बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागू औषध मुद्दामा अहिले मुम्बईको आर्थर रोड जेलमा छन्। आर्यनको मुद्दामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले लगातार सोधपुछ र अनुसन्धान गरिरहेको छ।
यस ड्रग्स केसमा अभिनेत्री अनन्या पाण्डेको नाम समेत जोडिएको छ। चंकी पाण्डेकी छोरी अनन्या र आर्यनबिच भएको ह्वाट्सएप च्याट एनसीबीले भेटाएको थियो। उक्त कुराकानी ड्रग्ससँग सम्बन्धित रहेको एमसीबीको दाबी छ। एनसीबीले बिहीवार अनन्याको घरमा छापा मारेर उनको ल्यापटप र मोबाइल जफत गरेको थियो।
अनन्यालाई बिहीवार नै एनसीबीले कार्यालय बोलाएर दुई घण्टा सोधपुछ समेत गरेको थियो। अनन्या आफ्ना बुवासँग एनसीबी कार्यालय पुगेकी थिइन्। आर्यनको केसमा अन्नयासँग सोधपुछ आज पनि जारी छ।
२० अक्टोबरमा अदालतले आर्यनलाई जमानत दिन अस्विकार गरेको थियो। अदालतले जमानत दिन नमानेपछि बिहीवार नै शाहरुख खान छोरालाई भेट्न जेल पुगेका थिए।
अनन्याको घर पुग्नु अघि एनसीबी शाहरुखको घर 'मन्नत' पनि पुगेको थियो। एनसीबीले मन्नतमा छापा नमारेको र केही काम विशेषले गएको जनाएको छ। आर्यनसहित अन्य आरोपीहरुलाई ३० अक्टोबर सम्म न्यायिक हिरासतमा बस्न पाउनेछन्।
अक्टोबर ३ मा मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक पार्टीमा छापा मारेर आर्यनसहित अन्य सात जनालाई एनसीबीले पक्राउ गरेको थियो। छापाबाट एनसीबीले १३ ग्राम कोकेन, २१ ग्राम चरेस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो।