
काठमाडौं : श्याम मुखियाले पाँच वर्षअघि मोरङमा होजियारीको व्यापार सुरु गरे। व्यापार थाल्न उनीसँग गोजीमा मनग्गे पैसा थिएन। त्यसैले, ऋण लिएर व्यापार सुरु गरेका थिए। उनले जसरी फाइदाको आशामा व्यापार थालेका थिए, त्यसो भएन।
व्यापारले मुखियालाई डुबायो। १० लाख ऋण काडेर थालेको व्यापारबाट न ब्याज तिर्न सके न त सावाँ नै। झन् कोरोना संक्रमण भन्दै लकडाउन भएपछि थप व्ययभार। ऋण दिने साहुहरु दैनिक व्याज र सावाँ माग्न मुखियाको घर धाउनेक्रम बढ्यो।
आर्थिक भारले श्याम यसरी थिचिए कि उकासिन सजिलो थिएन। उनले आफ्नो समस्या सीमापारी मामा पर्ने एक जनालाई सुनाएका थिए। त्यही कुरा भारतको अररिया गोराहा ४ बस्ने ३० वर्षीय विजय सहनीलाई पनि सुनाएका थिए। विजयले मुखियालाई चिन्ता नगर्न भन्दै केही उपाय खोज्ने ढाडस दिए। त्यसपछि उनले मुखियालाई ऋणको व्याजमात्र होइन सावाँसमेत तिर्ने उपाय सिकाए।
विजयले मुखियालाई दिएको उपाय अहिले उनीहरु दुवैका लागि १० लाखको ऋणभन्दा महँगो सावित भएको छ। विजयले मुखियालाई पैसा लुट्ने योजना सुझाएका थिए। मुखियाले पनि उनको योजनामा साथ दिए। लुटेर पैसा तिर्ने योजना बनाएका थिए उनीहरुले। पहिलो लुट त उनीहरुको सफल भयो। तर, सोचेको जस्तो रकम हात लागेन। दोस्रो पटक उनीहरुले बढी रकम लुटे। तर, समातिए पनि।
असोज २५ दिउँसो मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको सिटिजन्स बैंक लुटेको अभियोगमा प्रहरीले उनीहरुलाई समात्यो। समातिनेहरुमा उनीहरु दुई जनासँगै अन्य पनि थपिए। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ बस्ने २८ वर्षीय सुनिल यादव र ३० विजय सहनीलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै, फरार रहेका भारत अररिया फारवेसगञ्ज १० बस्ने २० वर्षीय रोशन यादवलाई पनि नियन्त्रणमा लिन प्रहरी सफल भयो।
यसरी लुटियो बैंक
मुखियाले भारतीय नागरिक विजयलाई भेटेपछि लुट्ने योजनाले आकार लिएको थियो। लुट्नका लागि प्रयोग पेस्तोल र दुई अरु मानिसको व्यवस्था बन्दोबस्त विजयले गरेका थिए। लुट्ने लोकेसन नेपाल नै थियो। त्यो लोकेसन भने मुखियाले छनोट गरेका थिए। मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका सञ्चालकलाई लुट्ने योजना बन्यो।
असोज १७ गते उनीहरुले यसबारे सबै योजना बनाएका थिए। जुन कम्पनीमा लुट्दै थिए त्यही कम्पनीमा मुखियाले काम गरेका थिए। कम्पनीको गल्लामा सधैं ५ देखि १० लाख रुपैयाँ रहने गरेको याद थियो उनलाई। त्यसैले असोज २२ गते चार जना भएर उनीहरु लुट्न गए। तर, त्यस दिन साहुसँग १२ हजार रुपैयाँमात्र भेटियो। कम्तिमा ५ लाख हुने अनुमान फेल खायो। जम्मा १२ हजार लुटेका उनीहरुले २/ २ हजार रुपैयाँ भाग लगाए। २ हजार हात लागेर १० लाखको न सावाँ तिर्न पुग्थ्यो न त ब्याज नै।
'उनीहरुले साहुलाई पेस्तोलले टाउकामा हिर्काएर '१२ हजारमात्र राख्ने' भन्दै भागे। त्यसपछि उनीहरुको बैंक लुट्ने योजना बनेको देखियो,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दशन जीसीले भने।
बैंक त लुट्ने तर कहाँको बैक लुट्ने?
बैंकमा ग्राहकको उपस्थिति भएको, प्रहरीको नभएको, लुटेर सजिलै भारत भाग्ने सकिने 'सुरक्षित' बैंकको खोजी भयो। त्यसमा उनीहरुको नजर कर्सियाको सिटिजन्स बैंकको शाखामा पर्यो। थौरै कर्मचारी, प्रहरीको उपस्थिति पातलो र भारतीय सीमाभित्र पस्न ५ किलोमिटरको दुरी। यिनै आधारमा उनीहरुले कर्सियाको सिटिजन्स बैंकलाई 'टार्गेट' बनाएको प्रहरीको अनुसन्धानमा देखिएको छ।
लुट्न जानुभन्दा केही दिनअघि बैंक नजिकै पुगेर रेकी गरेर फर्किएका थिए। लुट्ने दिन असोज २५ गते तय भयो। भोलिपल्टदेखि दसैंको बिदा हुँदै थियो। बिहानै ११ बजेतिर ७/८ जनाको समूह बैंक नजिकै पुग्यो। त्यसपछि उनीहरुले लगातार 'रेकी' गर्न थाले। उनीहरुमध्ये केही बैंकमा कामकै सिलसिलमा गएजस्तो गरे। केही चाहिँ बाहिर चिया पसलमा रहेर निगरानी बढाइरहेको प्रहरी अनुसन्धानमा देखियो।
'कोरोनाको समय कुनै नकाब आवश्यक परेन उनीहरुलाई। सबैले मुखमा मास्क लगाएका थिए। उनीहरुले बिहानदेखि सेवाग्रही कम भएको मौका हेरेर बसिरहेको देखिन्छ,' एसपी जीसीले भने।
दिउँसो ३ बजेपछि धेरै बैंकले डिपोजिट तथा लोन लगायतका काम बन्द गर्छन्। झन्, ग्रामीण भेगका बैंकमा स्वभाविक रुपमा चाप कम। ३ बजेतिर बैंकमा ग्राहक घट्दै गए। ४/५ जनामात्र बाँकी रहे। साढे ३ बजेतिर बैंकबाट करिब ५ किलोमिटर पश्चिमतिर दुई युवाको झगडा भएको खबर आयो। ड्युटीमा रहेका प्रहरी झगडातिर नै लागे।
'झगडा भनेपछि त्यहाँ खटिएका प्रहरी पनि उतैतिर दौडिए। त्यही मौकामा उनीहरु बैंकमा छिरेको देखियो,' एसपी जीसीले भने।
खुकुरी लिएर बसेका सुरक्षा गार्ड शीतल कुमारलाई गोली प्रहार गरेर उनीहरुले नियन्त्रणमा लिए। त्यसपछि बैंकमा रहेको २१ लाख रुपैयाँ लिएर भागे। बैंक लुटिएको केही समयमा नै प्रहरीले खबर पायो। त्यसपछि प्रहरी तत्काल मुभ भयो र तीन जनालाई समात्न सक्यो।
अन्य भने लुटेको रकम लिएर फरार भए। अहिले प्रहरी तिनै फरार अभियुक्तलाई खोजी गरिरहेको छ।
'पैसा उनीहरुले नै लिएर भागेको बयान दिएका छन्। थप अभियुक्त र घटनाबारेमा अनुसन्धान भइरहेको छ,' एसपी जीसीले भने।
प्रहरीले घटनामा प्रयोग भएको हतियारसमेत बरामद गरेको छ। साहुको ऋण तिर्न गलत बाटो अपनाउँदा अब मुखियाको केही वर्ष जेलमा नै दिन बित्ने देखिन्छ। लोभले लाभ र लाभले विलाप भन्ने उखान यतिखेर मुखियाका सन्दर्भमा मिल्दो देखिएको छ।