काठमाडौं : पछिल्लो तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न ठाउँमा भएको मानवीय क्षतिसहित अन्नवाली नष्ट भएको भन्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुःख व्यक्त गरेका छन्। उनले तीनवटै सुरक्षा निकायलाई परिचालन गरी उद्धार र राहतको कार्य अघि बढाउन संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारको ध्यानाकर्षण गराएका छन्।
'बाढीका कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यबस्था मिलाउन संघीय सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु,' निधिले भनेका छन्, 'साथै, यस विपतको घडीमा प्रदेश र स्थानीय सरकारहरुलाई आ आफ्नो ठाउँबाट उद्धार र राहतमा जुट्न आग्रह गर्दछु।' उनले देशभरका पार्टी कार्यकर्तालाई पनि उद्धारमा जुट्न आह्वान गरेका छन्।
'बाढी पहिरोले खासगरी पश्चिम नेपालका धेरैजसो सडक अवरुद्ध हुनुका साथै भौतिक संरचना ध्वस्त बनेका छन्। यसैगरी विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा सर्बसाधारण मर्कामा परेका छन्,' निधिले भनेका छन्, 'अवरुद्ध सडक, विद्युत् र सञ्चार सेवा तत्काल संचालनको व्यबस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउँदछु।'
बालीनाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेको भन्दै उनले खेतबारीमा काटेको धान पानीमा डुब्दा ठूलो मात्रामा अन्नबाली नष्ट भएको जनाए। 'यसबाट कृषि प्रधान मुलुकका किसानको मेहनत लगानी जोखिममा परेको छ। यसले भोलिका दिनमा भोकमरीको खतरा बढाएको छ। बालीनालीमा भएको नोक्सानीको अध्ययन गरी पीडित किसानलाई राहतको व्यबस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउँदछु,' उनले भनेका छन्।
