PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

असार साउनमा पर्ने मुसलधारे वर्षा किन भइरहेको छ कात्तिकमै?



प्रकाश भण्डारी

असार साउनमा पर्ने मुसलधारे वर्षा किन भइरहेको छ कात्तिकमै?

काठमाडौं : कात्तिक नलाग्दै नेपालका अधिकांश ठाउँमा वर्षा भइरहेको छ। असोज ३१ गतेदेखि सुरु भएको भारी वर्षाले मुख्यगरी सुदुरपश्चिम र प्रदेश नम्बर १ का विभिन्न ठाउँमा विपदका घटना बढेका छन्। धानबालीमा व्यापक क्षति पुगेको छ।

अझै केही दिन वर्षा भइरहने मौसम विदको चेतावनी छ। मंगलवार राति सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही स्थानहरुका साथै प्रदेश न २, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा वाग्मती प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। मौसमविद शजिना शाक्यले भोलिसम्म भारी वर्षाको सम्भावना रहेको बताइन्। भारी वर्षाका कारण महाकाली, कर्णाली, कोशी,कन्काइलगायतका नदीका २८ भन्दा बढी क्षेत्रमा पानीको सतहले खतराको स्तर पार गरेको छ।

कात्तिक महिनामा यसरी झरी पर्नु सामान्य अवस्था भने होइन। नेपालबाट मनसुन निस्क्रिय भएको बेला पश्चिमी वायुका कारण वर्षा हुने भए पनि बाढीपहिरो ल्याउने गरेरै वर्षा नहुने विज्ञहरु बताउछन्। अहिले उच्च हिमाली क्षेत्रमा हिमपात र पहाडी तथा तराई क्षेत्रमा सामान्य वर्षाको समय हो। मौसम विदहरुका अनुसार नेपालमा पछिल्लो केही वर्ष यता वर्षाको प्रकृतिमा समेत परिवर्तन आएको छ। छोटो समयमा धेरै वर्षा हुन थालेपछि विपदका घटनाहरु पनि बढ्न थालेका हुन्। अधिक वर्षा हुने दिनहरु समेत वृद्धि भएको मौसमविदहरुको मत छ।

किन कात्तिकमै झरी?

नेपालमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्छ। समान्यतय नेपालमा मनसुन अवधि जुन १० देखि सेप्टेम्बर २३ बिचको १०५ दिनलाई मान्ने गरिएको छ। तर, पछिल्लो समय वर्षाको अवधि बढेको देखिएको छ।

मौसमविद तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डा.ऋषिराम शर्माले नेपालमा अत्यधिक वर्षा हुने दिनहरूमा वृद्धि भएको बताए। तापक्रम वृद्धि भएसँगै वायुमण्डलमा संग्रह भएको अत्यधिक तापशक्तिका कारण यस्तो विषम मौसमी अवस्था उत्पन्न भएको उनको तर्क छ।

शर्माले नेपालमा मनसुन सकिएको भए पनि दुइवटा प्रणालीका कारण झरी परेको बताए। भने, 'मनसुन सकिसकेको हो। तैपनि बाढी आउने गरेर वर्षा भइरहेको छ। नेपालमा २ वटा प्रणालीले आएर वर्षा भयो। एउटा पश्चिमी वायुले जलवाष्पयुक्त हावा अरबियन सागरबाट नेपाल आयो र अर्को बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपालमा आयो। मौसमविद शाक्यले अहिले पोष्ट मनसुनको समय भएकाले वर्षा हुनु सामान्य भएको बताइन्। उनले यसअघि पनि नेपालमा पोष्ट मनसुनको बेलामा भारी वर्षा भएको रेकर्ड भएको उनको भनाइ छ। 'पोष्ट मनसुनका बेलामा नेपालमा वर्षा भएको रेकर्ड छ। अक्टोबर महिनामा पनि ह्याभी रेन भएको छ। मनसुन ११ अक्टोबरमा बाहिरिएको थियो,' उनले भनिन्।

साइकोलन सिजनमा वर्षा हुने शाक्यको भनाइ छ। उनले मनसुन पूर्वको अवस्था र मनसुन निष्क्रिय भएको अवस्थामा साइकोलोन हुने भए पनि अहिले नै साइकोलोन भइसकेको भन्न नमिल्ने बताइन्। 'यो साइकोलोन सिजन हो। यो सिजन भनेको मनुसन अगाडि र मनसुन पछाडिको समय हो। अहिले साइकोलन नै बनेको त होइन,' शाक्यले भनिन्। अहिलेको झरीको आधारमा मंसिर पुसमा पनि ठुलो पानी पर्ने नपर्नेबारे अनुमान गर्न नसकिने शाक्यको मत छ। 

