PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लकडाउनमा जन्मिएको 'कालो केशमा रेलीमई', दसैंमा गाउँ पुगेका दिनेशलाई सबैले सोध्छन् : तिमी पनि गीत गाउँछौं र?



लक्ष्मी बलायर

लकडाउनमा जन्मिएको 'कालो केशमा रेलीमई', दसैंमा गाउँ पुगेका दिनेशलाई सबैले सोध्छन् : तिमी पनि गीत गाउँछौं र?

काठमाडौं :  चाडपर्वको माहोलबिच दसैंकै समयमा रिलिज भयो 'कालो केशमा रेलीमई।' युट्युबमा रिलिज भएको दुईदिन गीतको प्रदर्शन सुस्त रह्यो। नयाँ गायक। भिडियोमा पनि नयाँ अनुहार। धेरैको नजर परेन गीतमा। दसैंको चहलपहलबिच गीत हराउने त होइन भन्ने लाग्यो गायक दिनेश ढकाललाई।

तर, गीत रिलिज भएको तेस्रो दिनदेखि उनको अपेक्षाभन्दा फरक 'रेस्पोन्स' आयो युट्युबमा।

कारण : 'कालो केशमा रेलीमई बाँधेको रिबन, तिमीलाई हेर्दै रेलीमई बिताउँला जीवन' युवायुवतीमाझ लोकप्रिय बन्न पुग्यो।

लामो कालो केशमा युवतीहरु रातो रिबन बाँधेर टिकटकमा देखिए। युवकहरुले पनि गीतको लयमा भिडियो बनाउन थाले। अनि सामाजिक संजालमा पनि गीतको चर्चा चल्यो। टिकटकमा गीत सुनेर भिडियो खोज्नेहरुको संख्या पनि बढ्यो। 'प्रेम भाव'लाई काव्यात्मक रुपमा प्रस्तुत गरिएको गीतलाई धेरैले रुचाए। अहिले भाइरल बनेको यो गीतमा भिडियो बनाउने ट्रेन्ड नै चलेको छ। समाचार तयार पार्दासम्म टिकटकमा करिब ९० हजारभन्दा बढीले भिडियो बनाइसके।

दसैंको छेको पारेर रिलिज भएको यो गीतमा स्वर, संगीत र शब्द दिनेश ढकालकै रहेको छ। लोक तथा आधुनिक भाषाको फ्युजन रहेको यो गीतलाई धेरैले रुचाएको बताउँछन् दिनेश। नेपाली दर्शकहरुले मौलिक गीतहरु खोजिरहेको दिनेशको बुझाइ छ। त्यसैले दर्शकको रोजाईमा पर्नुको कारण गीतको शैली नै भएको तर्क गर्छन् उनी।

'मलाई पहिलेदेखि नै गीतको पक्ष बलियो लागेको थियो। गायकको हैसियतले भन्दा पनि अडियन्स भएर सुन्दा गीत मन परेको थियो। केही न केही रुपमा गीत राम्रै छ भन्ने आश थियो। तर यो गीतलाई मैले सोचेभन्दा बढी मन पराइदिनु भएको छ। निकै खुसी लागिरहेको छ,' उनले भने।  

+++

गीतसंगीतमा दिनेशको सानैदेखि रुचि थियो। गाउँमै हुँदा कहिलेकहीँ गीत गुन्गुनाउँन्थे। तर सार्वजनिक रुपमा उनले गाउँमा कहिल्यै गीत प्रस्तुत गरेनन्। जसकारण गाउँमा उनले गीत गाउँछ भन्ने कमैलाई मात्र थाहा थियो।

हाल दिनेश दसैंमा जन्मथलो गुल्मी पुगेका छन्। गाउँ पुगेकै बेला गीत रिलिज हुनु र गीत भाइरल हुँदा गाउँमा उनको परिचय फेरिएको छ। एक्कासी गीत सुन्दा गाउँका मानिसहरु नै अचम्मित भएको बताउँछन् दिनेश।

'मैले गाउँमा कहिले गीतहरु गाएको थिएन। जसकारण मैले गाउँछु भन्ने कसैलाई थाहा नै थिएन। तर यसरी एकैपटक गीत आउँदा गाउँतिर धेरै मानिसहरु सरप्राइज हुनुभएको छ' उनले सुनाए, 'यो गाउने मान्छे नै होइन कहाँबाट गाउने भयो भन्नु हुन्छ। कसैले त तिमीले यस्तो गाउँछौँ जस्तो लागेको थिएन भन्नुहुन्छ।'

