PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

'ठुला माछा साना माछा' नाटकमाथि कविता लेखन प्रतियोगिता घोषणा



पहिलोपोस्ट

'ठुला माछा साना माछा' नाटकमाथि कविता लेखन प्रतियोगिता घोषणा

काठमाडौं : शिल्पी थिएटरले कविता लेखन प्रतियोगिताको घोषणा गरेको छ। थिएटरले नाटक 'ठुला माछा साना माछा' माथि केन्द्रित रहेर कविता प्रतियोगिताको आयोजना गरेको हो।

नाटक र कविताको सम्बन्ध बलियो बनाउन नाटकमाथि कविता लेख्ने अभियान सुरु गरेको नाटकका निर्देशक घिमिरे युवराजले बताउँछन्।

'नाटक हेर्न कवि/लेखकहरु आउने गर्छन्। नाटक हेरिसकेपछि उहाँहरुको सोच र विचार केही न केही रुपमा आओस् भन्ने चाहना हुन्छ। तर सबैसँग कुरा गर्न पनि सकिदैन। त्यसैले नाटक हेरेर उहाँहरुको जे विचार आउँछ त्यो अभिव्यक्ति कवितामार्फत आओस् भन्ने यो प्रतियोगिताको उद्देश्य हो।'

शिल्पी थिएटरबाट 'ठूला माछा र साना माछा' टिम भोलि काठमाडौंबाट निस्किनेछ। यो नाटक देशैभरका २१ ठाउँहरुमा मञ्चन गर्ने तयारी टिमको रहेको छ। 'शिल्पी नाट्य यात्रा २०७८' मार्फत कार्तिक ४–१७ सम्म झापा, मोरङ र सुनसरीमा मञ्चन गरिनेछ।

युवराजकै निर्देशन र परिकल्पना रहेको यो नाटक आम नागरिकको दैनिक जीवनसँग सम्बन्धित रहेको बताइएको छ। न्याय प्रणालीसँग सम्बन्धित यो नाटकमा सरकारी सेवाबाट आम मानिसहरुले कति झमेला भोग्नुपर्छ भनेर प्रस्तुत गरिने घिमिरेले बताए।

यसअघि पनि नाटक हेरेर चित्र बनाउने र कविताहरु कोर्ने अभ्यास भइसके पनि कविता लेखन प्रतियोगिता भने पहिलोपटक भएको उनले दाबी गरे।

'विभिन्न बेला नाटक हेरेर विभिन्न अभ्यासहरु भइसकेका छन्। तर प्रतियोगिता नै पहिलो पटक हो। यस्तो अभ्यास भइराख्नुपर्छ। भोलि नाटक हेरेर कथा प्रतियोगिता पनि हुनसक्छ। यस्ता अभ्यास हुँदा भोलि नाटक नै लेख्न पनि सक्छन् जसले झन राम्रो हुन्छ।' उनले भने।

नाटक मञ्चनपछि दर्शकले नाटकको विषयवस्तुमाथि कविता लेखेर यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। २१ ठाउँमा नाटक मञ्चन भइसकेपछि कविता प्रतियोगिताको विजेता छनौट गरिने व्यवस्था छ ।

तिहारपछि काठमाडौँमा डबलीहरुमा समेत यो नाटक मञ्चन गर्ने तयारी रहेको युवराज बताउँछन्। नाटक हेर्न नपाउने दर्शकका लागि अनलाइनमा हेर्ने व्यवस्था गरिनेछ।

कविता प्रतियोगिताको संयोजक सकुन्तला जोशी हुन्। उनको संयोजकत्वमा ३ जनाको निर्णायक समिति हुनेछ। पहिलो चरणमा देशैभरिबाट २० वटा कविताहरु सर्ट लिस्टमा छानिनेछन्। छनोट भएका लेखकहरुलाई काठमाडौं बोलाएर सेमिनार गरिनेछ। जसमा उनीहरुले कविता वाचन गर्नेछन्। जसबाट उत्कृष्ट ४ ले जनही २५ हजार रुपैँया नगदसहित प्रमाणपत्र पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell