विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड १९ संक्रमणको प्रभाव सन् २०२२ सम्म रहन सक्ने बताएको छ। गरिब राष्ट्रहरुले आवश्यक संख्यामा कोरोना भाइरसविरुद्धको खोप प्राप्त नगरेकोले कोरोना संक्रमण महामारी १ वर्ष बढी लम्बिने देखिएको हो।
डब्लुएचओका डा ब्रुस एलवार्डले भने, 'हामी संक्रमण नियन्त्रणको गतिमा छैनौं। हामीले यसलाई नियन्त्रण गर्न भ्याक्सिन दिने कार्यलाई तिब्रता दिनुपर्छ। यो महामारी समय भन्दा बढी एक वर्षका लागि लम्बिने देखिएको छ।'
अन्य देशहरुले ४० प्रतिशत खोप लगाइसक्दा अफ्रिकामा कूल ५ प्रतिशत नागरिकले मात्र कोरोनाविरुद्ध खोप लगाएका छन्। गरिब र निम्न आय भएका राष्ट्रहरुले खोप नपाउँदा संक्रमण नियन्त्रणको समय बढेको डब्लुएचओले बताएको हो।
एलवार्डले धनी राष्ट्रहरुलाई गरिब राष्ट्रहरुलाई सकेसम्म छिटो भ्याक्सिन दिन आग्रह समेत गरेका छन्।
