PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

१३ वर्षपछि पूरा भयो नेपाली मूलका इटालियन खेलाडी विकासको नेपाल फर्किने सपना, ए डिभिजन लिगमा च्यासलबाट खेल्ने



मुकुन्द घिमिरे

१३ वर्षपछि पूरा भयो नेपाली मूलका इटालियन खेलाडी विकासको नेपाल फर्किने सपना, ए डिभिजन लिगमा च्यासलबाट खेल्ने

काठमाडौं : मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा नेपाली मूलका इटालियन खेलाडी विकास मेराग्लियालाई 'स्वतन्त्र' भएको महसुस भयो। शहीद स्मारक ए डिभिजन लिग खेल्न नेपाल आइपुगेका उनलाई च्यासल युथ क्लबले विदेशी खेलाडीको कोटामा सार्वजनिक गर्दा विकासले नेपाल अवतरणबारे आफ्नो अनुभव सुनाउँदै थिए। नेपालीमा 'नमस्ते' र 'धन्यवाद' मात्र शब्द प्रयोग गरेका उनलाई नेपाली संवादका लागि दोभासेको आवश्यकता पर्छ।

'नेपाल आउन पाएकोमा म खुशी छु। १३ वर्षदेखिको नेपाल आउने सपना पुरा भएको छ। इटली भन्दा यहाँ गर्मी लागिरहेको छ,' उनले भने, 'इटलीको 'कल्चर', 'फुड' मलाई मन पर्छ। तर नेपालमा पनि केही गर्नु पर्छ भन्ने थियो। म नेपाल कसरी जान्छु होला भनेर सोचिरहेको हुन्थेँ।'

इटलीमा रहेर व्यवसायिक फुटबल खेलिरहेका उनले इटलीको यू १६ बाट समेत खेलिसकेका छन्। त्यस्तै युरोपेली फुटबलको प्रतिस्थित क्लब एटलान्टा र भेनेजियाको युवा टिमबाट पनि खेलिसकेका छन्। काटोलिका र मारिग्लयानेसको सिनियर टिमबाट पनि उनले खेलिसकेका छन्।

उनलाई भित्र्याउन दुई वर्ष यता च्यासलले प्रयास गरेको क्लबका अध्यक्ष रमेश ब्यन्जनकारले बताए। यद्यपि, उमेरलगायतका प्रक्रियाहरुका कारण सम्भव नभएको उनले बताए।

सन् २००८ मा ६ वर्षको उमेरमा विकास नेपालबाट इटली पुगेका थिए। इटलीमा रहँदा लामो समय नेपाली फुटबलबारे 'कुनै लिंक नपाएका कारण फलो नगरेको' विकासले बताए।

'पहिला फुटबल हेर्ने कुनै लिंक थिएन। अहिले हेर्दा नेपालको लेभल मनपरेको छ' उनले भने। नेपाली टोलीमा अवसर पाए खेल्ने या नखेल्ने भन्नेबारे आफूले नसोचेको बताए।

'म यो अवसर पाए खुशी हुनेछु,' उनले भने, 'तर अहिले मैले केही सोचेको छैन। यहाँको वातावरण हेरेर पछि तय गर्नेछु।'

उनी नेपाल आउनुको पछि फुटबल मात्र हो या अरु कुराहरु पनि छन् भन्ने प्रश्नमा विकासले केही 'पर्सनल मोटिभ' पनि भएको र त्यो पछिमात्र खुलासा गर्ने बताए।

नेपाल आएर उनले टिमसँग अभ्यास पनि गरिसकेका छन्। 'टिमको स्तर ठीकै लागेको छ। टिमसँग बिहान अभ्यास गरेको थिएँ। टिम स्पिरिट राम्रो छ' उनले भने। टिममा उनले १० नम्बरको जर्सीमा उत्रने छन्।

ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ। लिगका लागि क्लबहरु धमाधम खेलाडी अनुबन्धनमा जुटेका छन्।

च्यासलका अध्यक्ष ब्यन्जनकारले यसपटक क्लबले २ करोडको बजेटमा तयारी गरिरहेको दाबि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell