काठमाडौं : नेकपा (एमाले)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेको छ।
एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले आज विज्ञप्ति जारी गरी बाढी पहिरोका कारण कतिपयको ज्यान गएको, कतिपय घरबारविहीन भएका, कतिपय व्यक्ति बाढीमा फस्न पुगेको र हवाहुरीले पाकेको धानबाली सखाप भएको जनाउँदै कृषिमा आश्रित लाखौँ किसान परिवारमाथि ठूलो बज्रपात भएको उल्लेख गरेका छन्।
एमालेले यस क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसानको पीडाप्रति सहानुभूति व्यक्त गरेको छ।
‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अवरुद्ध यातायातलगायत सेवा तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्ति र सङ्कटमा परेका पर्यटकको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछौँ। मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीले अप्रत्यासितरुपमा आउने यस्ता विपत्तिको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गर्दछौँ।’