PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा मागिन् विश्वासको मत, विपक्षी गठबन्धनले भन्यो : ओलीको साथमा उभिएकोले विश्वास छैन, मार्ग प्रशस्त गर्नुस्



पहिलोपोस्ट

अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा मागिन् विश्वासको मत, विपक्षी गठबन्धनले भन्यो : ओलीको साथमा उभिएकोले विश्वास छैन, मार्ग प्रशस्त गर्नुस्

काठमाडौं : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छिन्।

भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन्। अल्पमतमा परेकी शाक्यले आज प्रदेशसभामा विश्वासको मत मागेकी हुन्। उनले विश्वासको मत माग्दै सरकारको उपलब्धीबारे जानकारी दिइन्।

विश्वासको मत माग्दै शाक्यले सबै दललाई सरकारलाई सघाउन र सरकारको व्यवस्थापनमा सहयोग गर्न आग्र गरेकी थिइन्।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले विपक्षीले सरकारलाई विश्वासको मत लिने समय दिएको भन्दै शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे।

जम्कट्टेलले प्रदेशमा विपक्षी गठबन्धन ख्यालख्यालमा नबनेको भन्दै  आफूहरुलाई हल्का रुपमा नलिन चेतावनी दिए। उनले अब बन्ने सरकारले पहिलाका सरकारले गरेका गल्ती सच्याउँदै अघि बढ्ने दाबी गरे।

'व्यक्तिगत रुपमा मत दिनुपर्थ्यो। तर, राजनीतिक रुपमा संविधान विरोधी पार्टीको पक्षमा उभिएकाले उनलाई हामी मत दिन सक्दैनौं,' उनले भने, 'अब साझा कार्यक्रमबाट समाजवाद तर्फको यात्रा प्रारम्भ हुन्छ।'

कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले आफूहरु संविधान र शासन व्यवस्थाका लागि आफूहरुले गठबन्धन बनाएको भन्दै अब नयाँ सरकार बन्ने बताए। उनले तत्काल विश्वासको मत लिने प्रक्रिया टुंग्याउन आग्रह गर्दै राजा र राणा फालेको कांग्रेसले एमालेसँग कुनै सहकार्य नगर्ने बताए।

'सरकारले भ्रम र लोभ सिर्जना गर्‍यो। अबको गठबन्धन सरकारले गरिबको सपनालाई पुरा गर्छ' उनले भने।

प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्रीको उम्मेदवार भएको भन्दै अब विपक्षी गठबन्धनको सरकार निर्माण हुने बताए। 

'केपी ओलीलाई कमरेड होइनन्' भनेर शाक्यले भनेको स्मरण गर्दै पाण्डेले प्रतिगमनकारीको कित्तामा उभिएको व्यक्तिलाई साथ दिन नसकिने बताए।

'उहाँ प्रतिगमनकारीको पक्षमा उभिनु भयो। अष्टलक्ष्मीविरुद्ध राजेन्द्र पाण्डे उभिने दिने आयो' उनले भने।

उनले अल्पमतमा परेरपनि सरकार चलाइरहेकी शाक्यलाई विश्वासको मत लिने प्रक्रियामा रहेकै बेला मार्ग प्रशस्त गर्न आह्वान गरे।

यस्तो छ समीकरण

शाक्यसँग प्रदेशसभामा विश्वासको मत पाउने संख्या छैन। वाग्मतीमा एमालेको ४३ सांसद रहेको छ। केन्द्रमा सत्ता गठबन्धन दल माओवादीको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाको १ सांसद रहेको छ। यसैगरी विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ जना सांसद वाग्मती प्रदेशमा रहेका छन्।

आधा-आधा कार्यकाल

शाक्यलाई विस्थापित गर्दै समाजवादी र कांग्रेसले आलोपालो सरकार गठन गर्ने निर्णय गरिसकेको छ। नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्री पद आधा–आधा कार्यकाल चलाउने सहमति गरेको हो।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रवक्ता प्रभात तामाङका अनुसार बिहीबार बिहान हेटौंडामा बसेको केन्द्रीय सत्तारुढ गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको हो।

आज बसिरहेको प्रदेशसभा बैठकमा वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने सहमति समेत भएको छ।

पहिला समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन्। १४ महिनाको बाँकी कार्यकालमा पाण्डेले सात महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको प्रवक्ता तामाङले जानकारी दिए।

अर्को बैठकमा फैसला

वाग्मती प्रदेशसभाको आजको बैठक विश्वासको मतमाथि छलफल गर्दै सकिएको छ। अर्को बैठक कार्त्तिक १० गते दिउँसो १ बजेका लागि बोलाइएको छ। सोही बैठकमा विश्वासको मतबारे निर्णय हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell