PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बेमौसमी वर्षाका कारण हालसम्म ३६ जनाको मृत्यु : ३२ जना बेपत्ता, ४०० विस्थापित



बेमौसमी वर्षाका कारण हालसम्म ३६ जनाको मृत्यु : ३२ जना बेपत्ता, ४०० विस्थापित
जुम्लाको तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँस्थित बाढीले भत्काउनै थालेको भेरीखोला साना जलविद्युत आयोजनाको विद्युत गृह।

काठमाडौं : आइतवारबाट परेको अविरल वर्षाका कारण हालसम्म ३६ जनाको ज्यान गएको छ। असोज ३१ गते आइतवारबाट सुदूरपश्चिम लगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो।

वर्षाका कारण डोटी, बैतडी, कैलाली, कञ्चनपुरमा ठुला तथा साना बाढी र पहिरोले मानवीय क्षति गरेको थियो। बाढी पहिरोबाट सुदूरपश्चिममा हालसम्म बैतडीमा ४ जना र डोटीमा ७ जनाको ज्यान गएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ।

डोटीमा पहिरोमा पुरिदा ७ जनाको मृत्यु  भएको छ। आइतवारदेखि आएको बाढी र पहिरोमा परेर ७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जानकारी गराएको छ।

जोरायल गाउँपालिका ३ बस्ने ६० वर्षीय जोगी सार्कीको घर पुरिदाँ उनको मृत्यु भएको हो। त्यस्तै जोरायल गाउँपालिका ४ शेरबहादुर विकको घर पुरिदा उनी सहित ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शिखर नगरपालिका बस्ने ३६ वर्षीय मन्धरा बलायरको पनि पहिरोमा पर्दा मृत्यु भएको हो। हिंडिरहेको अबस्थामा माथि बाट माटो सहितको ढुङ्गा खस्दा घाइते भएकी बलायरको उपचारको क्रममा मृत्यु भएको हो। सायल गाउँपालिका बस्ने ३४ वर्षीय बिरे रोकायको खोला तर्ने क्रममा बगाएर मृत्यु भएको छ।

त्यस्तै सायल गाउँपालिका ५ बस्ने हिरुवा लोहारको  घर भत्किएर पुरिदाँ मृत्यु भएको छ।

कर्णालीको हुम्लामा ४ जनाको मृत्यु भएको छ।

असार साउनमा पर्ने मुसलधारे वर्षा किन भइरहेको छ कात्तिकमै?

मंगलवारबाट वर्षा पूर्वतर्फ सरेको छ। जसका कारण प्रदेश १ मा वर्षा र बाढीले वितण्डा मच्चाएको छ। बाढी पहिरोका कारण प्रदेश १ मा इलाममा ३ जनाको, पाँचथरमा ५ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। यता बाढीका कारण उदयपुरमा १ जनाको ज्यान गएको छ। पहिरोले पुरिँदा धनकुटामा ६ जनाको मृत्यु भएको छ।

 राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो। पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ६ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।

 घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले बताए।

 गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उनले बताए। घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन्। घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ।

बाढीपहिरोमा परी देशभरका ३२ जना बेपत्ता रहेका छन् भने १७ जना घाइते भएका छन्। वर्षाका कासण ४०० जना भन्दा बढी विस्थापित बनेका छन्। यसैगरी भित्र्याउन ठीक्क पारेको धान खेतीमा समेत ठूलो क्षति पुगेको छ।

सम्बन्धित समाचार
पहिरोले घर पुरिदाँ धनकुटामा पाहुना आएका सहित ६ जनाको मृत्यु
विराटनगर विमानस्थल जलमग्न : रोकिए उडानहरू
दुहबी सबस्टेसन डुबानमा पर्दा प्रदेश १ भर 'ब्ल्याक आउट', वर्षाले सुदूरपश्चिमका पहाडी जिल्लामा पनि विद्युत अवरुद्ध
बेमौसमी वर्षाले सुदूरपश्चिममा दश जनाको मृत्यु, पश्चिमबाट पूर्वतर्फ सर्‍यो वर्षा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell