काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा पुगेका छन्। विमानस्थलको छड्के अनुगमन गर्न पुगेका मन्त्री आलेले विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताए।
मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिन समेत निर्देशन दिए। आइतबार नेपाल वायुसेवा निगमको जहाजले भोजपुरका लागि उड्दा आधा यात्रु छोडेको बारे निगमसँग लिखित जवाफसमेत मागेका छन्।
आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेका विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरिसकेको जानकारी समेत मन्त्री आलेले दिएका छन्।
उनले भने, 'भोजपुर जाने जहाजमा आधा यात्रु लगियो, आधा छोडियो, कसरी त्यस्तो हुन गयो, गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छु, यात्रुसँग हाम्रो सम्बन्ध सुमधुर होस् भन्ने मेरो चाहना हो।'
आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा सोमबार गन्तव्यतर्फ उडाइएको थियो।
अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, विमानस्थलभित्रका पसलले यात्रुसँग चर्को मूल्यमा चिया कफी बेच्ने गरेको तथा कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने मन्त्री आलेले बताए।
यस्तै, मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिइसकेको बताए। उनले आफू पदमा रहुञ्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने प्रतिवद्धता जनाए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साँघुरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, विराटनगरलगायतका विमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको समेत मन्त्री आलेले जानकारी दिए।
छड्के अनुगमनमा गएका मन्त्री आलेलाई विमानस्थलमा यात्रुहरुले नेपाल वायुसेवा निगमका कर्मचारीले यात्रुसँग रुखो व्यवहार गर्ने गरेको गुनासो समेत गरेका थिए।
