काठमाडौँः नेकपा (एमाले) को १०औँ महाधिवेशन चितवनमा हुने भएको छ। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो। यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका थिए।
१०औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ। कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ प्रदेशबाट १/१ जना प्रतिनिधिहरु राख्ने निर्णय गरेको छ।
बैठकले हालैको विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।
एमालेले हालैको बाढी, पहिरो, हिमपात र डुबानलगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेको छ। बैठकले घाइतको स्वास्थ्यलाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसँग माग गरिएको प्रवक्ता ज्ञवालीले बताए।
विपत्तिमा परेकाहरुलाई राहत र उद्धारको कार्यमा जुट्न पार्टीको सिंगो पक्तिलाई बैठकले आह्वान समेत गरेको छ।
