PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पाकिसकेको धान तीन दिनदेखिको वर्षाले खेतमै सोत्तर : प्रकृतिले पनि किसानलाई नै ठग्यो, बेलैमा भोकमरी लाग्ने भयो



पहिलोपोस्ट

पाकिसकेको धान तीन दिनदेखिको वर्षाले खेतमै सोत्तर : प्रकृतिले पनि किसानलाई नै ठग्यो, बेलैमा भोकमरी लाग्ने भयो

काठमाडौं : तीन दिनदेखि लगातार परेको वर्षाका कारण देशभरका विभिन्न जिल्लाहरुमा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ। पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको हो। झापा, मोरङ, सर्लाही, दाङलगायतका धेरै जिल्लामा लगाइएको धानमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

झापा जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको कृषि ज्ञान केन्द्रका बाली विज्ञ शालिकराम भट्टाराईले जानकारी दिए। उनकाअनुसार जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती छ। किसानले लगाएको गरिमा, रामधान र रञ्जितलगायत अधिकांश धान पाकेर पहेँलपुर भएको थियो। धान पाके पनि किसानले दशैंका कारण धान थन्क्याउन पाएका थिएनन्।

ज्ञान केन्द्रमा पाकेको धान लडेर र डुबेर क्षति पुगेको जिल्लाका विभिन्न स्थानका किसानबाट धामधाम जानकारी आइरहेको उनले बताए।

'किसानको धेरै गुनासो आएपछि आजैदेखि हामीले अनुगमन सुरु गरेका छौँ,' उनले भने, 'धान खेत पुगेर हेर्दा बिरक्त लाग्ने छ। पाकेको धान पूरै लडेर पानीमा डुबेको छ। भोलिदेखि नै घाम लागेन भने त्यो खानयोग्य पनि हुँदैन।'

वर्षा बढिरहेका कारण थप क्षति बढ्ने सम्भावना रहेको उनले बताए। विगत वर्षहरुमा भन्दा यस वर्ष धान राम्रो फस्टाएको र उत्पादकत्व बढ्ने केन्द्रले अनुमान गरेको थियो। वर्षाका कारण धेरै धानबालीमा क्षति पुगेकाले अब त्यो सम्भावना कम रहेको उनले जानकारी दिए।

गौरादह नगरपालिका–५ नमूना एकीकृत कृषि सहकारी संस्थाले बीउ उत्पादनका लागि लगाएको २० बिघा जमिनका धानमा क्षति पुगेको सहकारीका अध्यक्ष वेदनिधि चापागाईले जानकारी दिए। उनले भने, 'अब बीउका लागि पानीमा डुबेको धानलाई ग्रेडिङ गर्न मिल्दैन। पानी यस्तै थप दुई दिन मात्र पर्‍यो भने खाद्यान्नका लागि पनि प्रयोग गर्न नमिल्ने गरी धान नष्ट हुने भयो।'

उनले बेला न कुबेलामा परेको पानी कारण धान किसान ठूलो मारमा परेको बताए। सहकारीले बासमती, कालो नुनिया, हाइब्रिड, रञ्जित, गरिमालगायत धानको बीउ उत्पादन गर्दै आएको छ। बाली थन्क्याउने बेला पानीले धानको बीउ नै मासिदिन्छ कि भन्ने पीरमा रहेको उनको भनाइ छ।

बुद्धशान्ति गाउँपालिकाका किसान मोहन बाँस्तोलाले प्रकृतिले पनि किसानलाई ठगेको गुनासो गरे। उनले दैनिक हूल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाएर पाकेको धानमा पानीले ठूलो क्षति पुगेको जानकारी दिए। 'जङ्गली हात्तीबाट रातभर जाग्राम बसेर बचाएको धान बालीलाई प्रकृतिक प्रकोपबाट बचाउन सकिएन,' उनले भने, 'बेलैमा भोकमरी लाग्ने भयो।'

त्यस्तै वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ। वर्षाले काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान डुबाएको कृषकले बताएका छन्। व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले काटेर थन्क्याउन बाँकी रहेको धान पानीले क्षति पुर्‍याएको जानकारी दिए। चार रोपनी क्षेत्रफलमा लगाइएको धानमध्ये डेढ रोपनीको धान काटेर भित्र्याउन बाँकी रहेको बेला पानीले क्षति बनाएको बताए।

'एक रोपनीको धान झाटेर थन्क्याइसके, बाँकी डेढ रोपनीको काटेर मात्रै राखेको थिएँ, पानीले बिगार्‍यो,' उनले भने। कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको नयाँ प्रजातिको धान भएकाले छिटो पाकेको उनले बताए। 'यहाँ अरू कृषकको धान पाकेको छैन, मैले नयाँ प्रजातिको धान लगाएको थिएँ छिटो पाक्दो रहेछ,' उनले भने। पौडेलका अनुसार काट्न बाँकी रहेको धान भने खेतमै रहेको छ।

शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा पनि वर्षाले धानबालीमा क्षति पुर्‍याएको छ। नगरपालिकाका कृषि शाखाप्रमुख नवराज पण्डितले काटेर राखेको साढे चार सय रोपनीको धान पानीले बिगारेको जानकारी दिए।

'काटेर खेतमै छाडिएको धान पानीले बिगारेको छ, घाम लागेर सुक्यो भने काम आउला,' उनले भने, 'सुकेपछि उठाउँदा झर्ने सम्भावना पनि हुन्छ।'

दुई दिनको वर्षाले जिल्लाका अधिकांश ठाउँमा धान बिगारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लाको व्यास, शुक्लागण्डकी, म्याग्दे, आँबुखैरेनी लगायतका धानखेतमा वर्षाले नोक्सान गरेको छ।

'यो वर्ष करिब २०/२५ प्रतिशत धान उत्पादन घट्ने अनुमान छ,' उनले भने।

केन्द्रका अनुसार जिल्लामा ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। त्यसमध्ये दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान हुने गरेको छ। गत वर्ष एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ। जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन्।

सर्लाहीमा पनि धानबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित छन्। यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको  छ।

लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए। उनले भने, 'काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले क्षति पुर्‍याएको छ।' जिल्लाका किसानले धान रोप्ने समयमा पनि मल खाद्य नपाएर सास्ती बेहोरेका थिए। किसान जसोतसो पाकेको बाली भित्र्याउने समयमा पानीले धानमा नोक्सान गरेपछि थप मारमा परेका छन्।

'काटेको धान पानीमा डुब्यो भने दुई/तीन दिनमा टुसा उम्रिन्छ र खान नमिल्ने हुन्छ। अन्य आम्दानीको स्रोत छैन। धान खेतीले गुजारा चलेको थियो। पानीले सबै चौपट गरायो,' हरिवन नगरपालिका– २ का किसान रामपुकार महतोले गुनासो गरे। जिल्लामा यस वर्ष एक लाख ७६ हजार मेट्रिक टन फल्ने अनुमान गरिएको थियो। गत वर्षभन्दा यस वर्ष करिब १० प्रतिशत बढी धान फल्ने अनुमान केन्द्रले गरेको थियो। लगातारको वर्षाले केही प्रतिशत उत्पादन घट्न सक्ने आङ्कलन गरिएको केन्द्रका प्रमुख कुशवाहले बताए। 

पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ। धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ। धेरै किसानले पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको हरिवन–५ का उमेश महतोले गुनासो गरे। -राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell