बी खेलको विकास गर्दै अब एसियामा र विस्तारै नेपाली रग्बी टोलीलाई विश्वमाझ चिनाउने लक्ष्य छ उनको।

अनि राजनीतिका कुरा…

रग्बी खेलमा प्रवेश गर्नु भन्दा पहिला नै राजनीतिमा प्रवेश गरिसकेकी थिइन् एलिसा। विद्यार्थी जीवनबाट नै राजनीति सुरु गरेकी उनी २०६५ सालमा अखिल क्रान्तिकारीबाट पब्लिक युथ क्याम्पसमा  सदस्य बनिन्। त्यसपछि कोषाध्यक्ष, अध्यक्ष, इन्चार्ज हुँदै केन्द्रीय कमिटीको केन्द्रीय सचिवको प्रत्यासी समेत भइन्। विद्यार्थी राजनीतिबाट बिदा लिएका उनी हाल अखिल नेपाल खेलकुद महासंघमा आबद्ध छिन्। उनी वाग्मती प्रदेश उपसभामुख राधिका तामाङकी स्वकिय सचिवको रुपमा पनि रहेकी छिन्।

खेलकुदको हकमा आफ्नो स्वास्थ्‍यले साथ दिएसम्म खेलाडीको रुपमा र त्यसपश्चात खेल क्षेत्रको विभिन्न तहमा रही खेलकुदको विकास गर्न निरन्तर लागि पर्ने उनको सोच छ।

राजनीतिबाट नै सबै कुराको नीति निर्माण गरी लागू गराउन सक्ने उनको बुझाइ छ। त्यसैले पनि खेलकुद क्षेत्रमा देखिएका विकृती र विसंगतीलाई पनि राजनीतिक नेतृत्वमा पुगेर मात्रै सक्ने उनी बताउँछिन्।

'सही व्यक्ति सही ठाउँमा पुगेको खण्डमा राजनीति भित्र भएको विकृती अन्त्य हुन्छ। खेल क्षेत्रलाई पनि विकास गर्दै अगाडि बढाउन राजनीतिले नै महत्वपूर्ण भुमिका निर्वाह गर्छ,' उनले भनिन् ‘राजनीति र खेलकुद दुवै सेवा हो। त्यही भावका साथ अगाडि बढाउँदै लैजाने हो। असम्भव भन्ने कुरा केही छैन। सबै भन्दा ठुलो कुरा इच्छा शक्ति हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell