हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा बसाइँसराई गरी आउनेको संख्या बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ। भूमि आयोगले जग्गा विहिनलाई भूमिहीनको नामबाट र लामो समयदेखि जोतभोग गर्दै आएकलाई अव्यवस्थित बसोबासीका नामबाट पुर्जा वितरण गर्ने तयारी गरेसँगै बसाइसराई गरि आउने संख्या बढ्दो देखिएको हो।
यता, शहरमा विभिन्न खालको सुविधा सहजै प्राप्त हुने भएकाले नगर क्षेत्रमा बसाइँसरी आउनेको संख्या बढेको हेटौंडा उपमहानगरपालिकाको कार्यालयको तथ्यांकमा उल्लेख छ।
गत वर्ष २०७७ सालको तथ्याङलाई हेर्ने हो भने बसाइँसरी जानेको संख्याभन्दा बसाइँसरी आउनेको संख्या बढी रहेको छ। हेटौंडा उपमहानगरपालिका भित्र बसाइँ सरी आउने १ हजार ८४२ रहेको छ जसमा परिवारको सदस्य संख्या ६ हजार २४२ रहेको तथ्याङले देखाएको छ। त्यस्तै बसाइँसरी जानेको संख्या भने ८०४ रहेको छ भने परिवार सदस्य संख्या २ हजार ६०८ जना रहेको छ ।
वडा न ११ मा बढ्दो जनघनत्व
हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाहरु मध्ये सबैभन्दा बढी वडा नम्बर ११ मा बसाइँसरी आउनेको संख्या बढी देखिएको छ। २८३ दर्ता संख्यामा १ हजार ६१ जना परिवारको सदस्य संख्या बसाइँसरी आएका छन्। भूमिहीन र अव्यवस्थित बसोबासी, पुस्तौंदेखि बसे पनि लालपुर्जा नहुने थुप्रै, सुकुम्बासी पहिचानको साटो भूमि आयोगको ध्यान निवेदन संकलन गरे पश्चात वडा न ११ मा बसाइसरी आउनेको संख्या बढी देखिएको हेटौंडा उपमहानगरपालिका कार्यालयका सुचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिए। हेटौंडाको सबैभन्दा बढी सुकुम्बासी हेटौंडा ११ मै रहेको उनको भनाई छ।
वडा ४ मा घट्दो
हेटौंडा उपमहानगरपालिका वडा ४ मा भने बसाइँसरी जानेको संख्या सबैभन्दा बढी देखिएको छ। ७४ वटा दर्ता संख्यामा २१४ जना परिवारको संख्याले हेटौंडा छाडेका छन्। सुचना अधिकारी थपलियाले शहर क्षेत्रमा धेरै घर निर्माणसँगै त्यहाँका मानिसले सेवा सुविधा खाज्ने गरेको र पलायन हुने गरेको बताए।
