काठमाडौः नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नु पर्ने भएको छ।
गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन्। मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए। होच्याएर, हेपेर आफू भन्दा तल्लो तहका कर्मचारीलाई तँ वा अन्य हेपाहा शब्द नबोल्न भनिएको हो।
नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए।
‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन। ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन्। अब सम्मानसहितको सेवा सञ्चालन गर्नु पर्ने निर्देशन गृहमन्त्री खाणले दिए।
सङ्गठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो सङ्गठनभित्र एकले अर्कालाई सम्मान गर्नु पर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो। अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्ने छैनन्।
गृहमन्त्रीले निर्देशन त दिए तर कार्यान्वयनमा आउँला त ?
