भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज उत्तर प्रदेशको कुशीनगरमा निर्माण भएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।
सन् २०२० मा मोदी सरकारले कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। केन्द्र र राज्य सरकारले कुशीनगर यात्रामा आउने विदेशी यात्रुहरुलाई लक्षित गर्दै यो विमानस्थल संचालनमा ल्याएका हुन्।
नेपालसँग सीमा जोडिएको यस क्षेत्रमा गौतम बुद्धले निर्वाण प्राप्त गरेको मानिन्छ। गौतम बुद्धको जन्म भएको लुम्बिनीमा पनि अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ। नेपालले बौद्ध धर्मवालम्बीलाई समेत लक्षित गर्दै लुम्बिनीमा विमानस्थल निर्माण गरिरहेको हो। लुम्बिनीबाट भारतको कुशीनगर सडक मार्गबाट करिब १८० किलोमिटर टाढा पर्छ।
नेपालले बौद्ध धर्मवालम्बीलाई लुम्बिनी भित्र्याउँदै त्यसलाई 'बुद्धिष्ट हब' बनाउन अन्तर्राष्ट्रि विमानस्थल निर्माण गरिरहेको समयमा नै भारतले पनि त्यसैको नजिकै अर्को अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याएको हो। त्यसैले पनि यस विमानस्थललाई मोदी सरकारको 'रणनीतिक मुभ' का रुपमा हेरिएको छ।
कुशीनगर क्षेत्रमा धेरै संख्यामा बौद्ध धर्मवालम्बीहरु पुग्ने गर्छन्। विश्वभर छरिएर रहेका बौद्ध धर्मवालम्बीलाई लक्षित गर्दै कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल स्थापना गर्ने निर्णय मोदी सरकारले गरेको थियो।
'बुद्ध' कुटनीति
नेपालबाट नजिक कुशीनगरलाई 'बुद्धिष्ट हब' का रुपमा विकास गर्न भारतले त्यहाँ अन्तराष्ट्रिय विमानस्थल बनाइएको हो। उत्तर प्रदेशकै आर्थिक अवस्थालाई उकास्ने लक्ष्य सहित करिब २६० करोड भारतीय रुपैयाँमा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल आजबाट संचालन समेत भइसकेको छ।
श्रीलंकाबाट बौद्ध भिक्षुहरु लिएर आएको चार्टड विमान कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यससँगै नेपालसहित बौद्ध धर्मावलम्बी रहेका देशका प्रतिनिधिसमेत कुशीनगर पुगेका छन्। भारत सरकारले कुशीनगरलाई 'बुद्धिस्ट सर्किट' मा आउने धर्मावलम्बीको 'साझा गन्तव्य' बनाउने रणनीति लिएको छ। त्यसैले पनि आजको उद्घाटनमा मोदी सरकारले त्यहाँ रहेका बौद्ध धर्मावलम्बी रहेका देशका प्रतिनिधिलाई बोलाएको हो।
विमानस्थल उद्घाटन कार्यक्रममा श्रीलंकाबाट श्रीलंकाली प्रधानमन्त्री महिन्द्रा राजपाक्षेका छोरा एवम् खेल मन्त्री नमल राजपाक्षेको नेतृत्वमै उच्चस्तरीय प्रतिमण्डल कुशीनगर पुगेको हो। कुशीनगरमा राजपाक्षेले 'बुद्धिजम श्रीलंकाले भारतबाट पाएको सबैभन्दा उत्कृष्ट उपहार' रहेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्राट अशोकले नै श्रीलंकामा बौद्ध धर्म लगेको बताए।
भारतका लागि थाइल्यान्डका राजदूत पत्तरत हङतङले थाइल्यान्डका नागरिकहरु बुदिस्ट सर्किट पूरा गर्न भारत आउने गरेको बताइन्। उनले यो विमानस्थलबाट भारत र थाइल्यान्डबिच पर्यटकीय गतिविधि बढ्ने बताइन्।
भियतनामका राजदूत पाम शान्ह चाउले भियतनामबाट आउने धेरै यात्रुमा बौद्ध धर्मावलम्बी रहेको बताए। उनले विमानस्थलबाट दुई देशबिच धार्मिक र सांस्कृतिक महत्वको यात्रा बढ्ने बताए। यस्तै, जापानका प्रतिनिधिले पनि विमानस्थल संचालनमा आएसँगै दुवै देशबिच सांस्कृतिक आदानप्रदान गर्ने बताए।
भुटानका राजदूत मेजर जेनरल भेसतप नामग्यालले कुशीनगर विमानस्थलले बुद्धिस्ट सर्किट पूरा गर्न सहज वातावरण सिर्जना गर्ने बताए। म्यानमारका राजदूत मो काउ आङे म्यानमारबाट कुशीनगरमा धेरै यात्रु आउने गरेको भन्दै कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल बुद्धिस्ट सर्किटका लागि महत्वपूर्ण हुने बताए।
कार्यक्रममा नेपालको प्रतिनिधत्व गर्दै पुगेका 'मिनिस्टर काउन्सलर' आनन्द प्रसाद शर्माले विमानस्थल कुशीनगरका लागि मात्र नभइ लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि पनि महत्वपूर्ण भएको प्रतिक्रिया दिए। उनले यस विमानस्थलले बुद्धिस्ट सर्किट घुम्न यात्रुहरुलाई सहजता दिने बताए।
क्याम्बोडिया, लाओस् लगातयका देशका प्रतिनिधिले पनि विमानस्थले बुद्धिस्ट सर्किट विकासमा टेवा पुग्ने प्रतिक्रिया दिए।
कार्यक्रममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल 'एयर कनेक्टिभिटी' को माध्यममात्रै नहुने बताए। यस विमानस्थलले 'विजनेश इकोसिस्टम' निर्माण गर्ने भन्दै मोदीले यसबाट सबैजना लाभान्वित हुने दाबी गरे।