सामाजिक संजालमा त्यति 'एक्टिभ' नहुने उनी हाल दर्शक र गाउँलेहरुको प्रतिक्रियाले थप हौसला मिलेको बताउँछन्। भन्छन्, 'आफ्नै शैलीमा गीतसंगीतमा लागि रहनेछु।'

+++

कोरोना संक्रमणका कारण देशभर लकडाउन गरिएको थियो। दिनेश पनि कोठामै थुनिएका थिए। त्यही बेलामा उनले गीतहरु लेख्न थाले। पहिलो लकडाउनकै समयमा उनले कोरेका थिए, 'कालो केशमा रेलीमई बाँधेको रिबन।'

लकडाउनको समयमा रचेका गीतहरु मध्ये यो पाचौं/छैटौं गीत भएको उनले बताए।

'लकडाउन एउटा ठूलो अवसर भयो मेरो लागि। त्यसअघि गीतहरु लेखेको थिएन। गितार चाहिँ बजाउँथे। साथीहरुसँग गीत गुन्गुनाउँथे। लकडाउनमै हो शब्दहरु कोर्न थालेको,' उनले भने।

कालो केशमा रेलीमई रचनाको पछाडि गण्डक क्षेत्रको 'फ्लेभर' रहेको दिनेश बताउँछन्। झलकमान गन्धर्वबाट प्रभावित भएर उनले मौलिक शब्दको गीत बनाउन सुरु गरेको बताए। कालो केशमा रेलिमई पनि त्‍यसैको निरन्तरता हो।

'गीतमा विशुद्ध नेपाली शब्द सुन्न सकिन्छ। सहज र सबै मानिसहरुले मेरो गीत बुझोस् भनेर पनि यो गीत लेखेको हुँ,' उनले भने, 'नयाँ पुस्ताले लोकगीतमा नयाँ फ्यूजन गरेको मनपराएका छन्। लोकगीतको मर्म पनि नमरोस् र गीतको टेस्ट पनि भिन्न होस्। फ्युजनजस्तो सुनियोस् भनेर यो गीत बनाएको हुँ,' उनले भने।

गत वर्ष पुस महिनामा लकडाउन खुकुलो भएको थियो। त्योबेला लकडाउनको समय लेखिएका शब्दहरुलाई गीत बनाउने कुरा चल्यो। संगीतकार अंकित बाबु अधिकारीलाई उनले आफूले लेखेका गीतहरु सुनाए। लकडाउनमा लेखेका चारवटा गीत सुनाए अधिकारीलाई। पाँचौं पटकमा सुनाए 'कालो केशमा रेलीमई बाँधेको रिबन,' अनि यही गीत छनोट भयो रेकर्डिङको लागि।

'यो तिम्रो करियरका लागि राम्रो हुन्छ भनेर उहाँले भन्नु भयो। यो गीतले तिमीलाई मान्छेहरुले नोटिस गर्छन् भन्नुभयो। अनि यही गीत बनाउन लाग्यौं। गीतको छायाङ्कन गर्न १५ दिनभन्दा बढी लाग्यो,' दिनेशले सुनाए।

गीतको शब्द र संगीतको पक्षलाई लिएर सर्जकहरूबाट पनि राम्रो प्रतिक्रिया आएको उनी बताउँछन्। प्रतिक्रिया देखेर मख्ख छन् उनी। तर, पहिलो गीत नै हिट हुँदा आगामी दिनमा अझै बढी चुनौती हुने बुझेका छन् दिनेशले। दर्शकहरुले पनि आफूबाट बलियो र अझै राम्रो सिर्जनाहरु आशा गर्ने उनको भनाई छ।

'अब मैले गीतको क्वालिटीमा मतलब गरेन भने मलाई गाली आउन सक्छ। मानिसहरुले अन्धभक्त भएर त ताली हानेको होइन। किनकी म कुनै चर्चित कलाकार पनि होइन। म त केवल एउटा कला र प्रस्तुति देखाउन आएको हुँ। मेरो काम देखेर दर्शकले मन पराउनु भएको हो' उनले भने।

'कालो केशमा रेलीमई' त हिट भयो। लकडाउनकै बेला लेखिएका गीतहरु पनि सार्वजनिक गर्नेबारे उनले तयारी गरिरहेका छन्। ती गीतहरु पनि दर्शकले चाहेको जस्तो रहेको उनको दाबी छ।

'दर्शकले यो गीत मनपराएपछि नेपाली संगीत क्षेत्रमा थप केही चिज आउन बाँकी रहेको जस्तो लागेको छ। यो गीतमार्फत मैले संगीत क्षेत्रमा इँटा थप्ने कोसिस गरेको जस्तो महसुस भइरहेको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell