PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

डोटीमा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध, सवारी साधन बीचबाटोमै अलपत्र



रासस

डोटीमा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध, सवारी साधन बीचबाटोमै अलपत्र
फाइल फोटो।

डोटी : तीन दिनदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी-साँफे सडकअन्तर्गत डोटीको उडितोलामा आज दिउँसो पहिरो आउँदा उक्त राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो।

पहिरोले अवरुद्ध राजमार्ग सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन भए पनि वर्षा नरोकिएका कारण राजमार्ग खुलाउन नसकिएको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला बाजुरा तथा अछामबाट तराइ जानका लागि आएका दर्जनौँ सवारी साधन तथा यात्रु अहिले बीचबाटोमै अलपत्र परेका छन्।

यसैगरी, डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने डा केआइसिंह राजमार्गका विभिन्न ठाउँमा पनि पहिरो जाँदा यातायात सेवा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको कालागाढ, रडुवा, अड्यौललगायतका ठाउँमा पहिरो आउनुका साथै सडकमा ठूलठूला ढुङ्गा आएका कारण सडक सञ्चालन गर्न सकिएको छैन।

अवरुद्ध भएको उक्त राजमार्गमा सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरिए पनि पहिरो आउने र सडक तलबाट भासिनेक्रम नरोकिएकाले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell