PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

तेस्रो धारको असन्तुष्टि ओली पक्षलाई आश्चर्य, वडा र पालिकाको अधिवेशन सार्ने गृहकार्यमा एमाले



प्रकाश भण्डारी

तेस्रो धारको असन्तुष्टि ओली पक्षलाई आश्चर्य, वडा र पालिकाको अधिवेशन सार्ने गृहकार्यमा एमाले

काठमाडौं : नेकपा एमालेले वडा र पालिकाको अधिवेशनको मिति सार्ने तयारी गरेको छ। कात्तिक ६ गतेका लागि तोकिएको वडा अधिवेशन र ९ गतेका लागि तोकिएको पालिका अधिवेशनको मिति हेरफेर गर्ने तयारी भएको हो।

बिहीवार बस्ने स्थायी कमिटीको बैठकले मिति सार्नेबारे छलफल गर्ने स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। बाढी पहिरोका कारण कतिपय जिल्लामा आवतजावत नै ठप्प भएकाले त्यहाँको अधिवेशन सार्नुपर्ने नेम्बाङले बताए।

'कतिपय ठाउँमा त अहिले ठप्पै छ नि। त्यहाँ त नसारेर भएन। त्यहाँ त हुन सक्दैन,' उनले भने। अध्यक्ष केपी शर्मा ओलीले वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट देशभर एकैसाथ सम्बोधन गर्ने तयारी गरेको भए पनि अब सबैठाउँमा एकसाथ अधिवेशन नहुने नेताहरुले बताएका छन्।

एमालेले आजका लागि बोलाएको बैठकमा विभिन्न ५ एजेण्डामा छलफल गर्न लागेको छ। आज बस्ने बैठकमा विधान महाधिवेशनबारे समीक्षा गर्ने एजेण्डा रहेको छ।

ललितपुरको गोदावरीमा असोज १५,१६ र १७ गते भएको विधान महाधिवेशनपछि एमालेको स्थायी कमिटीको बैठक पहिलोपटक बस्न लागेको हो। वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र बाढी पहिरोका विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो।

१० बुँदेको सकस कायमै

यस्तै, एमालेमा १० बुँदे सहमतिलाई लिएर फेरि किचलो सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बुधवारको वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधनका क्रममा १० बुँदे सहमतिको औचित्य नभएको बताएपछि एमालेको तेस्रो धार असन्तुष्ट बनेको छ।

१० बुँदे सहमतिपछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई छाडेर एमालेमै बसेका नेताहरुले ओलीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आजको बैठकमा ओलीको उक्त अभिव्यक्तिबारे आपत्ति जनाउने तयारीमा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल लगायतका १० नेताले आफ्ना असन्तुष्टि बैठकमा राख्ने तयारी गरेका छन्। ओलीले १० बुँदेबारेमा दिएको अभिव्यक्तिका बारेमा बैठकमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए। उनले विधान महाधिवेशनपछि पहिलोपटक बस्न लागेको बैठकमा १० बुँदे सहमतिपछि उठेका प्रश्नबारे समीक्षा हुने जानकारी दिए।

'१० बुँदे सहमतिबारे आज छलफल हुन्छ। विधान महाधिवेशनका बेला उठेका प्रश्नहरु पनि छन्,' उनले भने।

तर, उनीहरुको उक्त असन्तुष्टिबारे भने ओली पक्षले आश्चार्य व्यक्त गरेको छ। स्थायी कमिटी सदस्य सुवास नेम्बाङले उक्त अभिव्यक्तिबारे केही नेताहरु असन्तुष्ट रहेको भन्ने आफूलाई थाहा नभएको बताए। 'खै त्यो त थाहा भएन को असन्तुष्ट छ,' उनले भने।

१० बुँदेको असर अधिवेशनमा पनि देखिने

एमालेमा भएको १० बुँदे सहमतिबारे तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएर पार्टी विभाजन गरेका थिए। विभाजनका बेलामा उनलाई साथ नदिएर एमालेमै रहेका १० भाइ नेताहरुले पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै रोष प्रकट गर्न थालेका छन्।

कात्तिक ६ मा हुन लागेको वडा र कात्तिक ९ मा हुन लागेको पालिका अधिवेशनमा पनि उक्त सहमति कार्यान्वयन नभएको असर देखिने असन्तुष्ट नेताहरुको मत छ। ओलीले आफू निकटका मान्छेहरुलाई वडा र पालिकामा भर्ति गर्न खोजेको उनीहरुको आरोप छ। त्यसैले १० बुँदे कार्यान्वयन नभइसकेकाले वडा र पालिका अधिवेशनको मिति केही समय सार्नुपर्ने पक्षमा १० भाइ नेताहरु छन्।

तर, केही ठाउँको मात्रै मिति सार्नुपर्ने ओली निकट नेताहरुको मत छ। १० बुँदे सहमति कार्यान्यन नहुदा नेकपा माओवादी केन्द्रबाट आएका नेताहरुले एमालेको महत्वपूर्ण जिम्मेवारी पाएका छन् भने कतिपय ठाउँमा एमालेकै नेताहरु जिम्मेवारीबिहीन छन्। मुख्यगरी सुदुरपश्चिम प्रदेशमा भीम रावलले जिम्मेवारी पाएका छैनन् भने अहिले ओलीले माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई इञ्चार्ज बनाएका छन्।

उक्त विषयमा रावलले लगातार असन्तुष्टि पोखिरहेका छन्। यता वाग्मतीमा पनि माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल इञ्चार्ज रहदा अष्टलक्ष्मी शाक्यले आफ्नो पुरानो जिम्मेवारी पाएकी छैनन्। १० बुँदे सहमतिमा एमाले माओवादी एकता अघि २०७५ जेठ २ गतेको कमिटीमा फर्कने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell