PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै



पहिलोपोस्ट

 कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
FILE PHOTO

काठमाडौं : बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ खुवाइने भएको छ। ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दशैं परेकाले कात्तिक ७ र ८ गते खुवाउने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ।

सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ। २०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइने छ।

पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने बताए। जुकाको औषधि २४ लाख बालबालिकाका लागि वितरण गरिनेछ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम संचालन गर्दै आएको छ। जुकाको औषधि २०५६ सालबाट खुवाउन थालिएको हो।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उनले बताए।

मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबिच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell