विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले भर्खरै वर्षा र बाढीपहिरोका कारण प्रदेशभर ७० जनाले ज्यान गुमाएको जानकारी दिएका छन्। प्रदेश सभामा शुक्रबार विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मुख्यमन्त्री आचार्यले ७० जनाले ज्यान गुमाएको जनाएका हुन्।
आचार्यले सबैभन्दा बढी पाँचथरमा २८ र त्यसपछि इलाममा १४ ले ज्यान गुमाउनु परेको बताए। त्यस्तै सुनसरीमा ११, धनकुटामा ७, मोरङमा ६, उदयपुरमा २ तथा सोलुखुम्बु र उदयपुरमा १-१ जनाको निधन भएको उनले जानकारी दिए।।
बाढी पहिरोका कारण प्रदेशभरमा १२ जना बेपत्ता र १८ जना घाइते छन्। उनले प्रदेशभर १ हजार ८२५ घर आंशिक र ४० घर पूर्ण क्षति भएको बताए।
आचार्यका अनुसार प्रदेशभरिमा १० हजार हेक्टर धानबालीमा क्षति पुगेको छ। यो प्रदेशको कुल धानबालीको ८ प्रतिशत हो। क्षति भएको धानबालीबाट ५० प्रतिशत फसल किसानले लिन सक्नेछन्
उनले धानबालीमा क्षति पुगेका किसानलाई क्षतिको २५ प्रतिशत राहत दिने सरकारको निणर्य रहेको बताए। त्यस्तै, पशुपन्छीको क्षतिको विवरण हालसम्म प्राप्त नभएको उल्लेख गर्दै आचार्यले उनीहरुलाई पनि राहत प्रदान गरिने उल्लेख गरे।
आचार्यले विश्वासको मतका प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ७ गते आइतबार मध्याह्न १२:३० सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्। आइतवार प्रस्तावमाथि मतदान हुने बताइएको छ।