'वायुको बाटो नेपाल पर्दा झरी'

न्युन चापीय रेखा अहिले नेपालको तराइ क्षेत्रको आसपासमा भएकाले वर्षा नरोकिएको शर्माको भनाइ छ। चीन र तिब्तमा रहेको न्युनचापीय रेखातर्फ जलवाष्पयुक्त वायु जाने क्रममा नेपाल बाटो परेको उनले बताए। 'जहाँ न्युनचापीय रेखा छ र त्यहाँबाट जलवाष्पयुक्त हावा चीन र तिब्बतितर जाने क्रममा बाटो नेपाल पर्‍यो। त्यसैले 'अनद वे' मा पानी पारेको छ। यो पोष्ट मनसुनको अवस्था हो। धेरै पानी पर्ने समय होइन र पनि पानी परेको छ अहिले,' उनले भने।

नेपालमा दुइवटा प्रणाली मिसिँदा पनि मनसुनको जस्तै झरी परिरहेको शर्माको भनाइ छ। पूर्वी नेपालमा पूर्वीय र पश्चिम नेपालमा पश्चिम वायुको प्रभावले पानी परिरहेको छ। पश्चिमी वायु अरेबियन सागरबाट आएको छ भने बंगालको खाडीबाट आएको पूर्वी जलवाष्प युक्त वायु आएको छ। जलवाष्पयुक्त वायुले पूर्व र पश्चिममा पानी पारिरहेको छ। शर्माले न्युनचापीय रेखा नेपालमै रहेका कारण दुबैतिरबाट आएको बादल जम्म भएर झरी परिरहेको बताए।

'न्युनचापिय रेखा नेपालकै आसपासमा हुनाले दुबैतिरबाट यहाँ क्लाउड भनौ या बादल यही नै थुप्रिएको छ। त्यसले पानी पर्‍यो।'

धेरै पानी पर्नु जलवायु प्रकोपको हिस्सा

झरी पर्ने क्रम नरोकिँदा विपदा घटनामा अझै वृद्धि हुने देखिएको छ। जसलाइ विज्ञहरुले अतिजन्य घटनाका रुपमा लिएका छन्। शर्माले अहिलेको मौसमको अवस्थाले गर्दा अतिजन्य मौसमी घटना वृद्धि भएको बताए। पानी पर्दा ठुलो पानी पर्ने र नपर्दा लामो समयसम्म नपर्ने अवस्था असामान्य भएको उनको भनाइ छ। विपदका हिसाबले यस्तो अवस्था समान्य मान्न नसकिने उनले बताए।

'अहिलेको ट्रेन एनालाइसिस गर्‍यो भने अतिजन्य मौसमी घटनाहरु वृद्धि भएको छ। पानी पर्‍यो भने ठुलो पानी पर्ने पानी परेन भने लामो समयसम्म पानी नपर्ने त्यो खालको घटना बढेको छ। धेरै पानी पर्ने औसत दिनहरु चाहि बढेको छ। विपदका हिसाबले यो राम्रो लक्षण चाहि होइन। पानी एक नासले पर्न त ठिकै हो तर पानी पर्दा धेरै पर्ने र लामो समयसम्म नपर्ने त्यो चाही राम्रो होइन,' उनले भने।

नेपालको भौगोलिक अवस्थाका कारण पनि अहिलेको वर्षालाई सामान्य मान्न नसकिने उनको भनाई छ। मौसम विदहरुले यसलाई जलवायु प्रकोपको हिस्सको रुपमा लिएका छन्। 'हाम्रो जुन भौगोलिक अवस्था छ त्यसले गर्दा असाधारण हो। यसलाई जलवायु प्रकोपको एउटा हिस्सका रुपमा लिन सकिन्छ,' शर्माले भने।

पश्चिमी वायुले सक्रिय हुदा मनसुन पछि हिउँद सुरु हुने र त्यसबेला नेपालको उच्च हिमाली क्षेत्रमा हिमपात र पहाड तथा तराइ क्षेत्रमा वर्षा हुने गरेको छ। तर अहिले भइरहेको वर्षाको 'इन्टेनसिटी' बढी भएकाले यसलाई सामान्य नमानिने शर्माले बताए।

'पोष्ट मनसुनपछि विण्टर सिजन सुरु हुन्छ त्यसबेला पश्चिमी वायु सक्रिय हुन्छ खासगरी त्यतिबेला उच्च हिमाली क्षेत्रमा हिमपात हुन्छ भने तल्लो क्षेत्रमा पानि पर्छ। तर कतिको इन्टेनसिटी वा बढी पानी पार्छ अहिले भन्न सकिदैन। हिउँदमा पर्ने वर्षा पर्छ,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell