काठमाडौं : प्रत्येक दसैंमा सवारी दुर्घटना अन्य समयको भन्दा बढी हुने गरेको छ। घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत ६ सयभन्दा बढी सवारी दुर्घटनामा पर्ने गरेका छन्। यसरी भएका दुर्घटनामा १५ दिनको अवधिमा सय जनाभन्दा बढी मानिसले अकालमै ज्यान गुमाउनु परेको छ। यस पटकको दसैंमा पनि एक सय जनाभन्दा बढीको ज्यान लिने सवारी दुर्घटना भए।
दसैंको बिचमा मुगुको छायाँनाथ रारा नगपालिका वडा नम्बर ७ पिनातपने खोलामा बस दुर्घटना भयो। दसैंमा ३२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाले सबैलाई मन अमिलो बनायो। बस सडकबाट २/३ सय मिटर तल झरेको थियो। बसमा ४५ जना यात्रु सवार भएको अहिलेसम्म खुलेको छ। घटनाको अनुसन्धानको लागि डिएसपीको नेतृत्वमा छानबिन समिति बनाइएको छ।
समितिले छानबिन गरेपछि दुर्घटनाको कारण खुल्ने छ। तर दसैंको अवधिमा देशभर दुर्घटनाहरु बढेका हुन्छन्। यात्रुको क्षमता, सडकको अवस्था, चालक र सवारीको कारणले नै दुर्घटना दसैंको समयमा बढी हुने गरेको जानकारहरू बताउँछन्।
मुगुपछि सबैभन्दा धेरैको दुर्घटना ज्यान गएको घटना हो कास्कीको घान्द्रुकमा जिप दुर्घटना। घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो। पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेर जिप घान्द्रुकको अन्नपूर्ण १०- कलाभीरमा २ सय मिटर तल खस्दा ८ जनाको मृत्यु भएको थियो।
त्यसो त दसैं भर एक दुई जनाको सवारीमा ज्यान गएको कति घटना बाहिर नै आएनन्। तर ठुला र बस दुर्घटनाले धेरेको दसैं खिन्न बनायो।
सोमवार मात्र नुवाकोट र नवलपरासीमा बस दुर्घटना भए। धेरै मानिस दुर्घटना परे। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका थिए। बिहान १०: ३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको थियो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बिचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो। उक्त दुर्घटनामा घाइते भएका ४२ यात्रु थिए। झन्डै एउटै समयमा नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भए।
किस्पाङ गाउँपालिका ५ स्थित मानेगाउँ भन्ने ठाउँमा बस दुर्घटना भएको थियो। बा ४ ख ५७६२ नम्बरको बस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका थिए।
प्रत्येक दसैंमा सय जनाभन्दा बढीको जान्छ ज्यान
प्रहरीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दसैंमा १ सय जनाभन्दा बढी मानिसको सवारी दुर्घटनामा ज्यान गएको देखिन्छ। घटस्थापना (असोज २१) देखि असोज ३० गतेसम्म देशभर सवारी दुर्घटनामा परेर १ सय ४९ जनाको मृत्यु भएको देखिन्छ। यो अवधिमा देशभर साना ठुला गरेर ७ सय ४९ वटा सवारी दुर्घटना भएका थिए। यसरी दुर्घटनामा पर्ने साधनमा सबैभन्दा धेरै मोटरसाइकल नै रहेका छन्। ६ सय ३७ वटा मोटरसाइकल दुर्घटना भएका छन्। ७८ वटा बस, १३ वटा माइक्रो बस, २ सय ६४ वटा जिप र कार दुर्घटनामा परेका छन्। ट्याक्टरदेखि ट्याम्पोसम्म दुर्घटनामा परेको देखिएको छ। दुर्घटनामा १ हजार १ सय ७३ जना घाइते भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।
'दसैंमा यात्रुको चापलाई ध्यानमा राखेर सवारीको प्लानिङ गरिएको पाइदैंन। त्यस्तै सडक र सवारीको अवस्था पनि खासै चासोमा राखिएको देखिदैंन जसले गर्दा दशैमा दुर्घटना बढ्ने देखिन्छ,' पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले भने।
त्यस्तै २०७७ सालको दसैंको घटस्थापनादेखि पूर्णिमासम्म देशभर ८ सय ५६ वटा दुर्घटना भएका थिए। जसमा १ सय १४ जना मानिसले ज्यान गुमाएका थिए। १२ सय ३६ जना घाइते हुन पुगे। देशभर १ हजार ३ सय ९० वटा सवारी दुर्घटनामा परे। यसरी दुर्घटनामा पर्नेहरूमा सबैभन्दा धेरै मोटरसाइकल नै थिए। ७ सय ९४ वटा मोटरसाइकल, ४६ वटा बस, ६२ वटा ट्रक ट्रेकर, ३ सय १ वटा जिप/कार, ४० वटा ट्याम्पोलगायत सवारी साधन दुर्घटनामा परेका थिए।
'सवारी दुर्घटनालाई मध्यनजर गर्दै हामीले सुरक्षा प्रबन्ध मिलाएका हुन्छौँ। मापसेलाई कन्ट्रोल गरे सवारी दुर्घटना कम हुन्छ। अहिले काठमाडौं उपत्यकामा दुर्घटना कम भएको छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले भने।
२०७६ सालको दसैं अवधिमा देशभर ७ सय वटा दुर्घटना भए। जसमा १ सय ११ जनाले ज्यान गुमाउनु परेको थियो। घाइते हुनेहरूको सङ्ख्या १ हजार १० हुन पुग्यो। १ हजार १ सय ६० वटा सवार साधन दुर्घटनामा परे। जसमा प्रत्येक दसैंमा झैँ मोटरसाइकल नै सबैभन्दा धेरै दुर्घटना भए। ५ सय ३ वटा मोटरसाइकल दुर्घटना हुँदा १ सय ४७ वटा बस दुर्घटना भएका थिए। ३ सय ३८ वटा जिप/ कार, १९ वटा टिपर, ट्रक/ ट्याङ्कर ७३ वटा दुर्घटना भएको देखिएको छ।
'दुर्घटना कन्ट्रोल गर्न स्थानीय निकायदेखि सवारी धनीलाई समेत जिम्मेवार बनाउनुपर्छ। दुर्घटनाको जिम्मेवारी कसले लिने भन्ने नै छैन। गल्ती हुनेलाई कारबाही पनि गर्नुपर्छ,' पूर्व प्रहरी हाछुथेले भने।
२०७५ सालको दसैंमा देशभर ५ सय ६८ वटा सवारी दुर्घटना भएका थिए। जसमा १ सय २९ जना मानिसले ज्यान गुमाउनु परेको थियो। ८ सय ७५ जना घाइते भएका थिए। ९ सय २० वटा सवारी दुर्घटनामा पर्दा ३ सय ९७ वटा मोटरसाइकल दुर्घटना भएका थिए। ९५ वटा बस, २ सय ५६ वटा जिप/ कार, ५३ वटा ट्रक/ ट्याङ्कर दुर्घटनामा परेका थिए।
पछिल्ला केही वर्ष देशभित्र हुने सडक दुर्घटना बढ्दो छ। गत आर्थिक वर्षमा मात्र ३२ प्रतिशतभन्दा बढीले सडक दुर्घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ देशभर २० हजार ६ सय ३४ वटा सडक दुर्घटना भएका थिए। त्यस अघिको आर्थिक वर्ष २०७६/७७ मा १५ हजार ५ सय ५४ वटा मात्र सडक दुर्घटना भएको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा सडक दुर्घटनाको सङ्ख्या १३ हजार ३ सय ६६ रहेको छ।
प्रत्येक वर्ष यातायात व्यवसायीले दसैंमा घर फर्किनेहरूको लागि अग्रिम टिकट खुलाउँछ। केही सवारी साधनसमेत थपिन्छन्। तर राज्यले यसरी घर फर्किँदा कति सवारी साधन चाहिन्छ? सडकको अवस्था कस्तो छ? सवारी साधनको यान्त्रिक अवस्था के छ? चालकले कति हतारमा सवारी दौडाएका छन्? भन्ने प्रश्नको जवाफ खोज्दैन। नत यस्ता समस्याको समाधान नै गर्छ। जसको कारण प्रत्येक दसैंमा सय जनाभन्दा बढी मानिसले अकालमा नै ज्यान गुमाउनु परेको छ। र, उनीहरू आफ्नो मृत्युको जिम्मेवार आफैँबाहेक अन्य कोही बनिदिदैनन्।